Comments Add Comment

भारतीय नाकाबन्दी बारे साझा धारणा बनाउन सरकारलाई सुझाव

India blockade on Nepal
१२ मंसिर, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा कूटनीतिज्ञले भारतीय नाकाबन्दीका कारण उत्पन्न राष्ट्रिय संकट समाधानका लागि साझा धारणा बनाउन प्रमुख राजनीतिक दल र सरकारलाई सुझाव दिएका छन्।

उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले शुक्रबार परराष्ट्र मन्त्रालय सिंहदरबारमा आयोजना गरेको अनौपचारिक छलफलमा वक्ताहरूले राष्ट्रिय संकटका बेला नेपालको कूटनीति अत्यन्तै कमजोर बनेको भन्दै सरकारको आलोचनासमेत गरेका थिए। पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारतसँग औपचारिक र अनौपचारिक दुवै ढंगले सघन रूपमा संवाद गरेर नाकाबन्दी खुलाउन पहल गर्न सरकारलाई सुझाव दिएको अन्नपूर्ण पोस्टमा खबर छ।

‘भारतले किन अहिले नेपालमाथि नाकाबन्दी लगायो त ? हाम्रा कुन शीर्ष नेताले संविधान जारी हुनुअघि दिल्लीमा गएर के बाचा गरेर आएका थिए र के पूरा नगरेका कारण अहिले यो अवस्था आइपुग्यो, त्यसबारे छलफल गर्नु आवश्यक छ,’ उनले भने।लोहनीले नेपालका नेताले भारतसँग बाचा गरेकामध्ये केही कुरा सम्बोधन गर्न सकिने भए त्यसबारे सोच्नुपर्ने बताए।

‘भारतीय पक्षले अहिले नेपालका नेताहरूले बाचा गरेअनुसार कार्यान्वयन गरेनन् भनिरहेको छ। नाकाबन्दीका कारण उत्पन्न मानवीय संकटबारे सरकारले स्पस्ट धारणा सार्वजनिक गर्नुपर्छ । विदेश नीतिबारे सबै नेताका धारणा समान हुनुपर्छ,’ उनले भने।

चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्यले आफू राजदूत हुँदा यातायात सम्झौता गर्न चीनसँग प्रयास भएको चर्चा गर्दै चीनले नेपालसँग यातायात सम्झौता गर्न मस्यौदा पठाए पनि त्यसपछि यसबारे नेपालले प्रतिक्रिया नदिएको बताए।

त्यस्तै चिनियाँ प्रधानमन्त्री झु रोङ्जीको नेपाल भ्रमणमा कृषि क्षेत्रमा सहकार्य गर्ने द्विपक्षीय सम्झौतामा हस्ताक्षर भए पनि त्यसयता नेपालले सम्झौता कार्यान्वयन गर्न चीनसँग कुरै गर्न नचाहेको प्रसंग उनले सुनाए।

‘चीनसँगको यातायात सम्झौता भएको भए हामीले चीनमार्फत तेस्रो देशसँग व्यापार गर्न सम्भव थियो। तर त्यतातिर नेपालको कहिल्यै ध्यान गएन। भारतसँगको परनिर्भरताका कारण अहिले हामीले संकट बेहोरिरहेका छौं,’ आचार्यले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment