Comments Add Comment

नयाँ शक्ति : ‘म’बाट सुरु गर्नुपर्ने अर्को आन्दोलन

अनील शाह
मैले स्वदेश वा विदेशमा भेटेका जति पनि नेपालीहरु छन्, उनीहरु सबै नेपाली हुनुमा गर्व गरेको पाएको छु । हो हामी प्रत्येकसँग हाम्रो मुलुकमा सही ढंगबाट काम हुन नसकेका लामा लामा लिस्ठहरु हुन सक्छन्, अझ त्योभन्दा पनि लामो लिस्ट क-कसको कमजोरीका कारण यस्तो भएको हो भन्ने पनि हुन सक्छ । तर, हाम्रो मातृभूमि-हाम्रो नेपालप्रति सबैले गर्व नै गर्छन् ।

anil shahहाम्रो मुलुकमा भए गरिएका नराम्रा कामका लिस्टहरुमा मैले पाएको तथ्य के हो भने आफूले लिने जिम्मेवारीको सम्बन्धमा कसैले पनि उल्लेख गरेको देखिँदैन । त्यस्तै हाम्रो मुलुकमा देखिएको अवस्थाको लागि को दोषी हो भन्ने सम्बन्धमा पनि ती लिस्टमा स्पष्टसँग उल्लेख भएको भेटिँदैन । यसले मलाई सोच्न बाध्य बनायो-के आफ्नो मुलुकमा देखिएको कमी कमजोरीका लागि मैले पनि जिम्मेवारी लिन पर्छ कि पर्दैन ? के मुलुकमा आज देखिएको परिस्थितिप्रति कत्ति पनि जिम्मेवार छैन ?

निराशाको बिन्दुमा यिनै विषयहरुमा घोत्लिँदा समाधानतर्फ सोच्दा मलाई एकपटक यसको अर्को पक्षबाट विचार गर्नुपर्ने जस्तो लाग्यो । मैले काठमाडौंलाई फोहोर र प्रदुषित ठानें भने यसलाई सफा र प्रदुषणरहित बनाउन सानै भए पनि मैले के प्रयाश गरेको छु त ? यदि मैले भ्रष्टाचार हाम्रो समाजको क्यान्सर हो भन्नेमा विश्वास गरें भने के मैले मेरो नियमबमोजिम काम गरिदिनुपर्ने काम छिटो गरिदिएबापत सो काम गरिदिनेलाई चिया खर्च दिन छोडिदिएँ त ? मलाई हाम्रो मुलुक हाम्रो कुनै एउटा छिमेकीसँग मात्रै निर्भर रहनुहुँंदैन भन्ने ठाने भने यसभन्दा अघि नै सामना गरिसकेको अहिलेको जस्तो परिस्थितिबाट मैले यो परनिर्भरताको जोखिम कम गर्न के शिक्षा लिएँ र के गरेँ त ?

हाम्रो नेतृत्वमा शून्यता छ भन्ने मानियो भने पनि मैले हाम्रो नेतृत्व क्षमता बढाउन पर्नेतर्फ वा हामीले अरु राम्रा नेतृत्व निर्माण गर्न के योगदान गरेँ त । यस्तै प्रश्नहरुमा घोत्लिँदै गर्दा म एकाएक रोकिएँ, एक कदमपछि फर्किएँ र लामो सास लिँदै एक क्षण सोचेँ म नेपाली भएर हाम्रो नेपालका लागि के गरेँ त ?

हामी सबै आफ्ना अधिकारका लागि सजग छौं-परिवार, संस्था, समाज तथा राष्ट्रमा हाम्रो अधिकार । हाम्रा अधिकारहरु के के हुन् र तिनको उपयोग गर्ने हकका बारेमा हामीलाई थाहा छ । साथसाथै हामीले हाम्रो अधिकार र त्यसको प्रत्याभूतिका लािग संघर्षसमेत गर्‍यौँ । तर, हामीले हाम्रो परिवार, संस्था, समाज तथा मुलुकका लागि आफ्नो उत्तरदायित्व/कर्तब्यका बारेमा कहिल्यै ध्यान दियौं त ? अधिकार र उत्तरदायित्व/कर्तब्य एउटै सिक्काका दुई पाटा हुन् । अधिकारलाई मात्र लिएर उत्तरदायित्वबाट छुटकारा पाउन सकिँदैन भन्ने तथ्यलाई हामीले गम्भिरतापूर्वक विचारै गर्न सकेनौं ।

वास्तवमा हामीले हाम्रो अधिकार र त्यो अधिकारका लागि दाबी गर्न पनि आफ्नो उत्तरदायित्व/कर्तब्य पूरा गरेको हुनुपर्छ भन्ने सर्वस्वीकृत मान्यतालाई अंगीकार गरेका छौं त ? त्यसैले अधिकार र उत्तरदात्यिव/कर्तव्यका वीच सन्तुलन भएको बुझ्न अत्यावश्यक छ र त्यो बुझाइ ‘म’बाट शुरु हुनुपर्छ ।

संसारमा त्यस्ता धेरै मुलुकहरु छन्, जहाँको थोरै प्रतिशतमात्र जनसंख्या धैरै धनी छ । तर, त्यस्ता मुलुकहरु अविकसित वा कम विकसित मुलुकमा गनिन्छन् । नेपाललाई सम्बृद्ध बनाउन त्यसैकारण आर्थिक परिवर्तन ल्याउनैपर्ने अवस्था छ

यो धर्तीमा आफुलाई नेपाली भन्ने लगभग ३ करोड मानिसहरु छन् । यो हाम्रो घर नेपाल तिलस्मी हिमश्रंखलाहरु, सुन्दर उपत्यकाहरु, नदीहरु र अत्यन्त्र उर्वर समथर भूभागमा अवस्थित छ ।

हो, निश्चय पनि यस घर भित्र आफ्नै समस्याहरु हुन्छन् र छन् । साथै चुनौतिहरु पनि छन् । एउटा समाज र राष्ट्रको रुपमा र समाज र राष्ट्रमा देखिएका सामाजिक, आर्थिक, शैक्षिक तथा वातावरणीय लयागतका विविध पक्षहरुका चुनौतीहरुको बहुआयामिक समाधानहरुका बारेमा पनि हामीले देखेका पढेका र सुनेका छौं ।

तर, अहिले हामी प्रत्येकले व्यक्तिगत रुपमा स्वीकार गर्नुपर्ने पक्ष भनेको अब हामी आफूले देख्न चाहेको परिवर्तनको कार्यान्वयनका लागि हामी स्वयं नै अग्रसर नभई हुँदैन ।

एउटा राष्ट्रका रुपमा नेपाल एउटा सीमाभित्र समेटिएको ढुंगा माटोको थुप्रो भने होइन, यो नेपाली जनता जस्तै नेपाल सम्बृद्ध या गरीव हुन सक्छ । त्यसैले कठीन कार्यले मात्रै नेपाललाई दीर्घकालीन रुपमा सम्बृद्ध बनाई नेपाली नागरिकलाई ब्यक्तिगतरुपमा सम्पन्न बनाउन सक्छ । संस्ाारमा त्यस्ता धेरै मुलुकहरु छन्, जहाँको थोरै प्रतिशतमात्र जनसंख्या धैरै धनी छ । तर, त्यस्ता मुलुकहरु अविकसित वा कम विकसित मुलुकमा गनिन्छन् । नेपाललाई सम्बृद्ध बनाउन त्यसैकारण आर्थिक परिवर्तन ल्याउनैपर्ने अवस्था छ । जहाँ आर्थिक समावेशिता पनि होस् र आर्थिक रुपमा पिछडिएका वर्गहरुको उत्थान पनि गर्न सकियोस् ।

यसो गर्दा हामीले सम्झनै पर्ने तथ्य के पनि छ भने संसारमा कुनै पनि मुलुक धनीलाई गरीब बनाएर सम्बृद्ध भएको छैन । त्यसैले एउटा सम्बृद्ध मुलुक बन्नका लागि गरीबलाई धनी बनाउनुपर्छ एकपटकमा एउटा व्यक्ति, एउटा ‘म’ ।

हामीले पर्याप्त रुपमा विचारै नगरी, मैले के गरें भन्नेतर्फ सोच्दै नसोची अरुलाई हाम्रो समस्याका लागि दोषी मान्दै आइरहेका छौं । हामी समाधानको पक्ष हुन सक्छौं कि भन्नेतर्फ विश्लेषण नै नगरी समस्याको आलोचना गरिरहेका छौं । अब यस्तो चक्रब्यूहबाट बाहिर निस्केर हामीले गर्न सक्ने उपायहरुलाई ‘म’बाट शुरु गर्नु पर्ने समय आएको छ र हामी सबैले सर्वप्रथम आफैंभित्र नियाल्दै हाम्रो मूख्य क्षमता केमा छ, त्यो क्षमतालाई कसरी उपयोग गर्न सकिन्छ र त्यस्तो उपयोगबाट के उत्तम कार्य गर्न सकिन्छ भनी सोच्ने र निर्णय गर्नुपर्ने छ ।

हरेक नेपालीको आफ्नो एउटा छुट्टै विशिष्ट शीप र क्षमता छ, जसले उसलाई आफ्नो जीवनको प्रगतितर्फ डोर्‍याउन मद्दत गरेको हुन्छ । हामी जुनसुकै मार्गमा हिँडे पनि यिनै क्षमताको पहिचान र कार्यान्वयन गर्दै हामीले आफ्नो जीवन बाँच्नुपर्छ, चाहे हामी विद्यार्थी हौं या डाक्टर, इन्जिनियर, राजनीतिकर्मी, नोकरशाह, व्यवसायी, बैंकर, वैज्ञानिक, विकासको क्षेत्रमा खटिने कार्यकर्ता नै किन नहोऔं, हामीले आफ्नो क्षेत्रमा गर्न सक्ने कार्यका लागि अत्यधिक प्रयत्न गर्नैपर्छ ।

हामीले पर्याप्त रुपमा विचारै नगरी, मैले के गरें भन्नेतर्फ सोच्दै नसोची अरुलाई हाम्रो समस्याका लागि दोषी मान्दै आइरहेका छौं

यस्तो कुरा गर्दा बढी नै सरलीकरण गरेको जस्तो देखिएला, तर नेपाललाई अहिलेको परिस्थितिबाट बाहिर निकाल्न हरेक नेपालीले आ-आफ्नो क्षेत्रबाट आफुले भ्याएसम्मको उत्कृष्ट कार्य गर्नैपर्छ । हामीले अहिले ‘म’ बाट यस कार्यको प्रारम्भ गर्नैपर्छ । यसमा कुनै छोटो र सरल बाटो देखिँदैन ।

विगतको दुई दशकमा हामीले राष्ट्रियस्तरमा भोगेको राजनैतिक, सामाजिक धार्मिक परिवर्तनहरुलाई मजबुत बनाउन सबैभन्दा पहिले हामीले ‘म’ मा परिवर्तन ल्याउनु जरुरी छ ।

हामी सवैले नेपाली हुनुमा गर्व गर्छौं भने हामीले आफूभित्र नियालेर हेर्न र देखाउन सक्नुपर्छ कि मैले मेरो मातृभूमि नेपाललाई के योगदान गर्न सक्छु । यो मेरो सन्दर्भमा, मेरी आमा विन्देश्वरी शाह, जो स्नातक र स्नातकोत्तर तहको अध्ययन गर्नका लागि विश्वब्यापी निबन्ध प्रतियोगिता जितेर पूर्ण छाात्रवृत्तिमा अमेरिकाको बर्नड एण्ड जोन हकिन्स जस्तो शैक्षिक संस्थामा अध्ययन गर्न जानुभयो, अध्ययन पश्चात आफ्नै मातृभूमि फर्केपछि आफूलाई नेपालको परराष्ट्र सेवामा दशकौंको सेवापछि पहिलो महिला राजदुतका रुपमा देशको सेवा गर्नुभयो त्यो पनि भारतका लागि राजदूतका रुपमा । निसन्देह मेरी आमाप्रति मलाई असीम गर्व छ । र, म उहाँको छोरा हुन पाउनु मेरो सौभाग्य हो ।

यस्तो महिलाको छोरा भएर मैले उहाँले ममाथि गर्व गर्न लायकको काम के गर्न सकें भन्ने प्रश्न मेरो मनमा उठिरहन्छ । मलाई लाग्छ, यस्तै प्रश्नहरु हरेक नेपालीले हाम्रो साझा मातृभूमि नेपालको सन्दर्भमा आफैँमाथि गर्नुपर्छ-यो देश भगवान बुद्धको जन्मभूमि, भगवान पशुपतिनाथको घर, जहाँ संसारकै सवैभन्दा अग्ला हिमचुचुराहरु छन्, जसको सौन्दर्यको विविधता संसारमा विरलै भेटिन्छ, जहाँ प्राकृतिक जडिबुटीको खानी नै छ, हामीले यस मुलुकमा गर्व गर्न सक्ने कार्य के गर्न सक्यौं त ?

हामीले राष्ट्रियस्तरमा भोगेको राजनैतिक, सामाजिक धार्मिक परिवर्तनहरुलाई मजबुत बनाउन सबैभन्दा पहिले हामीले ‘म’ मा परिवर्तन ल्याउनु जरुरी छ ।

हामी यस्तो सम्पन्न र सम्बृद्ध मुलुकका सन्ततीहरुले आफ्नो कर्तव्य र उत्तरदायित्व बिर्संदै आफ्नो असफलताका लागि एक आपसमा दोषारोपण गरिरहेका छौं ।

नेपालमा कुनै खराबी छैन, यदि कुनै खराबी वा कमी कमजोरी छ भने त्यो हाम्रो आफ्नै हो, र संसारकै विशिष्ट मुलुक नेपालका छोराछोरीहरुको नै हो

नयाँ नेपालको निर्माण गर्ने हाम्रो सपना र भावनाको यात्रा नयाँ संविधान जारी भएसँगै प्रारम्भ भयो भन्ने हामी सवैले ठानेका थियौं । तर, तराई क्षेत्रमा देखिएको असन्तुष्टिका कारण उत्पन्न सीमानामा देखिएको अवरोध, ६ जना उपप्रधानमन्त्री तथा मन्त्रीहरु भएको भएको भीमकाय मन्त्रिमण्डल तथा आगामी दिनको अस्पष्ट कार्यदिशा आदिले हाम्रो मुलुकको सातौं संविधानको कार्यान्वयनमा अनिश्चितता देखिन पुगेको छ ।

यिनै अनिश्चितताका कारण नयाँ संविधान अन्तर्गत हामीले राष्ट्र निर्माणका लागि प्रभावकारी ढंगबाट गर्नुपर्ने कामको आंकलन गर्न फेरि पनि सन्देह पैदा हुन्छ । यदि नयाँ शक्ति अथवा नयाँ सोचको लागि केन्दि्रत व्यक्तिहरु पनि यिनै अवस्थालाईर् विश्लेषण गर्दै कहिलेदेखि नयाँ शुरुवात गर्ने हो भनेर सोचिरहेका होलान् ।

तर, हाम्रो सोचाइ, कुनै कामका लागि अर्कोको मुख ताक्ने बानी अथवा एक कदम अगाडि बढेर समस्या समाधान गर्दै मुलुकको निर्माण गर्ने कार्यमा हामी एकपटक पुनः पुरानै ढाउँमा फर्किएका छौं । यदि हामीले हाम्रो लक्ष विगतका आन्दोलनहरुबाट भेटिएको भन्दा भिन्न होस भन्ने कामना गछौर्ंं भने हामी प्रत्येकले फरक बाटो रोज्नु पर्ने हुन्छ ।

अब हामी सवैले हाम्रो नेपाल र अरु कुनै नेपालीहरुलाई दोषी नजरले हेर्नुको सट्टा हामी आफैंलाई नियालेर हेर्नै पर्ने समय आइसकेको वास्तविकतालाई स्वीकार गर्नैपर्छ । हामीले चाहेको परिवर्तन तथा हामीले खोजेको समाधान हामीभित्रकै हरेक ‘म’ बाट आउनुपर्छ । नेपालका छोराछोरीहरुले आफ्नो क्षमता र सीपलाई जति धेरै उपयोग गर्न सक्छन्, आफुभित्रको कार्यक्षमतालाई महशुस गरी आत्मवल उच्च राख्दै कार्यशील हुन्ा सक्छन्, त्यति नै छिटो गतिमा हामी पनि आफूले सोचेको जस्तो नेपाल निर्माण गर्न सक्ने हुन्छौं ।

समुन्नत नेपाल निर्माण गर्ने अबको अर्को आन्दोलन “म” बाट शुरु हुनुपर्छ । हामी प्रत्येकले आफ्नो व्यक्तिगत जीवनको प्रगतिका लागि मात्र होइन, हाम्रो समाज र मुलुकको निर्माण गर्नको लागि विविध पक्षमा आफूलाई संलग्न भई योगदान दिनका लागि पनि समय निकाल्नुपर्छ ।

हामी व्यक्तिगतरुपमा योग्य हुन मात्र आवश्यक छैनौं, तर, हामीले हाम्रो मुलुकको नेतृत्व गर्न पठाएकाहरुको चयन, परीक्षण र सुधार गर्ने दिशामा “म” लाई सजगतापूर्वक उपयोग गर्नुपर्छ । हामी मुलुकको निर्माणमा केवल मूकदर्शक भएर मात्र बस्न सक्दैनौं, हामीले यस कार्यमा सक्रिय सहभागिता जनाउनुपर्छ । यसको शुरुवात गर्ने समय २० बर्षअघि नै पनि हुन सक्थ्यो । तर, अर्को सबैभन्दा उत्तम समय भनेको अहिले नै हो । कृपया परिवर्तनका लागि आजैदेखि ‘म’बाट शुरु गरौं ।

(शाह सामाजिक र सकारात्मक सोचका उत्प्रेरक एवं ‘म’ आन्दोलनको सहजकर्ता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment