Comments Add Comment

राजमार्गमा ‘चुरेभावर’ र मधेसी मोर्चा आमने-सामने

Chure-Vabar-Pradarshan

  • अध्यक्ष वद्रि न्यौपानेको नेतृत्वमा सडकमा प्रदर्शन गर्दै चुरे भावरका कार्यकर्ताहरु

समाचार टिप्पणी
११ मंसिर, काठमाडौं । सय दिनको मधेस आन्दोलन सरकारविरुद्ध केन्द्रित रहँदै आएको छ । मधेसमा रहेका पहाडे र मधेसी दुबै समुदायवीच अहिलेसम्म सदभाव कायमै छ । तर, मधेसी मोर्चाको आन्दोलन पूर्व-पश्चिम राजमार्गमा केन्द्रित हुन थालेपछि नागरिक-नागरिकवीच झडप हुने खतराका संकेत देखिन थालेका छन् ।

सुनसरीको इटहरीमा शुक्रबार मधेसी मोर्चाले गर्न लागेको सभाको मञ्च सत्ता पक्षका विद्यार्थीसमेत मिलेर जलाइएको छ भने रौतहट, सर्लाहीलगायतका राजमार्गका वस्तीहरुमा चुरेभावरको ब्यानरमा प्रदर्शन हुन थालेका छन् । यी घटनाले अब राजमार्गमा सुरक्षा सम्वेदनशीलता बढेको छ ।

शुक्रबार इटहरीमा मधेसी मोर्चाको कार्यक्रम बिथोल्ने ढंगले भएको तोडफोड र आगजनी आकस्मिक आक्रोशमा मात्र सीमित छैन । यसमा सत्ता पक्षका विद्यार्थी संगठनहरुले वक्तव्य नै निकालेर सचेततापूर्वक सहभागिता जनाएका छन् ।

यसको संकेत तीन दिनअघि सर्लाहीको फुलजोरमा देखिसकिएको थियो । त्यहाँ मधेसी मोर्चाका आन्दोलनकारीलाई राजमार्गमा उभिनसमेत नदिएर स्थानीयले लखेटेको घटनापछि चुरेभावरको आन्दोलन एकाएक चर्चामा आएको छ ।

मधेसी मोर्चाले राजमार्ग बन्द गराउने घोषण गरेलगत्तै चुरेभावरको ब्यानरमा राजमार्गमा मोर्चाविरुद्ध प्रदर्शन हुन थाल्नुले तराईमा साम्प्रदायिक झडपको खतरा बढेको छ ।

गत मंगलवार फुलजोरमा राजमार्ग अवरुद्ध गर्न आएका मोर्चाका कार्यकर्तालाई चुरे भावरको अगुवाइमा त्यहाँका स्थानीय समुदायले लखेटेपछि आन्दोलनकारी हच्किएको आँकलन गरिएको छ ।

चुरेभावरले आफ्नो क्षेत्रमा राजेन्द्र महतोलाई प्रवेश निषेधको घोषणा गरेको छ भने राजमार्ग बन्द गर्न आउनेलाई लखेट्ने भन्दै ठाउँ ठाउँमा युवा शक्ति जम्मा गरेको छ ।

उता मधेसी मोर्चाले मधेसका ८ जिल्लामा कांग्रेस, एमालेका नेताहरुलाई जिल्ला प्रवासमा रोक लगाउँदै र उनीहरुको घरमा आगजनीसमेत गर्दै आएका छन् ।

पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा पहाडी समुदायको सघन बसोबास रहेको छ । धनुषाको ढल्केबरदेखि बाराको सिमरासम्मका राजमार्ग क्षेत्रमा अहिलेसम्म मधेस आन्दोलनको प्रभाव खासै परेको छैन ।

तराईका २० जिल्लामा पहाडे समुदायको जनसंख्या करीव २२ प्रतिशत छ । त्यसमा पनि सप्तरीदेखि पर्सासम्मको २ नम्बर प्रदेशमा ९ प्रतिशत पहाडे छन् ।

चुरेभावरका अध्यक्ष बद्री न्यौपानेले जातीय सदभाव भड्काउन खोज्नेहरुदेखि सचेत हुने तर मधेसी मोर्चालाई राजमार्गमा धर्ना र आन्दोलन गर्न नदिने चेतावनी दिए

ब्यानर चुरेभावरको, काम सत्ता पक्षको

विहीबार मात्रै चुरेभावरको ब्यानरमा रौतहटको चन्द्रनिगाहपुरमा पनि भारतीय नाकाबन्दी र मोर्चाको आन्दोलनविरुद्ध स्थानीय समुदायसहित ठूला दलका कार्यकर्ता सम्मिलित प्रदर्शन भएको छ ।

‘भन्नलाई चुरेभावर पार्टी भनिए पनि त्यति धेरै मान्छे कांग्रेस, एमाले र एमाओवादीको सहभागिताबिना जुट्न सक्दैन’ रौतहटबाट एक पत्रकारले भने ‘तर विहीबार राजमार्गमा निस्किएको प्रदर्शनले आन्दोलनकारी मधेसी मोर्चालाई राजमार्गमा उत्रनेबारे सोच्न बाध्य बनाएको छ’ ।

पहिलो संविधानसभामा एक सांसद पाएको चुरेभावर दोस्रो संविधानसभामा शून्य भएको थियो । मधेसी मोर्चा राजमाग केन्द्रित हुन थालेपछि सत्तापक्षकै रुचीमा चुरेभावर एकाएक ब्युँताइएको छ ।

चुरेभावरका अध्यक्ष बद्री न्यौपानेले जातीय सदभाव भड्काउन खोज्नेहरुदेखि सचेत हुने तर मधेसी मोर्चालाई राजमार्गमा धर्ना र आन्दोलन गर्न नदिने चेतावनी दिए ।

न्यौपानेले भने- कुनै पनि हालतमा राजमार्ग बन्द गर्न दिदैनौं । मोर्चाले निहु खोजे प्रतिकार गरेर लखेट्छौं । हाम्रो एउटै आह्वानमा भावर क्षेत्रका हजारौं जनता राजमार्गमा उत्रिन्छन् ।

मधेसी मोर्चाले सर्लाहीको लालबन्दीमा गर्ने भनेको सभा बिथोल्न चुरे भावरले तयारी गरिसकेको छ । शुक्रबार इटहरीमा गरेजस्तै लालबन्दीमा पनि कार्यक्रम हुन नदिने तयारी उनीहरुले गरेका छन् ।

विहीबार चन्द्रनिगाहपुरमा गाउँ-गाउँबाट राष्ट्रिय झण्डासहित मानिसहरु राजमार्गमा उत्रिएपछि सुरक्षा निकायले पनि सतर्कता अपनाएको छ ।

‘नाकाबन्दीको मारमा परेका कारण एकै आह्वानमा हजारौं मान्छे उत्रिने अवस्था राजमार्गमा देखिएको छ । हामी मधेसी मोर्चा र चुरेभावर दुबैपक्षलाई आ-आफ्नो ठाउँमा संयमित हुन भन्दैछौं’ रौतहटबाट पत्रकार तथा अधिकारकर्मी विपीन गौतमले भने ।

के भन्छन् नेताहरु ?

चुरे भावरले राजमार्ग अवरोध गर्न नदिने घोषणा गरिसकेको अवस्थामा साम्प्रदायिक झडपको चिन्ता व्यक्त हुन थालेको छ । सदभावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र रायले सुरक्षा निकायका मान्छेलाई समेत सादा पोशाकमा परिचालन गरेर दंगा सिर्जना खोजिएको आरोप लगाए ।

मधेसी मोर्चाले राजमार्ग अवरोध गर्ने गरी हिंसात्मक गतिविधि गरेको भन्दै चुरेभावर ब्युँताएर प्रतिकार थालिएको र ठूला दलले सम्भावित साम्प्रदायिक झडप रोक्न भूमिका खेल्नुको साटो उक्साउने काम गरेको आरोप मोर्चाका नेताहरुको छ ।

तर, रौतहट क्षेत्र नम्बर ६ का एमाले सांसद रामकुमार भट्टराई भने राजमार्गमा साम्प्रदायिक झडपको सम्भावना नरहेको दावी गर्छन् । ‘पहाडी र मधेसी समुदाय मिलेर बसेका छन् कुनै झडप हुँदैन,’ शुक्रबारै रौतहट पुगेका भट्टराईले भने, ‘राजमार्गमा अवरोध गर्ने र जनजीवन आतंकित बनाउन कोही आए भने उनीहरुलाई स्थानीयले लखेट्न सक्छन् ।’

अहिले राजमार्गमा मधेसी मोर्चाले अवरोध गरेको खण्डमा स्थानीय समुदायलाई प्रतिकारमा उतार्ने तयारी भित्रभित्रै भइरहेको छ । राजमार्ग क्षेत्रका पहाडी, मधेसी र थारु समुदायका सबै जनता आन्दोलनबाट आजित भएकाले प्रतिकार हुन लागेको एमाले सर्लाहीका नेता गणेश प्रसाईले बताए ।

एमाले नेता प्रसाईले हरिवनबाटै अनलाइनखबरसँग भने- हाम्रो पार्टी र नेता कार्यकर्ता गएका छैनन् । तर, आम जनता राष्ट्रिय झण्डा बोकेर नाकाबन्दी र मोर्चाको राजमार्ग अवरोध विरुद्ध तल झर्न लागेका छन् । मोर्चाले झडप निम्त्याउनुको साटो ब्याक हुनु राम्रो छ ।’

साम्प्रदायिक सदभाव खल्बलिँदैन : यादव

सत्तापक्षका कतिपय नेताहरुले राजमार्ग आसपासका जनताको संवेदनशीलतामा खेल्न खोजे पनि अहिलेसम्म भित्री मधेसमा भएका आन्दोलनहरुमा मधेसी मोर्चाको आन्दोलनमा कतै पनि साम्प्रदायिक सदभाव खल्ललिएको छैन ।

आन्दोलनरत संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले केही समय अघि अनलाइनखबरको अन्तरवार्तामा सत्तापक्षले राई मधेसमा साम्प्रदायिक सदभाव भड्काउने षड्यन्त्र गरिरहेको बताएका थिए ।

तर, सरकारी पक्षबाट यस्तो प्र्रयास गरे पनि आपसमा मिलेर बसेका पहाडे र मधेसी समुदायवीचको सदभाव कसैले खल्बल्याउन नसक्ने यादवले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment