Comments Add Comment

पढ्न पाउने अधिकार माग्दै ५ लाख विद्यार्थीले चक्रपथ घेर्ने

Press-meet-of-Pabson-Final

९ मंसिर, काठमाडौं । भारतीय नाकाबन्दी र तराई मधेसमा जारी आन्दोलनले पढ्न पाउने अधिकार कुण्ठित भएको विरोधमा विद्यार्थीहरुले चक्रपथ घेराउ गर्ने भएका छन् ।

‘बाँच्न र पढ्न देऊ’ भन्ने मूल ब्यानरमा शुक्रबार विहान ११ बजे चक्रपथमा शान्तिपूर्ण प्रदर्शन गर्न लागिएको हो । २७ किलोमिटर लामो चक्रपथ कम्तिमा पाँच लाख विद्यार्थीहरुले घेराउ गर्ने एन प्याब्सनका केन्द्रीय अध्यक्ष कर्ण शाहीले दाबी गरे ।

‘विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिए पनि लाखौं बालबालिका पढ्न पाउने अधिकारबाट बञ्चित भएका छन्,’ एन प्याब्सनका केन्द्रीय अध्यक्ष शाहीले भने, ‘यसलाई अन्तराष्ट्रियकरण गर्ने र सम्वन्धित पक्षको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।’

राष्ट्रिय झण्डा, प्लेकार्ड र ब्यानरसहित सहभागी विद्यार्थीहरुले कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगञ्ज, चक्रपथ, बालाजु, स्वयम्भू हुँदै पुनः कलंकीसम्म मानव साङ्लो बनाएर मौन प्रदर्शन गर्नेछन् ।

चक्रपथ घेराउ कार्यक्रम कुनै राजनीतिक दलको समर्थन वा विरोधमा नहुने उनले स्पष्ट पारे । ‘शान्तिपूर्ण कार्यक्रम हो, नाराबाजी हुँदैन र कार्यक्रममा सहभागी हुनैपर्छ भनेर कसैलाई कर पनि गरेका छैनौं,’ शाहीले भने ।

मानव साङ्लो प्रदर्शनमा कक्षा ८ भन्दा माथिका विद्यार्थीहरु मात्रै सहभागी हुने बताइएको छ । शाहीका अनुसार चक्रपथ बाहेक टुँडिखेल र रत्नपार्क क्षेत्रमा समेत प्रदर्शन गर्ने योजना बनाइएको छ ।

प्याब्सन, एनप्याब्सन, शिक्षक महासंघ, विद्यार्थी संघ संगठनहरु, अभिभावक संघ नेपाल, राष्ट्रिय अभिभावक संघ, एन. इष्टू र हिसान लगायत अपिन संबद्ध संस्थाहरुले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment