Comments Add Comment

कति सहज छ चीनबाट तेल ल्याउन ?

China-petrol
१० मंसिर, काठमाडौं । चीनबाट इन्धन ल्याउनका लागि सरकारले जतिसक्दो चाँडो सीमा नाकाको पूर्वाधारलाई व्यवस्थित बनाउनुपर्ने देखिएको छ । नाकामा कमजोर पूर्वाधार हुँदा इन्धन भित्र्याउन केही असहज हुने नयाँ पत्रिकामा खबर छ ।

नाकामा कमजोर पूर्वाधार

नेपाल–चीनबीचको व्यापारका लागि ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, गोरखाको लार्के, मुस्ताङको कोरल्ला, मुगुको हिल्सा र हुम्लाको यारी नाका छन् । ती नाकामा नेपालले छोटी भन्सार कार्यालय स्थापना गरेको छ । तर, पूर्वाधार विकास हुन सकेको छैन । हाल तातोपानी र रसुवागढी नाका मात्रै सञ्चालनमा छन् । रसुवागढीबाट १२ हजार लिटर क्षमताका ट्यांकरले तेल पनि ओसारेका छन् ।

तातोपानी नाका सजिलो

चीनसँग व्यापार गर्न नेपाललाई तातोपानी–खासा सजिलो र छोटो परे पनि भूकम्पपछि अवरुद्ध छ । नेपालले तिब्बतको सिगात्सेबाट इन्धन ओसार्न सक्ने प्रारम्भिक अनुमानका आधारमा तातोपानी नाका नै सजिलो हुन्छ । सिगात्सेमा चाइना नेसनल पेट्रोलियम कर्पोरेसन (सिएनपिसी)को ५० हजार किलोलिटर क्षमताको भण्डारणगृह छ । काठमाडौं–तातोपानी–सिगात्से पाँच सय ९८ किलोमिटर छ । तातोपानी सडक दुई लेनको छ । काठमाडौं–तातोपानी सडकको काठमाडौं–दोलालघाट खण्ड राम्रो अवस्थामा छ । गत वर्ष सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो र भूकम्पले लामोसाँगु–बाह्रबिसे खण्ड क्षतिग्रस्त बनाएको थियो ।

सिगात्से–रसुवागढी अप्ठ्यारो

सिगात्से–रसुवागढी–काठमाडौंको दूरी सात सय दश किलोमिटर छ । सरकारले यो बाटोलाई अझै सहज र छोटो गराउन आपत्कालीन परियोजनाका रूपमा रसुवागढीसम्म पुग्न बेत्रावती–मैलुङ–हाकुबेसी–स्याफ्रुबेसी वैकल्पिक सडक निर्माण गर्ने योजना अगाडि सारेको छ । यो सडकको केही स्थानमा ठूला पहिरो र भीर रहेकाले सडक खन्न चुनौतीपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment