९ मंसिर काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले जुलुससहित सिंहदरवार पुगेर प्रधानमन्त्री केेपी शर्मा ओली ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।
बबरमहलबाट सुरु भएको जुलुसको माओवादी अध्यक्ष बैद्य आफैंले नेतृत्व गरेका थिए । दक्षिण गेटमा पुगेपछि जुलुस रोकियो भने बैद्यसहितका नेताहरु प्रधानमन्त्री कार्यालय पुगे ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष बैद्यले प्रधानमन्त्री ओलीलाई ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा तराई मधेसमा लामो समयदेखि आन्दोलन भइरुहेको र त्यसलाई नै बाहाना बनाएर भारतले नाकाबन्दी गरेको भन्दै मुलुकुको राष्ट्रिय अस्मिता नै संकटमा परेको उल्लेख छ ।
बैद्य माओवादीले तराई मधेसमा आन्दोलनरत दलहरुको जायज माग पुरा गर्न सरकारसँग माग गरेको छ ।
भारतले नेपालको अन्तरिक मामिलामा हस्तक्षेप गर्दै नाकाबन्दी गरेको र यो राष्ट्रसंघ बडापत्र, भूपरिवेष्ठित देशको त्रिकार लगायतविरुद्ध भएको उसले बताएको छ । ज्ञापन पत्रमा भनिएको छ- ‘यस विषयलाई संयुक्त राष्ट्रसंघ लगायतका अन्तराष्ट्रिय मञ्चमा आवाज उठाइयोस् ।’
बैद्य माओवादीले नेपाल भारतबीचको १९५० को सन्धि, गोर्खा भर्ती केन्द्र, व्यापार-पारवहन लगायतका असमान सन्धि सम्झौताहरु खारेजीको घोषणा गर्न समेत माग गरेको छ ।
उसले तेल, ग्यास र औषधिलगायतका वस्तुहरु आपूर्ति गर्न, कलोबजारी तथा भ्रष्टाचारीलाई कारवाही गर्न र आत्मनिर्भरताका लागि काम सुरु गर्न सरकारसँग मागसमेत गरेको छ ।