Comments Add Comment

ब्याडमिन्टन टोली ढाका प्रस्थान

१२ मंसिर, काठमाडौं । बंगलादेश अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज- २०१५ मा सहभागी हुन ९ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली शनिबार ढाका प्रस्थान गरेको छ ।

डिसेम्बर १ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले पुरुष/महिलाको सिंगल्स र डबल्स तथा मिक्स डबल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले जनाएका छन् । महासचिव श्रेष्ठका अनुसार प्रतियोगितामा विभिन्न २४ राष्ट्रको सहभागिता रहने छ ।

पुरुषमा रत्नजित तामाङ, विकास श्रेष्ठ, दीपेश धामी, साजनकृष्ण ताम्राकार र विष्णु कट्वाल रहेका छन् । महिलामा सरादेवी तामाङ, नङ्शलदेवी तामाङ, शिक्षा श्रेष्ठ र अमिता गिरी छन् ।

टोली नेतामा ब्याडमिन्टन संघका सचिव एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य वीरेन्द्र श्रेष्ठ, प्रशिक्षकमा जयन्त श्रेष्ठ तथा व्यवस्थापकमा लवभक्त श्रेष्ठ रहेका छन् ।

गत वर्ष भएको प्रतियोगिताको विभिन्न ३ स्पर्धामा क्वाटरफाइनल पुग्नु नेपाली खेलाडीले यो प्रतियोगितामा हासिल गरेको अहिलेसम्मकै ठूलो उपलब्धी हो । पुरुष सिंगल्समा रत्नजित, पुरुष डबल्समा रत्न र विकासको जोडी तथा मिक्स डबल्समा रत्न र सराको जोडी क्वाटरफाइनलमा पुगेका थिए ।

टोलीलाई राखेप सदस्य-सचिव केशवकुमार विष्ट र ब्याडमिन्टन संघका अध्यक्ष रमेशकुमार श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे ।

बंगलादेशको प्रतियोगितापछि खेलाडी रत्न र विकास टाटा इन्डिया ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ढाकाबाटै भारतको मुम्बइ जाने छन् । उनीहरुले सिंगल्स र डबल्समा भाग लिने छन् । च्याम्पियनसिप डिसेम्बर ९ देखि १३ तारिखसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment