Comments Add Comment

बल्ल ब्युँझिन थाल्यो काठमाडौं !

रामरिझन यादव
नयाँशक्तिको राष्ट्रिय भेलामा भाग लिन आएका बेला एकाबिहानै नयाँ बानेश्वरस्थित थापागाउँको एउटा पुस्तक पसलमा पत्रिका पढ्दै अधबैसें उमेरका दुईजनाले बेस्सरी मधेसीहरुलाई गाली गरिरहेका थिए । भारदहमा घटेको घटनाको समाचार छापा माध्यममा नआए पनि विद्युतीय सञ्चारमाध्यमहरुले प्रसारण गरिरहेका थिए । प्रहरीको गोलीबाट दुईजनाको ज्यान गएको थियो । सप्तरीमा तनावग्रस्त अवस्था थियो ।

RamRijhanतर, यति हुँदाहुँदै थप तिनीहरुले आफ्नो आक्रोश पोखिरहेका थिए । ‘मधेसीहरुलाई ठोक्नुपर्छ, यिनीहरु राष्ट्रघाती हुन् । यिनीहरुकै मिलोमतोमा भारतले हामीलाई दुःख कष्ट दिएको छ ।

यस्तो कुरा सुनेपछि म अक्मकिएँ । किंकर्तव्यविमूढ भएर पत्रिकातिर ध्यान केन्द्रित गरी उनीहरुको कुरा सुन्नेतिर लागें ।

वास्तवमा मेरो अनुहार हेरेर नै तिनीहरुले त्यस्तो कुरा गरेका रहेछन् भन्ने कुरा पछिमात्रै पुस्तक पसलेबाट थाहा पाइयो । सप्तरीमा मृत्युको समाचारको विस्तृत विवरण छापा माध्यमवाट पाइन्छ कि भन्ने आशामा म पसलमा पुगेको थिएँ ।

काठमाडौंवासीको यो आक्रोशपूर्ण अभिव्यक्ति अहिलेको धरातलीय यथार्थ हो । यसले औसत काठमाण्डौवासीको भावनाको प्रतिनिधित्व गर्दछ । उपत्यकामा जन्मेका हुर्केका र सधैं कहिल्यै कुनै कष्ट नभोगेका र सधै सुख सयलमा जीवन निर्वाह गरेकाहरुका लागि अहिलेको अवस्था स्वाभाविकरुपले असहनीय छ । कष्टपूर्ण छ ।

डेरावालहरुको अवस्था त झन भयावह छ । मधेसीहरुले यो कुरालाई बुझ्न सक्छन् मात्रै होइन, आत्मसात गर्नैपर्छ ।

विसं. ०४५ सालको नाकाबन्दीपछि दुईवटा पुस्ता हुर्किसकेको अवस्थामा नाकाबन्दी के हो र यसले नेपाली जनजीवनमा कस्तो असर पार्दोरहेछ भन्ने कुराको बोध नहुनेहरुले जोसुकैमाथि पनि जाइलाग्न सक्छन् । किनकि दैनिक जीवन धान्न अति आवश्यक वस्तु सरकारले जनतालाई उपलब्ध गराउनु उसको कर्तव्य हो र सहज रुपमा प्राप्त गर्नु जनताको मौलिक हक हो ।

जस्तोसुकै अवस्था भए पनि सरकारले दैनिक आवश्यकताको वस्तु उपलब्ध गराउनैपर्छ । नगराएको खण्डमा त्यो सरकार पत्रु सावित हुन्छ । निकम्मा कहलाइन्छ । ओली सरकारको कुटनीतिक असफलता यसको ज्वलन्त उदाहरण हो । मधेसले यसलाई छेकवार गर्न मिल्दैन । भारतले त झन गर्नै मिल्दैन । किनकि ऊ अन्तर्राष्टिय अनुवन्धमा बेस्सरी बाँधिएको छ ।

अहिलेको दुःख र कष्टका कारण यो पुस्ताले बुझेपछि भारतलाई गाली गर्न, उसको विरुद्धमा प्रदर्शन गर्न र लड्नसमेत रतिभर डराउँदैनन् । दिनहुँ प्रदर्शन भैरहेका पनि छन् । त्यसैले पहाड होस् वा मधेस, प्रतिकूल परिस्थितिमा पनि अत्यावश्यक बस्तुको बिक्री वितरण सामान्य हुनुपर्छ ।

तर, उदेकलाग्दो कुरा के छ भने यो दुःख र कष्टको सवैभन्दा ठूलो कारण काठमाण्डौ नै हो । आत्मगत कारण प्रधान हुन्छ, भने झै अहिलेको समस्याको मूल कारण मधेस तथा भारत होइनन् । काठमाण्डौ कहिल्यै पनि आफ्ना जनताप्रति सजग, सचेत र जिम्मेवार भएन । जहिले पनि नयाँदिल्लीवेष्ठित भयो । उसको मुख ताकिरहृयो । उसको स्वार्थमा आफ्नो भविष्य हेर्‍यो । सधै पृष्ठपोषण गरिरहृयो । कहिल्यै पनि मधेशको मागप्रति संवेदनशील भएन ।

उसको सैद्धान्तिक तथा वैचारिक माग माथि यथोचित ध्यान दिनुभन्दा मधेसीलाई सत्ता, शक्ति र भक्तिमा रुमिल्याइरहने काम गर्‍यो काठमाडौंले । दिल्लीले पनि त्यसमा साथ दिइरहृयो ।

मधेसी समुदाय आन्तरिक औपनिवेशीकरणको मारमा छन् भन्ने कुरा नै उसको सबैभन्दा सवल सैद्धान्तिक पक्ष हो । माओवादी जनयुद्धको जगमा ०६२/६३ को ऐतिहासिक जनआन्दोलन भाग -२ र त्यसको परिपूरकका रुपमा सम्पन्न मधेश विद्रोहको राप र तापले यो कुराको व्याख्या विश्लेषण नगरेको भए आज पनि मधेस आन्दोलनले आफ्नो औचित्य र सार्थकतालाई पुष्टि गर्न सक्ने थिएन । यतिका दिन लम्बिने थिएन । त्यसैले यो आन्दोलनको सैद्धान्तिक तथा वैचारिक आधारहरु छन् । केही मूल्य र मान्यतामा सञ्चालित छ यो आन्दोलन ।

तर, मधेशको यो मौलिक समस्या कांग्रेस र एमाले मान्न तयार छैनन् । पहिलो संविधानसभा विघटनको मूल कारण पनि यही हो । अहिले पनि यसलाई आत्मसात नगरेकाले समस्या समाधान हुन सकिरहेको छैन । जबसम्म मान्दैन, तबसम्म यो समस्याबाट नेपाल आक्रान्त रहिरहन्छ भन्ने कुरा दिउँसोको घामजतिकै छर्लंग छ । किनकि बाहृय राष्ट्रियताभन्दा आन्तरिक राष्ट्रियता बलियो, सक्षम र सवल हुनु आवश्यक छ । तर, दुखको कुरा के छ भने सैद्धान्तिक रुपमा एमाले, कांग्रेस र राप्रपाहरुले आन्तरिक राष्ट्रियताको ‘अ पनि उच्चारण गर्न चाहँदैनन् ।

अहिले अलि उपत्यकाको मनोविज्ञानमा सकारात्मक टुसा पलाएको देखिन्छ । मधेस आन्दोलन हाम्रो आन्तरिक समस्या हो भन्न थालेको देखिन्छ

यिनै पृष्ठभूमिको कोखबाट जन्मेको र हुर्केको एउटा ठूलो डफ्फा विगत तीन महिनादेखि मधेस आन्दोलनलाई अतिरञ्जित गरी लेख रचना, समाचार, व्याख्या विश्लेषण तथा भाषण गर्दै आइरहेका छन् । भदौदेखि कार्तिकसम्म उनीहरुको पारा हेर्न लायक थियो । मंसिरमा अलि थिलथिलो भएको छ । तल खस्केको देखिन्छ । आन्दोलनको निरन्तरता, राप र तापले बल्ल तिनीहरुलाई ब्युँझाएको छ । कुम्भकर्ण निद्राबाट जगाएको छ । यद्यपि अहिले पनि कतिपयले यो आन्दोलन भारतले गरिरहेको कुरा भन्न छाडेका छैनन् ।

एक अनुसन्धान अनुसार साउन ३० वाट सुरु भएको आन्दोलनको राप र ताप अनुसार अधिकांश मिडियाले यथोचित समाचार प्रकाशन गरेको भेटिन्न । एक-दुईवटा बाहेक असोजको पहिलो हप्तासम्म तथ्यगत समाचार प्रकाशन गरिएकै पाइन्छ ।

रनभुल्लमा मधेश आन्दोलन, न मुद्दा छ, न बटमलाइन, बन्दले निस्सासिएका तराईवासी, कर्फयू तोडदा पाँचको मृत्यु, उग्र प्रदर्शनसँगै झडप ः पाँच मारिए, बन्द हडतालले अर्थव्यवस्था धरासाही जस्ता धेरैजसोको समाचार सम्प्रेसनको आसय देखिन्छ । भदौदेखि कार्तिकसम्म यस्तै रहेको देखिन्छ । केही मिडियाको विचार पृष्ठमा तराई, तरियानी कि मधेश, मारिने दलित र मार्ने जमिन्दार जस्ता लेखरचना लेखेर मधेस आन्दोलनप्रति विषवमन गरेको पाइन्छ ।

सञ्चार क्षेत्रमा देखिएको यो ध्रुवीकरणले उपत्यकावासीमा सबैभन्दा बढी नकारात्मक प्रभाव पारेको छ । किनकि विद्युतीय माध्यमदेखि पत्रिका पाठकको विशाल भण्डारण यहाँ छ । विरामी प्रहरीलाई घिसारेर मारेको एम्बुलेन्ससहितको मृतकको फोटो छापिन्छ । तर, त्यही सम्वाददाताले जनकपुरमा रेल्वेस्टेशननिर झाडीमुनि लुकिरहेका आन्दोलनकारी नितू यादवलाई पक्रेर प्रहरीले टाउकोमा गोली ठोकेको फोटोसहितकोे समाचार पठाउँदा प्रकाशन गरिँदैन । साँचो कुरा त के हो भने अधिकंाश आन्दोलनकारी मृतकको फोटो राष्ट्रिय समाचार माध्यम कहलिएकाहरुले छापेको वा प्रसारण गरेको पाइन्न । त्यसैले सही, तथ्यगत र घटित समाचारहरुलाई राजधानीका समाचार माध्यमहरुले बंगाएको तराईस्थित संवाददाताहरुको अनुभूति छ ।

तर, अहिले अलि उपत्यकाको मनोविज्ञानमा सकारात्मक टुसा पलाएको देखिन्छ । मधेश आन्दोलन हाम्रो आन्तरिक समस्या हो भन्न थालेको देखिन्छ । हिजोसम्म मधेश आन्दोलन केही होइन, यो जमिन्दारहरुले भारतको इसारामा मधेसीलाई बहकाएको भन्नेहरुमा एक प्रकारको चेत पलाएको देखिन्छ ।

समाचार माध्यमहरुमा पनि आफ्नो मुलुकको यो उपेक्षित क्षेत्रप्रतिको जिम्मेवारीबोधका साथ समाचार पस्किन थालिएको छ । काठमाण्डौका वरिष्ठ नागरिक अगुवाहरुको पहलमा अन्तरक्रिया, धरणा तथा प्रदर्शन गर्ने कार्यक्रम बनाउन प्रारम्भ भएको छ । आदिवासी जनजातिहरुले मात्र होइन, सिंगो पहाडी समुदाय मधेसको माग सम्वोधन नगरी समस्या समाधान हुँदैन भन्ने निस्कर्षमा पुगेको छ । यता केही दिनदेखि समाचार माध्यमहरुले सम्प्रेषण गरेका समाचारहरु अलि वस्तुनिष्ठ हुन थालेका छन् ।

वास्तवमा भारतको अघोषित नाकावन्दी भारतको कारणभन्दा हाम्रो कारणले आएको तथ्यप्रति हामी सजग हुन सकेनौं । सजग भएको भए शायद यो दुर्दिन व्यहोर्नुपर्ने अवस्थाको सिर्जना हुने थिएन । अरुलाई गाली गर्नुभन्दा आफ्नो समस्या आफै हल गरौं र नयाँ सोच, नौलो अभ्यास र नवीन चेतका साथ नेपालीपनलाई संसार सामु पस्कौं । यही नै अहिलेको माग हो । आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment