Comments Add Comment

साहित्य : जब नेपाल आमा कुनामा भक्कानिइन्

डा. धर्मागत भट्टराई

नाकाबन्दी छ तर हरेक चोकचोक बाटोबाटोमा जाम छ। शायद इन्धनले बसाँई सरेर होला, कुनाकाप्चा, जर्किन (जेरी क्यान) र बोतलतिर। आफुचाहीं ‘किन्ने हैसियत र मन’ दुबै नभएको पैदल बिकल्पवाला। नाकाबन्दी र लोडशेडिंग दुबैको चेपुवामा परेदेखि अचेल बेलुकी बेलुकी डेरामा भान्सा चांडो हुन्छ।

चिउरा दालमोठ त छदैछ, संगसंगै मारेका, ठहरै पारेका, नेपालीले नेपालीलाई नजानेका, हानेका, रोकेका, ठोकेका, धोकेका, ठुल्दाईलाई पिठ्युँ बोकेका ढुक्कै समाचारले पेट भरिएकोछ। समाचार त नाकाबन्दी गर्नेले नै ऋषिवत् अर्ति-उपदेश पसारेका पनि बग्रेल्ती छन्। ती मध्ये त्यो पलचाहीं म नाकाबन्दी गर्नेका भित्री रहस्यबारेका साध्य, सौरभ, सुरेन्द्रज्युहरुका राष्ट्रवादी विश्लेषणमा डुब्दैथिएँ। लेन्डुप दोर्जेको राष्ट्रघात, इन्दिरा गान्धीको समयदेखि नै तराइलाई भारतमा गाभ्ने योजना, बहुराष्ट्रवादको तिकडम, नदीमाथिको गिद्धदृष्टि……आदि आदि।

डा. धर्मागत भट्टराई
डा. धर्मागत भट्टराई

‘ओहो! अबेरसम्म सुतिएछ। घडीको अलार्मपनि के भएछ!?’ ‘अलख’सित क्यै मागेजस्तै रोदनक्रन्दनमिश्रित आवाजले झस्किंदै उठेपछि गन्गनाएं म।

“अलार्मले तिमी कहाँ उठ्छौ र छोरा ? समय जति दौडेपनि तिमी घुर्दै सुतेकै त छौ नि सधैं!” एक्लै सुतेको कोठामा अचानक कुनाबाट करुण मातृवत् स्वर सुनेर खंग्रंग भएँ। बत्ति बाल्न खोजें। किन बल्थ्यो लोडशेडिंगमा! अपुरो चार्जमा पिल्पिलाउँदो इमर्जेन्सी लाइट बाल्दै म जर्कें -“को तपाईं? कसरी यहाँ?”

“नआत्तिऊ छोरा! म तिमी सबकी आमा, नेपालआमा हुँ।” जिउमा काँडा उम्रे मेरा। अवाक् भएँ। हेर्छु, आँशु झारिरहेकी, तलमाथि अँठ्याईएर थेप्चिएकी, बिमारले खुइलिएर पातलिएर तन्नम परेकी दयालाग्दी आमा। ‘नचाहिने कुरा! त्यस्तो नि हुन्छ? म विज्ञानको विद्यार्थी हो!’ कलेज गएको घमण्ड यसरी ओकल्न सोच्दैथिएँ; तिनले त मेरो मनै पढेर पहिल्यै बोल्दिइन्- “ज्ञान जान्यौ, सुत्यौ। बिज्ञान पढ्यौ, सुत्यौ। ‘आमाको सपना’ रट्यौ, अनि फेरि सुत्यौ।”

म कालोनिलो भएँ। पक्रिएको अपराधीजस्तो। पिलन्धरे जिउकी आमाको तपस्वीको झैँ ज्ञान! थलिएकीझैँ देखिने उनको बोलीमा जादु थियो। म लट्ठ भएँ रिमालको कवितामा भन्दा बढी! युद्धप्रसादको गीतभन्दा बढी।

“हजुरलाई कसरी थाहा भो आमा मेरा कुरा?” अझै आफ्नो बेबकुफी देखाउंदै गएँ मैले।

“आमा हुँ। तिमी सबको मन बुझ्छु। तर यति धेरै बर्ष, यति धेरै छोरा। मेरो मनचाहीं कसैले बुझेनौ बाबु।” आमा यति भन्दाभन्दै भक्कानिइन्। बर्बरी आँशु झारेर घुँक्कघुँक्क गर्दा मेरो मनपनि एकतमासको भो। आमातिर हेरें। जिउभरी कुनै न कुनै घाउ देखिन्थे। खुल्दुली पस्कें। उनी टोलाउँदै बोलिन्।

“छोरा! तिम्रो मनमा सिर्फ खुल्दुली छ, घाउको। मलमपट्टीको सोच छैन कहिल्यै, मेरो चाउरिएको अवस्थाबाट तन्दुरुस्ती त तिम्ले दिएनौ नै, दशकौंपहिले उभिएकै ठामसम्म नि पुर्याउने इच्छाशक्ति भएन तिमीमा कहिल्यै। तिमी इतिहास पढेर पनि अबुझ किन भयौ छोरा?” ‘विज्ञान’पछि आमाले मेरो ‘इतिहास’ ज्ञानमाथि झटारो हान्दैथिइन्। मेरो अनुहार सर्ल्याकसुर्लुक्क सोहोरियो। दायाँबाँया पाखुराछेउको टाटो देखाउंदै उनी रोइरहिन्- “तिमीले नजानेको हो र यी यो जिउका दाँयाबाँयाका घाउ? तिमीलाई थाहा नभा’को हो र, पहिलेको मेरो ठुलो जिउ! फिरंगीले चोइट्याएर अर्कैलाई दिएर गए। मैले दुखले हुर्काएका त्यतिबेलाका तिम्रा बलभद्र, भक्ति दाजुले बरु ज्यान फालेर लडे। अहिले म तरुल, ढुंगामाथिको। जति तासिए पनि तिमी सुतिरन्छौ। तास्ने, अँठ्याउनेसितै तिमी नतमस्तक लम्पसार छौ। म चोइटिए’नि तिमी ब्युँझिएनौ। तिमी जन्मिदा मैले तिमीलाई यति कायर सोचेकैथिएन।” म शरमले घोप्टो मुख लाएँ।

“म के गरूँ आमा? मसित के छ? लगाम हुनेसित किन भन्नुहुन्न? ती पनि त छोरै हुन्।” मैले बच्न खोजेझैं गरेछु।

“भनेकीछु बाबु! सबलाई भनेकीछु। हरेक दिन ओछ्यान पर्ने बेलामा ती आफ्नो अकर्मन्यता या कुकर्मले छटपटिन्छन्। तर भोलिपल्ट मलाई लत्याएर फेरी उही बाटो हिड्छन्।”

“मेरो कुटी कसरी रोज्नुभो त आमा ती बागडोर लिएकाको सट्टा?”

“हराएको छोरालाई भेट्न सकिन्छ, बद्लिएको छोरालाई भेट्टाउन गारो हुन्छ।” जवाफपछि उनको गहभरि आँशु मैले प्रस्ट देखें। मैले धेरै तड्पाउन चाहेको थिईन तर उनी आफै बोल्न थालिन्- “तिमीहरु मरेतुल्य भयौ छोरा। मेरो भरणपोषण त केही गरेनौ कसैले। कतिलाई पढाएँ, बढाएँ, पढाउने आमाको मुहार कसैले सम्झेनौ। कोइ अर्कै आमाको धर्मपुत्र बन्न गयौ। कतिलाई कुभिन्डोलाई खुट्टा लाएझैँ अगुवा बनाएर ठुला आसनमा पुर्याएँ। मेरै खुट्टामा, जिउमा बन्चरो हान्यौ। धिक्कार छ तिमीहरुजस्तो छोरो पाउनु!” उनका बृद्ध चेहरामा निराशाका रेखा बढे।

“आमा हजुरलाई कसले कुठाराघात गर्न सक्छ र? होइन आमा त्यस्तो होइन होला।” म अझै बचाउको प्रयासमा थिएँ।

“यही त हो कारण। तिमी संबेदनशुन्य भएकाछौ। दशकौंदेखि म जहाँको तहीं थला परेकीछु तर बग्रेल्ती छोराहरु उपचार पोषण त परको कुरा, ‘सन्चै छौ आमा’ भनी सोधखोज नि गरेनौ। उल्टो मेरो छातीमा उफ्रिरह्यौ। दुधले नपुगेर रगत पनि चुसे। मेरो जिउ रगताम्मे भयो। तिमी कोही बोलेनौ। सहने यहीं बस्यौ। नसहने अर्कैको छोरो बन्न भाग्यौ अन्तै। यहाँ रहेका घुरेर सुत्यौ। कोहिले मेरा छातीमा लात हान्यौ, कोहिले पराया बाट मान्यौ।”

“मेरो घाउ ज्युँ का त्यूँ छ। म जहाँको तहीं थला छु। तिम्रा कोही दाजुले कुन, कोही दाजुले कुन गर्दै मेरा शरीरमा हिड्ने नदी अर्कैका नाम सहिछाप गरेर छोडे रे। तिमी उनकै देवत्वकरणमा लाग्यौ। पहिल्यै पूर्वको मेरो जिउको एउटा टुक्रा तिकडमले अर्कैलाई सुम्पे झैँ अहिले मेरो बचेखुचेको जिउमा फेरी पराया आँखा गडेको म देख्छु, तिमीहरु देख्दैनौ। तिमी दृष्टि भएर नि अन्धो किन भयौ छोरा? कसरी यति मतिशुन्य भयौ बाबु?”

“म एक सामान्य छोरो आमा? म के गरूँ? मैले केही बुझिन!” मैले आफ्नो फ्रस्ट्रेसन् निकाल्न थालेंछु।

“मेरो जिउ थला परेकोछ बाबु समाल। मेरो जिउ एउटै राख। तिम्रा लहडी दाजुले दुइटा बनाउन सही गरेर गए रे। अहिले पराइले मेरा हरका नदी, माटो, बाटो छिन्न खोज्दा नि तिमीहरु गाँजा खाएसरी लट्ठ छौ। चोक्ट्याएर दुइटा बनायौ भने मेरो आँशु र रगतमा तिमीहरु पत्तासाफ हुनेछौ। मलाई तिमी सबको अपार माया छ। बिन्ति छ बाबु मलाई अचानोमा राखेर नकाट।”

“म बिचरो निम्छरो। क्यै शक्ति नभएको। शक्ति भएकाले गरेको हस्ताक्षरमा पलभरमा मेरो अस्तित्व धुँवा हुन्छ। हामी त प्रजातान्त्रिक मुलुकका निरिह दासवत् सन्तति त हौँ आमा।” म पानीमाथि ओभानो बन्न खोज्दैथिएँ।

“दास? धिक्कार छ तिमीलाई मैले पढाएको। नपढेकाबाट शासित हुने तिमी शिक्षित! धिक्कार छन् सब विश्वविद्यालय पनि। हिनताबोधमै बाँच्छौ भने शिक्षा के काम? दास त मैले कैल्यै जानिन मेरो जन्मदेखि। कसैको गुलामी गरेकी छैन मैले इतिहासदेखि। दास त तिम्रो सुतुवा मनोवृति हो। आमाको मन कुल्चने पराइसित लम्पसार पर्ने तिम्रा सिंहासनस्थित निर्लज्ज दाजुहरुको मनोवृति हो। बन्दुक र शब्दको जालो बुनेर नयाँपनको कोकोहोलो हाल्ने, गहतको झोलमा परायासित मेरो नाम फाल्ने अकर्मन्य दिशाहीन र शिक्षित मतिहिनको मनोवृति हो। तिम्रो शब्दमा मात्रै छ स्वाभिमानको रट्टा! कहाँ छ तिम्रो स्वाभिमान, परायाले मेरो मुख र बाटो थुन्दा, मेरो माटोमा जालो बुन्दा? कहाँ सुत्यौ अर्कैले मेरो पानी निल्दा, मेरो छाला छिल्दा, मेरो जिउ चोट्याउंदा, खोट्याउंदा, मेरो अंग उछिट्टाउंदा? कहाँ भुल्यौ आफ्नो स्वाभिमान जब परायाले सल्काईदिएको आगोमा मेरा छोरा डढाउंदा, उसकै नीति पढ़ाउंदा, भाइ भाइ लडाउंदा? कहाँ हरायौ मेरो जिउमाथि उभिएर परायाले गोलि हान्दा, उसको अंकुशले मेरो सार्वभौमिकताको परान तान्दा?” उनले एक सासमा काँप्दै भनिन्।

भक्कानिंदै पनि उनी रोकिईनन् “परायाले ममाथि बुर्कुसी मार्न, मेरा बचेखुचेका तन्तु झार्न आफ्ना वारिसेलाई मेरा नामका प्रमाणपुर्जी दिलाएकोछ, आफ्नो नाङ्गो नाचमा मेरो अस्मिता कद्दरमा मिलाएकोछ र पनि तिमी सुतेकैछौ। उसकै बथानलाई बागडोर दिनुपर्छ भन्दै उर्लेको छ, तिम्रो सिरान, दायाँबाँया बेफिक्री, बेरोकतोक कुर्लेकोछ, र पनि तिमी सुतेकैछौ।”

“हो आमा, म के गरूँ? म जान्दछु, मेरै भाइभाई लडेकाछन्, उसले खन्दिएको पैसाको खाडलमा हाँसीहाँसी गडेकाछन्। बागडोरका दाजु मनग्गे भासन गर्छन्, निदाईकन शासन गर्छन्। पराया हतियारधारी यता छिरेकाछन्, हाम्रा भाइ निश्वास गिरेका छन्। ठुला दाजुहरूलाई न छ हजुरको अस्तित्वको ख्याल, न छ दाजुभाईको माया! सिर्फ रमेकाछन् पैसामा या पराया प्यारमा। सास घांटीमा अड्केको छ आमा। म के गर्न सक्छु?”

“बोल्न र गर्न! हो, तिमी बोल्न सक्छौ, गर्न सक्छौ। म तिम्लाई जन्माउन सक्छु, ठड्याईदिन सक्छु। बोल्न तिमीले आफै पर्छ, ता कि दुनियाले सुनोस् तिम्रो कोकोहोलो। कर्म तिमीले आफ्नो ठामबाट आफै गर्नुपर्छ, ता कि दुनियाले बुझोस् तिम्रो जुझारुपन। के तिमी सबैले आ- आफ्नो ठामबाट कर्तव्य निभाकाछौ कहिल्यै मेरो ख्याल गरेर? हरेक क्षेत्र जसलाई जे जिम्मा दिएनी लथालिंग पार्छौ र सुत्छौ।”

म लाजले भुतुक्क थिएँ र निरुत्तर पनि। आमा बोल्दै गइन्- “ब्युँझ बाबु निद्राबाट ब्युँझ। म तिम्रो अगाडि आज ‘अलख’ जगाउँदै आएकीछु आवाजको! तिमी तिम्रो र मेरो अस्तित्वको लागि बोल। भलै म थलाको थला रहुँ, भलै म पलाको पला रगताम्मे बहुँ। म तिमीहरुकी आमा तिमीहरुलाई सग्लो देख्न चाहन्छु। जति चोइटिनु चोइटिसकेकीछु, अब नखोट्याउ मलाई, घाउमा मलम लाउन सक्दैनौ भने कमसेकम बल्झाउनेगरि घाउमा नकोट्याउ मलाई। दया गरिदेऊ थलिएकी आमा माथि। म तिम्री बिमारी आमा!” आमा बेहोश डंगरंग पछारिइन्। म हतासिंदै उनीतिर हाम्फाल्दै गएँ- “आमाsssssssssss……….”

असिनपसिन भएको रहेछु बिस्तारामा। घाम धेरै माथि पुगेकारहेछन्। ल्यापटपमा साध्य भण्डारीको “…बिखन्डनको प्रारूप” भन्ने लोकप्रिय लेख उस्तै रहेछ दृश्यपटमा। अफिस जान तयारी गर्दै गर्दा टेलिभिजन खोलें। कहालीलाग्दा फ्ल्याशन्युज आइरहेकाथिए- “उपचारको लागि लाँदै गर्दा अवरोधले बालकको मृत्यु”, “भारतीय सिमा सुरक्षा बलका जवानद्वारा नेपाली भुमि प्रवेश गरि गोलि हान्दा चार गम्भीर घाइते”, “एक भाजपा नेताद्वारा नेपालका १५ जिल्ला जसरी पनि इन्डियामा गाभिने भनाइ व्यक्त”, “नाकाबन्दीको ६४औं दिन, सीमामा आयातमा थप कडाइ”

म मेरा सपना र बिपना दुबैबाट कायल हताश थिएँ। म केही गर्न सक्दिनथें। भारत यिनै नेता जान्छन् यिनले नै ढोग्छन्। गोजी भर्छन्, नदी जमिन बुझाएर कुर्चीको बैतर्नी तर्छन्। हामी निरिह मुक हेरिरहन्छौ। नेपालआमाले भनेजस्तो केही गर्न सक्दैनौं। बिरामी आमाको भरणपोषण त पर जाओस्, उनको उपचार नि गर्न सक्दैनौं। निर्लज्ज नेतासामु निरिह हामीमध्येको म एउटा सर्वसाधारण। बस् मैले गर्न सक्ने, कलम समाएँ भोल्तेयरले भनेझैँ न्याययुद्दसरह।

यति लेखें- “जब नेपालआमा कुनामा भक्कानिइन्, …….म पनि उठेकोछु आवाज़ बोकेर उनको अस्मिताको लागि। जोजो उनका छोरा हुनुहुन्छ, आउनुस् उनको उपचार, भरणपोषणलाई साथ् दिनुस्। उनका जिउभारिका काँडा झिकौं, घाउमा मलम लगाउँ। छोरा हौँ भनेर ताण्डव मच्चाउने नक्कलीहरुको दोहोलो गरौँ। आफ्नो ज्ञान र सीप आफ्नै भूमिमा छरौं। यो देशले जन्माएको भए यही देशको लागि मरौं। के थाहा कुनै त्यस्तो दिन नि आइहाल्ला कि हाम्रो आत्मा भेट्न फेरी उज्यालो कुनामा नेपालआमा आउलिन्, मुस्कुराएर भन्लिन्- स्याबास छोरा, तिमीजस्तो छोरा पाउनुमा गर्व छ मलाई!”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment