Comments Add Comment

ओलीलाई भाजपा नेता जोलीले सुनाए चेतावनीपूर्ण सन्देश

Kp-Oli-And-Bijay-Jolly

११ मंसिर, काठमाडौं । भारतको नाकाबन्दीका कारण नेपालले गम्भी संकट झेलिरहेका बेला भारतीय जनता पार्टीका नेता विजय जोली सुटुक्क काठमाडौं आए र राजनीतिक भेटवार्ता गरेर फर्किए ।

भारतमा उनकै पार्टी भाजपा सरकारमा छ र प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले मधेसमा भइरहेको आन्दोलनलाई देखाएर २ महिनाभन्दा बढी समयदेखि नेपालमाथि अघोषित नाकाबन्दी गरिरहेको छ ।

नाकाबन्दी सुरु भएपछि जोली दोस्रो पटक सुटुक्क नेपाल आएका हुन् । यो पटक उनी युनिभर्सल पिस फेडेरेसनद्वारा आयोजित ‘अन्तराष्ट्रिय शान्ति सम्मेलन’मा भाग दिने बहानामा काठमाडौं आएका थिए ।

तर, काठमाडौं बसाइका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै दिल्लीको सन्देश सुनाएर गएका छन् । उनले राष्ट्रपतिविद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस काबा सभापति रामचन्द्र पौडेलदेखि मधेसी मोर्चाका उपेन्द्र यादवलाई भेटेका छन् ।

स्रोतका अनुसार जोलीसँगको भेटमा सरकार र प्रमुख विपक्षी दलका कांग्रेसका नेताहरुले नाकाबन्दीबारे प्रश्न गरेका थिए । तर, जोलीले यसअघि भारतले भन्दै आएको जस्तै ‘भारतले नाकाबन्दी नगरेको र मधेस आन्दोलनका कारण आपूर्तिमा समस्या भएको’ तयारी जवाफ दिए ।

भाजपाका नेता जोलीले बरु उल्टै चेतावनीपूर्ण सन्देश दिएर गएको स्रोतले बताएको छ । ‘काठमाडौंमा दिनदिनै भारतीय प्रधानमन्त्रीको पुत्ला जालेकोमा उनले निकै चासो र चिन्ता व्यक्त मात्र गरेनन् । यो राम्रो हुँदैन भन्ने सन्देश दिएका छन्’-स्रोतले भनेको छ ।

भाजपाका नेता जोलीले प्रधानमन्त्री ओलीललाई बालुवाटारमै पुगेर भेट गरेका थिए । भेटमा प्रधानमन्त्री ओलीले नेपालले के गल्ती गरेको थियो र नाकाबन्दी गरेको भन्दै प्रश्न गरेका थिए ।

तर, जोलीले नाकाबन्दी गरेको अस्वीकार मात्र गरेनन्, नेपालको अन्तरिम समस्या समाधान गर्न सुझाए । ‘अन्यथा भारतलाई देखाएर भारत विरोधी भावना बढ्यो भने राम्रो हुँदैन’ भन्ने चेतावनीपूर्ण दिल्लीको सन्देश जोलीमार्फत आएको स्रोतले बताएको छ ।

जोलीले उपप्रधानमन्त्री चित्रबहादुर केसी र सीपी मैनालीहरुको पछिल्लो अभिव्यक्तिहरुप्रति लक्षित गर्दै असन्तुष्टी समेत जनाएका थिए । केसी र मैनालीले भारतले नेपालको तराईलाई टुक्राउन खोजेको अभिव्यक्ति दिएपछि भारतीय दूतबासले पनि खण्डन गरेको थियो ।

जोलीले नेपाल भ्रमण उपलब्धिमुलक भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित साहलाई नेपालको अवस्थाबारे जानकारी गराउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment