Comments Add Comment

कमनवेल्थ फोरममा विनोद चौधरीको सम्बोधन, नाकाबन्दी अन्त्य हुनुपर्ने माग

Binod Chaudhari Common Wealth 2

११ मंसिर, काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा जारी नाकाबन्दीले चरम मानवीय संकट उत्पन्न हुनसक्ने भन्दै अन्र्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् ।

माल्टामा आयोजित कमनवेल्थ राष्ट्र प्रमुखहरुको सम्मेलन २०१५ मा अतिथि वक्ताको रुपमा विहीबार सम्बोधन गर्दै अध्यक्ष चौधरीले भूकम्पबाट थिलोथिलो भएको नेपाल हाल जारी नाकावन्दीका कारण आर्थिक संकटतर्फ धकेलिएको बताए । उनी एसियाली समन्वय एवं विकास बिषयमा सम्बोधन गर्दै थिए ।

नाकाबन्दीले मानिसहरुको दैनिक जनजीवन अस्तव्यस्त बनाएको र उद्योग एवं व्यवसायहरु बन्द गराएको जानकारी अध्यक्ष चौधरीले बताए ।

सम्मेलनमा विश्वका करिब ८० राष्ट्रका राष्ट्रप्रमुख, सरकारप्रमुख र निजीक्षेत्रका अग्रणीहरुको सहभागिता रहेको छ । नेपाल कमनवेल्थ राष्ट्र नरहे पनि अध्यक्ष चौधरीलाई अतिथी वक्ताका रुपमा सम्मेलनमा आमन्त्रण गरिएको थियो ।

क्षेत्रीय समन्वयका लागि उदार भावना भएको क्षेत्रीय नेतृत्वको आवस्यकता पर्नेमा अध्यक्ष चौधरीले जोड दिए । ‘दक्षिण एसियाली क्षेत्रीय समन्वयको कुरा गर्दा यस क्षेत्रको नेतृत्वदायी भूमिकामा रहेको राष्ट्र भारतले छिमेकीहरुप्रति उदारता देखाएर मात्रै क्षेत्रीय समन्वय संभव हुनेछ’ अध्यक्ष चौधरीले युरोपियन यूनियनको प्रसंग जोड्दै भने- ‘भारतले पनि युरोपियन युनियनको स्थापनाकालमा जर्मनीले देखाएको जस्तै उदार भुमिका देखाउन सक्नुपर्छ ।’

अध्यक्ष चौधरीले भूपरिवेष्टित राष्ट्र नेपालले निर्वाध पारवहनको सुविधाको आधारभूत हकसमेतबाट बञ्चित हुनुपर्ने अवस्था रहेकोमा चिन्ता व्यक्त गरे । उनले नेपालमा जारी नाकाबन्दीले जीवनरक्षाका लागि अत्यावश्यक औषधी, खाना पकाउने ग्यास, र सवारी इन्धनको चरम अभाव भएको जानकारी पनि अन्तर्राष्ट्रिय समुदायलाई दिए ।

Binod Chaudhari Common Wealth

नेपालमाथिको नाकाबन्दी अन्त्यका लागि कुनै पक्षबाट सहयोग नभएको उल्लेख गर्दै अध्यक्ष चौधरीले यो परिस्थितिले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन -सार्क) को सार्थकता र प्रभावकारितामा प्रश्न उठेको बताए ।

‘सार्क विश्वमै अत्यन्तै कमजोर क्षेत्रीय संगठनका रुपमा चर्चित छ । बेलाबेलामा प्रस्तुत हुने गरेका राम्रा पहलहरु र योजनाहरुका वावजूद पनि एक आपसमा देखिने गम्भीर मतभेदका कारण क्षेत्रीय समन्वय र विकासका हिसाबले सार्क सधैँ पछाडि पर्दै आएको छ ।’ चौधरीले भने ।

‘विश्वका चालीस प्रतिशत गरीवको वसोवास रहेको सार्क क्षेत्रको विकासका लागि पुर्वाधारको विकास एक आवश्यक पूर्वशर्त हो । तर आपसी असहयोग र अविश्वासले सडक संयन्त्र, सार्क बैंक आदिमा अपेक्षित प्रगति हुन सकेको छैन’ चौधरीले भने ।

क्षेत्रीय विकास र समन्वयका लागि यातायात संयन्त्रको विकासमा जोड दिँदै चौधरीले संयन्त्रका अभावमा सार्क राष्ट्रहरुबीच उत्पादन तथा वितरण लागत बढी हुने गरेको बताए । नेपाल र भूटानजस्ता भूपरिवेष्टित राष्ट्रहरु रहेको यो क्षेत्रमा अन्तदेर्शीय सडक संयन्त्रको विकास र निर्वाध पारवहनको सुविधा अपरिहार्य रहेको उनले बताए ।

कमनवेल्थ राष्ट्रप्रमुखहरुको सम्मेलन प्रत्येक दुई वर्षमा आयोजना गरिने एक महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च हो जसमा राष्ट्रप्रमुख र सरकारप्रमुखहरुले साझा चुनौतीको सामना, नयाँ अवसरको खोजी तथा प्राथमिकता निर्धारणसम्बन्धमा छलफल गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment