Comments Add Comment

आन्तरिक पर्यटन विकास हुँदै

१२ मंसिर, म्याग्दी । पोखराकी सदिक्षा थापाको सोचाइ थियो पदयात्रा गर्दा निकै दुख, कष्ट हुन्छ । तर २१ वर्षीया थापाको अनुमान गलत सावित भयो जब उनले नयाँपुल–घोरेपानी–घान्द्रुकको पदयात्रा गरिन् ।

‘महिलालाई पदयात्रा गर्न अझ दुख हुन्छ होला भन्ने सोचेकी थिए तर कुनै अप्ठ्यारो र दुखको अनुभव भएन,’ तीन हजार २१० मिटरको उचाइमा पर्ने पुनहिलमा कात्तिक दोस्रो साता भेटिएकी थापाले भनिन् – ‘यहाँको प्राकृतिक सौन्दर्य, आकर्षक भूबनोट र सामुहिक यात्राले गर्दा उकालो ओरालो गरेको पत्तै पाइन् ।’

अन्नपूर्ण चक्रीय पदमार्ग अन्तरगत पर्र्ने म्याग्दीको घोरेपानी, पुनहिल, भुरुङ तातोपानी र कास्कीको घान्द्रुकमा आन्तरिक पर्यटक बढ्दै गएका छन् । बिदा र फुर्सदको समयमा देशभित्रकै पर्यटकीय स्थलहरु घुमेर प्राकृतिक सौन्दर्यमा रमाउने नेपालीहरुको चाहनाले गर्दा आन्तरिक पर्यटनको विकास हुँदै गएको हो ।

कोलाहल, प्रदूषण र व्यस्त जीवनबाट केही दिन टाढिएर पदयात्रामा रमाउने व्यवसायी, सरकारी, गैरसरकारी र वित्तीय संस्थाका कर्मचारी, दश जोड दुई र कलेजका विद्यार्थीको भरमा भूकम्प र नाकाबन्दीले थलिएको यहाँको पर्यटन प्यवसाय धानिएको छ ।

‘उकालो ओराले हिँड्दा स्वास्थ्यका लागि पनि फाइदा हुने, प्राकृतिक सौन्दर्यमा रमाउँदै देश चिन्न पाइने र पर्यटन प्रवद्र्धन पनि हुने भएकाले पदयात्रामा आएका हौँ’ घोरेपानी भ्रमणमा आएका धादिङको मलेखुका व्यवसायी राजेन्द्र सेढाईंले भने ।

प्रदूषणले गर्दा बजारमा दैनिक कामकाजमा व्यस्त हुने सर्वसाधारणले प्रातःकालीन भ्रमण गर्दासमेत स्वच्छ वातावरण नपाउने अवस्थामा पहाडी क्षेत्रको उकाली र ओराली गर्दा स्वास्थ्यका लागि पनि धेरै फाइदा गर्ने पोखराका राजेश भण्डारीको अनुभव छ ।

पदयात्रामा निस्कँदा नयाँ सोचाइको विकास हुनुका साथै छुट्टै किसिमको मनोरञ्जन प्राप्त भएको हालै घोरेपानी–घान्द्रुक पदयात्रा गरेर फर्कनुभएका थापाले बताउनुभयो । हिमशृङ्खला, सूर्योदय, ग्रामीण बस्ती, फरक संस्कृति, वनजङ्गल र मनोरम भूगोलको अवलोकन गर्न पाउँदा आफ्नो देश कस्तो रहेछ भनेर बुझ्ने अवसर पनि मिल्ने गरेको पदयात्रामा आएका आन्तरिक पर्यटक बताउँछन् ।

कस्तुरीले आफ्नै बिनाको गन्ध थाहा नपाएर भौतारिएझैँ नेपाली लाखौँ खर्चेर विदेशमा घुम्न जाने चलन छ । विदेश जानुभन्दा नेपालकै सुन्दर र आकर्षक पर्यटकीयस्थलको भ्रमण गरेमा भौगोलिक, सांस्कृतिक र जैविक विविधताका बारेमा जानकारी हासिल भई देश चिन्ने अवसर प्राप्त हुने पोखराका कर्णबहादुर पाइजाले बताए ।

आन्तरिक पर्यटकका लागि पोखरा, मुस्ताङ, चितवनको सौराहा, घोरेपानी, तातोपानी र घान्द्रकु आकर्षकस्थल हुन् । पोखराबाट नजिक र छोटो अवधिमा यात्रा गर्न सकिने मात्र हैन यातायात, सञ्चार र सहज पदमार्गको सुविधा भएकाले पनि म्याग्दीको घोरेपानी, पुनहिल, भुरुङ तातोपानी र कास्कीको घान्द्रुक आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेका छन् ।

गत वैशाखको भूकम्प, मधेसमा जारी आन्दोलन र नाकाबन्दीका कारण बाह्य पर्यटकको आगमन नभए पनि यो याममा आन्तरिक पर्यटक भने उल्लेख्य मात्रामा भित्रिएको घोरेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष जुन पुनले बताए ।

उनका अनुसार दसैंतिहारको बिदाको समयमा दैनिक दुईतीन सयको अनुपातमा आन्तरिक पर्यटक घोरेपानीमा भित्रिएका थिए । लामो र छोटो प्याकेजमा अन्नपूर्ण पदयात्रामा निस्किएका अधिकांशले घोरेपानी क्षेत्रलाई आफ्नो प्रमुख रोजाइमा पार्ने गरेका छन् । घोरेपानी पुगेका पर्यटकका लागि पुनहिलबाट देखिने बिहानीको सूर्योदय मुख्य आकर्षण हो ।

चम्किला किरण छर्दै सूर्योदय हुँदा पुनहिलबाट लहरै रहेका हिमशृङ्खलामा सुन टल्किएको जस्तै मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको शृङ्खलामा पर्ने २० बढी हिमचुचुरालाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु पुनहिलको आकर्षण हो ।

पुनहिलमा चैत–वैशाखमा करिब १५ प्रजातिका लालीगुराँस फुलेको देख्न पाइन्छ । पुस र माघमा सेताम्मे हिउँ पर्छ । धुँवाधुलोरहित स्वच्छ वातावरणमा प्रकृतिको स्नेहीपूर्ण यात्राले यस क्षेत्रमा भम्रणमा आउने पर्यटक मख्ख पर्छन् ।

घोरेपानीको पुन मगर सङ्ग्रहालय, मगर समुदायको संस्कृति, रहनसहन, जीवनशैली र एकै रङ्गको जस्तापाता भएका घरको मिलेको बस्तीले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । घोरेपानी पुनहिल क्षेत्रमा पश्चिम नेपालकै ठूलो गुराँसको जङ्गल रहेको छ । खर्च गर्ने सवालमा विदेशीको तुलनामा स्वदेशी नै अगाडि छन् ।

बाह्य पर्यटककै हाराहारीमा नेपालीबाट पनि व्यवसाय हुने गरेको घोरेपानीस्थित स्नो भ्यु होटलका सञ्चालक टेकसर बुद्धुजा पुनले बताउनुभयो । सशस्त्र द्वन्द्व सकिएर शान्ति बहाली भएपछि आन्तरिक पर्यटनको आगमन बढ्दै गएको २० वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका पुनले भनाइ छ ।

सरकारी कर्मचारी, बैंक, वित्तीय संस्थाका कर्मचारीलाई छुट्टै बजेट दिएर भ्रमण गर्न प्रोत्साहन गर्ने नीतिगत व्यवस्थाले पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग मिलेको स्थानीयवासीको भनाइ छ । आन्तरिक पर्यटकले योजना बनाएर भ्रमणमा आउने, होहल्ला कम गर्ने र समयमै गन्तव्यमा पुग्ने बानीको विकास गर्नुपर्ने आवश्यकता देखिएको घोरेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताए ।

यसपालि घोरेपानी क्षेत्रको भ्रमणमा आउने बाह्य पर्यटकको सङ्ख्या भने आधाभन्दा बढीले घटेको छ । इलाका प्रहरी कार्यालय घोरेपानीका अनुसार २०७१ को वैशाखदेखि असोजसम्म सात हजार ५९७ जना पर्यटकले भ्रमण गरेको घोरेपानीमा २०७२ को सोही अवधिमा जम्मा चार हजार २१६ जना मात्रै पर्यटक आएका छन् ।

भूकम्पपछि सुरक्षित रहेका पदमार्गका बारेमा सकारात्मक सन्देश प्रवाहका साथै पर्यटन क्षेत्रलाई बन्द हडताल मुक्त बनाउन सकिए बाह्य पर्यटक आगमनमा सुधार हुने पर्यटन व्यवसायीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment