Comments Add Comment

प्रचण्ड दस्तावेज लेख्दै, असन्तुष्टहरु मोर्चा कस्दै

prachanda  (3)

१२ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड मंसिर १५ गतेदेखि सुरु हुन लागेको केन्द्रीय समिति बैठकमा पेश गर्ने दस्ताबेज लेख्न व्यस्त छन् । प्रचण्डको लाइनसँग असन्तुष्ट नेताहरुचाँहि नयाँ मोर्चा कस्ने तयारीमा जुटेका छन् ।

एमाओवादीका नेताहरुले जनाएअनुसार डा. बाबुराम भट्टराई पक्षका नेताहरु पार्टी छाडेको घोषणासहित नयाँ शक्तितिर लागे पनि पार्टीभित्रको अन्तरविरोध सकिएको छैन ।

वैद्य र बाबुरामले छाडे पनि नयाँ गुट जन्मँदै

कम्युनिष्ट पार्टीका नेताहरुले भन्ने गरेका छन् कि अन्तरविरोध विनाको पार्टी मृत प्रायः हुन्छ । यसैलाई चरितार्थ गर्न आगामी मंगलबारदेखि हुन लागेको केन्द्रीय समिति बैठकमा पार्टीभित्र नयाँ अन्तरसंघर्ष जन्मिन लागेको हो ।

एमाओवादीभित्र विगतमा प्रचण्ड समूह, वैद्यसमूह, बाबुराम समूह र नारायणकाजी समूह गरी चारवटा गुटहरु थिए । यीमध्ये वैद्य र बाबुरामको गुट पार्टीबाटै पाखा लागिसकेको अवस्था छ । नारायणकाजी समूह पार्टीभित्रै रहे पनि गुटका रुपमा क्रियाशील छैन ।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एक्लैले प्रचण्डसँग कतिपय विषयमा विमति राखे पनि उनले पार्टीमा पूर्व गुटलाई निरन्तरता दिएका छैनन् र प्रचण्डलाई नै नेता मान्दै आएका छन् ।

डा. बाबुराम भट्टराई पार्टीबाट एक्लै बाहिरिए पनि केही सातापछि उनलाई अन्य ४५ भाइको समूहले साथ दिएको छ । देवेन्द्र पौडेलको नेतृत्वमा रहेका भट्टराई पक्षधर नेताहरु समेत पार्टीबाट बाहिरिएको अवस्थामा अब हुने केन्द्रीय समितिको बैठक प्रचण्डको पक्षमा एक मत देखिनु पर्नेमा नयाँ गुट जन्मन लागेको छ ।

को-को छन् नयाँ गुटमा ?

एमाओवादीभित्र रहेका पूर्व एकताकेन्द्रका केही नेताहरुले नयाँ गुटलाई पार्टीमा विधिवतरुपमा स्थापित गर्ने तयारी थालेका छन् । उनीहरुले केही महिना अगाडि काठमाडौंको सोल्टीमोडमा अलग्गै भेलाको आयोजना गरेर प्रचण्डकै नेतृत्वमा एमाओवादी पार्टीको शद्धीकरण सम्भव नभएको निश्कर्ष निकालेका थिए ।

स्रोतका अनुसार आगामी केन्द्रीय समिति बैठकमा प्रचण्डको दस्तावेज हेरिसकेपछि फरक मतको दस्तावेज औपचारिकरुपमै दर्ता गर्ने तयारी पूर्व एकताकेन्द्र समूहका नेताहरुले गरेका छन् ।

पूर्वएकताकेन्द्रका नेता अमिक शेरचन, लीलामणि पोख्रेल घनश्याम शर्मा पौडेल, आहुती, प्रकाश पोखरेल लगायतका नेताहरुले आगामी केन्द्रीय समिति बैठकमा प्रचण्डको लाइनमा प्रतिपक्षी भूमिका खेल्ने तयारी गरिरहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

‘अध्यक्ष प्रचण्डको दस्तावेज चित्तबुझ्दो भएन भने हामी भिन्नै दस्तावेज पेश गर्छौं,’ सो समूहका एक नेताले अनलाइनखबरसँग भने, ‘यसका लागि हामीले पार्टीभित्रका सबै पक्षसँग छलफल चलाइरहेका छौं ।’

४५ भाइलाई समूहलाई बैठकमा निम्तो

यसैवीच प्रचण्डको प्रतिपक्षमा रहेर पार्टीमा अन्तरसंघर्ष अघि बढाउन खोजिरहेको पूर्वएकताकेन्द्र समूहले बाबुराम पक्षमा लागेका केन्द्रीय सदस्यहरुलाई पनि मंगलबारको बैठकमा सहभागी हुन आग्रह गरेको छ । ‘स्रोतले अनलाइनखबरसँग भन्यो- ‘हामीले त देवेन्द्र पौडेलजीहरुलाई पनि बैठकमा आउनोस् भनेका छौं, उहाँहरुले ठोस निर्णय दिन सक्नुभएको छैन ।’

पार्टीले कारवाही गरिनसकेको र स्पष्टीकरणमात्रै सोधेको अवस्थामा देवेन्द्र पौडेल, हिसिला यमी, गंगा श्रेष्ठलगायतका नेताहरुसमेत मंगलबारको बैठकमा सहभागी हुन सक्ने पूर्वएकताकेन्द्र समूहका एक नेताले बताए । उनले भने- ‘पौडेलजीहरुले चाहेको खण्डमा उहाँहरु बैठकमा भाग लिन सक्नुहुन्छ ।’

बाबुराम पक्षका नेताहरु पनि आगामी बैठकमा आएको खण्डमा अन्तरसंघर्ष गर्न आफूहरुलाई सजिलो हुने पूर्व एकताकेन्द्रका नेताहरुको बुझाइ छ ।

नारायणकाजी र भण्डारी के गर्लान् ?

पूर्वएकताकेन्द्र समूहकै नेताहरुले प्रचण्डको लाइनमा असहमति जनाउँदै नयाँ विचार संघर्षको तयारी थाले पनि यसमा पार्टी उपाध्यक्ष एवं पूर्वएकताकेन्द्रका नेता नारायणकाजी अहिलेसम्म संलग्न छैनन् ।

यसअघि सोल्टी होटलमा आयोजना गरिएको गुटको भेलामा पनि नारायणकाजी श्रेष्ठ र गिरीराजमणि पोखरेल सहभागी भएका थिएनन् । यस पालिको बैठकमा पनि पूर्व एकताकेन्द्रका नेताहरुले नारायणकाजीलाई आफ्नो टीममा राख्ने/नराख्ने स्पष्ट भइसकेको छैन ।

त्यसैगरी डा. बाबुराम भट्टराई समूहका युवा नेता हेमराज भण्डारी पनि नयाँ शक्तितिर नलागी एमाओवादीमै छन् । त्यस्तै भट्टराई समूहका भनिएका देवी खड्का लगायतका नेताहरु पनि एमाओवादीमै छन् ।

अब हुने बैठकमा भण्डारीले प्रचण्डलाई साथ दिन्छन् या पूर्व एकताकेन्द्रतिर लाग्छन् भन्ने अझै स्पष्ट हुन सकेको छैन । स्रोतका अनुसार पूर्वसभासद भण्डारी समेत पूर्व एकताकेन्द्र समूहलेजस्तै केन्द्रीय समितिको बैठकमा लिखितरुपमा आफ्नो विचार दर्ता गराउने पक्षमा छन् ।

प्रचण्ड दस्ताबेज लेख्दै

एमाओवादी अध्यक्ष प्रचण्ड ललितपुरस्थित एक पार्टी नेताको घरमा गएर दस्ताबेज लेखिरहेका छन् । स्वकीय सचिव चूडामणि खड्काका अनुसार प्रचण्ड विहानै सातबजे नै त्यहाँ जाने र साँझ ७ बजे मात्र फर्कने गरेका छन् । दस्ताबेज लेख्न बसेपछि उनले राजनीतिक भेटवार्ता समेत धेरै गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment