Comments Add Comment

चिनी मिलले उखु किसानको ४० करोड भुक्तानी दिएनन्

पथरी (मोरङ), ११ मङ्सिर । किसानले उखु मिलबाट ठगिएको गुनासो गरेका छन् । मोरङ–सुनसरीका किसानले उत्पादन गरेको उखु क्रसिङ गर्दै आएको सुनसरीको अमाही बेलामा रहेको इस्टर्न सुगर मिलले एक वर्षअघि खरिद गरेको उखुको मूल्य भुक्तानी नगरेको उनीहरुले गुनासो गरेका हुन् ।

Sugarcan-Ukhu

मोरङका किसान लक्ष्मण कोइराला १० लाख रूपैयाँ मिलले नदिएकै कारण अब उखुखेती छाड्ने अवस्थामा पुगेको बताउँछन् । किसानले गत वर्षको रकम पाउनका लागि पटक पटक मिल सञ्चलकसँग कुरा गरेका भए पनि सञ्चालकको बेवास्ताका कारण अब उखुको विकाल्प के खोज्ने भन्नेमा पुगेका कोइरालाको भनाइ छ ।

किसानले गत वर्षको रकम अहिलेसम्म भुक्तानी पाउन नसकेपछि उत्पादनमा नै कटौती सुरु गरेका उखु किसान शिवनारायण मेहताको भनाइ छ । सुनसरीको अमाही बेलाहामा २०५४ सालमा सुरु भएको इस्टर्न सुगर मिलमा किसानले ठूलै लगानी गरेका छन् ।

मोरङ र सुनसरीका सात हजार ५०० बढीले उखुखेती गर्दै आएका थिए । अहिले त्यो सङ्ख्या घटेर चार हजार पुगेको बताइएको छ । गत वर्ष उखु क्रसिङलगत्तै प्रतिक्विन्टल रु २०० का दरले भुक्तानी पाए पनि त्यसपछिको बाँकी रकम अहिलेसम्म किसानले हात पार्न सकेका छैनन् । मिलले गत वर्ष प्रतिक्विन्टल ४ सय ६१ रूपैयाँका दरले किसानबाट उखु किनेको थियो । सबै किसानलाई मिलले ४० करोड रूपैयाँ बढी रकम तिर्नुपर्ने देखिन्छ ।

मिलका प्रमुख उखु प्रबन्धक सुरेश मेहताले किसानको रकम किस्ताबन्दीका रुपमा तिर्ने तयारी गरिरहेको बताए । ‘बन्द हड्तालका कारण रकम भुक्तानी गर्न सकिएको छैन’ उनले भने । प्रबन्धक मेहताले एक वर्ष भित्रमा सबै उखु किसानको रकम भुक्तानी गरिने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment