Comments Add Comment

निकुञ्ज भ्रमण गर्ने पर्यटकमा कमी, राजस्व पनि घट्यो

Narayani-River-Chitawan
फाइल तस्वीर ।

११ मंसिर, चितवन  । चितवन राष्ट्रिय निकुञ्जको आम्दानी चार महिनामा चार करोड रूपैयाँ बढीले घटेको छ । गएको साउनदेखि कात्तिकसम्म निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेकाले राजस्व घट्न पुगेको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलका अनुसार गएको चार महिनामा १८ हजार १३८ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । उनीहरुबाट कुल दुई करोड ४९ लाख ३४ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।

अघिल्लो आवको सोही अवधिमा ७४ हजार २८ पर्यटकले निकुञ्ज घुमेका थिए । उनीहरुबाट कुल ६ करोड ७८ लाख ४६ हजार रूपैयाँ राजस्व संकलन भएको थियो । चार महिनामा ५५ हजार ८९० पर्यटक घटेका छन् भने राजस्व ४ करोड २९ लाख १२ हजार रूपैयाँ गुमेको निकुञ्जले जनाएको छ ।

निकुञ्जमा आएका पर्यटकमध्ये आधाभन्दा बढी तेस्रो मुलुकका रहेका छन् । करिब ११ हजार ५ सय पर्यटक विदेशी छन् । यस्तै सार्क मुलुकका करिब एक हजार र आन्तरिक पर्यटक पाँच हजार ५४७ जनाले निकुञ्ज घुमेको निकुञ्जको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष एक तिहाइ समेत राजस्व सङ्कलन भएको छैन ।

निकुञ्जले प्रवेश शुल्कबाट मात्रै ८५ प्रतिशत बढी राजस्व संकलन गर्ने भए पनि अहिले बन्द र नाकाबन्दीका कारण पर्यटक नआउँदा राजस्व संकलन प्रभावित भएको हो । निकुञ्ज प्रवेश गर्दा अन्य विदेशीलाई प्रतिव्यक्ति एक हजार ५ सय रूपैयाँ, सार्क राष्ट्रका लागि प्रतिव्यक्ति ७ सय ५० रूपैयाँ र आन्तरिक पर्यटकका लागि प्रतिव्यक्ति सय रूपैयाँ राजस्व लिने गरिएको छ ।

निकुञ्जलमा दुर्लभ एकसिङ्गे गैँडा र पाटेबाघ हेर्न, हात्ती सफारी, जिप सफारी, चरा अवलोकन र राप्ती किनारको मनोरम दृश्यावलोकनका लागि पर्यटक आउने गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment