Comments Add Comment

चीनकाजीको गल्तीले संसदमा हंगामा !

Samsad

१० मंसिर, काठमाडौं । विहीबार व्यवस्थापिका संसदको बैठक बहिस्कार गर्ने कि होहल्ला गरेर बोल्न समय माग्ने भन्नेमा कांग्रेस सांसदहरु नै विभाजित भएको खुलेको छ । यसको कारण भने प्रमुख सचेतक चीनकाजी श्रेष्ठ बने ।

संसद बैठक बस्नुअघि सभामुख ओनसरी घर्ती मगरले प्रमुख सचेतकहरुसँग परामर्श गरेकी थिइन् । त्यस क्रममा संघीय समाजवादी फोरमका प्रमुख सचेतक शिवजी यादवले ‘आज हाम्रा अध्यक्ष उपेन्द्र यादवले बोल्न चाहानुभएको छ’ भन्दै पहिले समय चाहियो भने ।

यादवको प्रस्तावमा हुन्छ भन्दै कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ समर्थन जनाएर बाहिर निस्किए । एमालेका कार्यवाहक प्रमुख सचेतक गोकुल घर्तीले उपेन्द्रले बोलेपछि संसद अवरुद्ध गर्न नपाइने र सबैले बोल्न पाउनुपर्ने माग गरे ।

शिवजी यादव पनि त्यसपछि मेरो कुरा यही हो भन्दै बाहिरिएको बैठकका सहभागीले बताए । यसैबीचमा कानुनमन्त्री अग्नि खरेल सभामुखको च्याम्बरमा प्रवेश गरेपछि मन्त्री र सभामुखबीच अलग्गै छलफल भयो ।

छलफल सकिएपछि सभामुखले बैठकको जनाउ घण्टी बजाउन निर्देशन दिइन् । चीनकाजी श्रेष्ठले कांग्रेस नेताहरुसँग कार्यव्यवस्था समितिमा भएको कुराकानी जानकारी गराएका रहेनछन् ।

Samsad-Abarodh

जब बैठक शुरु भयो, कांग्रेस र अन्य विपक्षका सांसदहरुले उठेर बोल्ने समय मागे । प्रमुख सचेतकहरुसँगको छलफल बमोजिम सभामुखले फोरम अध्यक्ष उपेन्द्र यादवलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुमा खैलाबैला मच्चियो ।

प्रमुख प्रतिपक्षले पहिले बोल्न पाउनुपर्ने भन्दै कांग्रेस सांसदहरु उठेर होहल्ला गरे । सुरुमै कांग्रेसका बिमलेन्द्र निधीले बोल्ने तयारी गरेका रहेछन् । त्यसैले संसदमा रामहरि खतिवडालगायत देउवा पक्षधर सांसदहरु कडा रुपमा प्रस्तुत भए ।

उनीहरुले चीनकाजीलाई पनि यसबारे सोधे । डा.मिनेन्द्र रिजालले संसद बहिस्कार गरेर हिडौं भन्दै केही सांसदलाई भनेे पनि बहिस्कार गर्न हुँदैन भन्नेहरु धेरै भए ।

प्रकाशमान सिंह, कृष्ण सिटौला लगायतका नेताहरु चुप लागेर बसिकेका थिए । रामहरि र धनराज गुरुङ लगायतका सांसदहरु उग्ररुपमा प्रस्तुत भएपछि नेताहरुले रोक्न सकेनन् र कांग्रेसका सबै सांसदहरु उभिए ।

कांग्रेस सांसदहरुले प्रमुख सचेतक चीनकाजी श्रेष्ठले पदीय भूमिका राम्रोसँग निर्वाह गर्न नसकेको भन्दै आक्रोशसमेत पोखेका थिए । श्रेष्ठले भने आफूले उपेन्द्र यादवलाई पहिले बोल्न दिने कुरामा सहमति नजनाएको दाबी गरेका छन् ।

एमाले प्रमुख सचेतक गोकुल घर्ती मगरले सभामुखको च्याम्बरमा शिवजी यादवले प्रस्ताव गरे अनुसार उपेन्द्र यादवलाई बोल्न दिने कुरामा चीनकाजीले समर्थन जनाएको बताए । ‘बरु मैले उहाँले बोलेर अवरुद्ध गर्ने हो भने हामी मान्दैनौं भनेको हुँ’ घर्तीले भने ।

यसैबीच सभामुख ओनसरी घर्तीले आफूले कार्यविधि र नियमअनुसार नै बैठकको कारवाही अघि बढाएको बताएकी छन् । कांग्रेसले लोकतान्त्रिक र संसदीय पद्दति विपरीत काम गरेको भनी लगाएको आरोप उनले अस्वीकार गरिन् ।

सभामुख घर्तीले पत्रकारहरुसँग भनिन्- कांग्रेका प्रमुख सचेतक चीनकाजी श्रेष्ठको समेत सहमतिमा उपेन्द्र यादवलाई बोल्न दिने तय भएको हो, मैले बैठक मंसिर १५ गतेसम्म पर सार्ने निर्णय पनि कांग्रेससँगकै सहमति अनुसार नै गरेकी हुँ ।’

दलहरुबीचको विवाद संसदको नियमावली समिति गठनमा समेत प्रकट भएको छ । विहीबार नियमावली समिति गठनका लागि भएको बैठकमा सत्ता पक्ष र प्रतिपक्षबीच विवाद भएपछि १५ गतेसम्मलाई बैठक स्थगित गएको छ । व्यवस्थापिका संसदको अर्को बैठक पनि १५ गते बस्ने गरी स्थगन भएको छ ।

नयाँ संविधान अनुसार संसदको नियमावली बनाउन समिति गठनका लागि छलफल भइरहेको छ । कांग्रेसले समितिको संयोजकमा राधेश्याम अधिकारीलाई प्रस्ताव गरेको छ भने सत्ता पक्षले एमाओवादीका रामनारायण बिडारीको नाम प्रस्ताव गरेको छ ।

अब पनि सहमति नभएमा मतदानबाट संयोजक टुंगो लगाउने एमालेका प्रमुख सचेतक गोकुल घर्तीले बताए । सत्तापक्ष र प्रतिपक्षको विवादकै कारण भूकम्पपछिको पुननिर्माण प्राधिकरण बिधेयक पनि अलपत्र परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment