Comments Add Comment

अमेरिकामा टाउको दुखाई नै तीस बर्षे घर किस्ता ?

विजय थापा, वाशिंगटन डिसी 
 
अमेरिका जाने विश्वका हरेक व्यक्तिको सपना हुन्छ l सपनाको संसार अमेरिका पुग्ने मृग तृष्णा हृदय भित्र बास गरेको हुन्छ l सबैभन्दा ज्यादा अप्रवासीहरुको घुईचो भएको देश अमेरिका l अन्य देश गए मातृभूमि फर्कने तर अमेरिका पुगे नफर्कने ज्यादा सम्भावना हुन्छ l
 
bijaya-thapaअमेरिका छिर्न गार्हो तर छिरेपछि फुत्कन गाह्रो l न्युनतम मानिस अमेरिकाबाट मातृभूमि फर्कने आंकडाले देखाएको छ l अमेरिकाको चुम्बकीय शक्तिले आफू तिर तान्दछ l अमेरिकाले मोहनी लगाई दिन्छ l अमेरिका आउनु नै सबै भन्दा भाग्यशाली l 
 
त्यस्मा पनि अमेरिका आएको केहि बर्षमा नै घर किन्ने अवसर पाउनु त्यो अझ ठूलो सौभाग्यशाली l मातृभूमिमा एउटा घरसम्म जोड्न नसक्ने मानिसले अमेरिकामा चन्द्रमा दाहिने हुनासाथ घर किन्ने देखिएको छ l
 
अमेरिका जस्तो मुलुकमा एक आनादेखि पाँच आना, एक धुरदेखि या ५ धुर जग्गा भएको घरमात्र हैन करोडौको घर किन्ने क्षमता राख्दछन् l आँटेपछि नेपालीले घर किनी छाड्दछन् l
 
अमेरिकामा घर किन्नेहरुले अधिकांस रुपमा नेपालमा आफ्नो घर बेचबिखन गरी यता लगानी गरेको पनि देखिन्छ l ज्यादाभन्दा ज्यादा यसरी अमेरिकामा घर किन्दा अग्रिमरुपमा बुझाउनुपर्ने रकम उताबाट भित्र्याएको पैसाले ठूलो भूमिका निर्वाह गर्दछ l
 
अमेरिका आउने सपना बोकेर हिँडेका नेपालीहरुले परदेशमा आएर घर किन्नु चानचुने कुरा कदापी हैन l छिटो समयमा आर्थिक पक्षमा अमेरिकामा निकै ठूलो फड्को हान्ने नेपाली प्रसस्त भेटिन्छन् l सबै कुरा सरल रुपमा उधारोमा पाइने भएकाले सपरिवार नै काम गर्ने परिपाटी भएकोले किस्ताबन्दि घर पाउन कठिन हुँदैन अमेरिकामा l
 
आफ्नो गौरव या ख्याती (क्रेडिट) राम्रो बनाएपछि जे पनि किन्न सकिन्छ अमेरिकामा l अमेरिकामा घर किनेपछि मानिस मख्ख हुन्छन् l सदैब औँसीको रात जस्तो अनुहार लगाउने पनि घर किनेपछि पनि पूर्णिमाको रात झैँ देखिन्छन् l
 
सपरिवारको सन्तुष्ट देखिन्छन् l घर किनेपछि मानिसमा एक प्रकारको चमक आउँदछ l घरले मधुर मुस्कान ल्याई दिन्छ l घर किनेपछि मानिसमा मुसुमुसु हाँसेको देखिन्छ l
 
घर खरिद गरेपछि अमेरिकाले जापानमा अणु बम (बारुद) हाने झैँ गर्व भएको महसुस गर्दछन् l कहिले नहाँस्ने मानिस पनि बत्तिसे देखाई हाँसेको देखिन्छ l घर किनेपछि खितिति हाँस्ने पनि गर्दछन् l हिँड्दा पनि यताउति हेर्दै मुस्कान देखिनाले घर नै किनेकाले हर्षित भएको भान हुन्छ l
 
घर किनेपछि कुम्भकर्ण झैँ सुतेर दिनचर्या बिताउने पनि हुन्छन् l घर भएपछि दंग, प्रफुल्ल, रमाईलो, अन्तरआत्मा नै खुसी र फुर्ति नै अर्को हुन्छ l
 
सबैभन्दा दु:ख र नराम्रो चाही घर किनेपछि हरेक महिना दिनुपर्ने किस्ताबन्दि l यो किस्ताबन्दी नआई दिएको भए पनि हुन्थ्यो जस्तो गर्न पनि मन लाग्दछ l ३० बर्षसम्म यमराजको ऋण लिएपछि नतिरेसम्म सुख नै नपाइने बस्तुको नाम नै हो-तीन दशके किस्ताबन्दि l
 
लुकेर नतिर्दा हुने भए मानिस भगवान रामले झैँ १४ बर्षको बनबास पनि जान्थे होलान् l तर त्यसो गर्न पाइँदैन l अल्मलाउन पाइने भए मानिस बेपत्ता पनि हुने थिए होलान् l पानी मुनि पनि यसले नछोड्ने भएकाले नतिरी धरै पाइँदैन l
 
जीवनभर यहि ३० बर्षे तिर्दा तिर्दा कपाल फुल्ने, दात फ़ुक्लने, चिनी रोग, रक्तचाप तथा अन्य रोगले ग्रस्त पारे पनि च्यापु सम्म लिएको ऋण भुक्तानी नगरी सुख नै पाइदैन l धेरै बर्ष सम्म तिर्दा तिर्दा कति तिर्नु परेको भनि आफैलाई प्रश्न पनि गर्न मन लाग्दछ l
 
कसैले यो ऋण तिरे पनि जिन्दगी भर सेवा गरेर बस्ने थिए भन्ने पनि मनमा कुरा खेल्दछन्र l दुई चार सय र दुई चार लाखको कुरा हैन करोडको सवाल हुन्छ l कसले यो भीमकाय ऋण फच्चे गर्ने तागत ? घर किन्दा र घरको चाबी हातले समाउदा दंग पर्ने मानिस ऋणी भै तीन दशकसम्म तिर्दा-तिर्दा कायल भएर काशी जान पाए हुन्थ्यो भनि पनि परिकल्पना गर्दा हुन् l
 
ऋणको भर ज्यादा भएर तिर्न नसक्दा पशुपतिनाथ या अन्य धार्मिक तिर्थस्थल जान पाए पनि हुन्थ्यो भनि पनि सोच पनि आउँदो हो  l आफ्ना सन्तानलाई ऋणको बोझ बोकाई मातृभूमि फर्कने सोचाई पनि कहिलेकाँही मनमा आउँदछ l
 
अन्य कुराले छोडे पनि ज्याद्रो ३० बर्षे किस्ताबन्दिले मानिसलाई निन्द्राहराम गराईदिएको छ l कालले छोडे पनि यो ३० बर्षे ऋणले ढोका ढकढकाउन कहिले नछाडेकाले मानिस तंग र आजित भएका छन् l
 
कुन पूर्वजन्मको साहुको ऋण खाइएछ भनि ३० बर्षे किस्ताबन्दी घाडो हुन थालेको छ l घोक्राएर डाँडा कटाउन सकिने भए ३० बर्षे  ऋणलाई उहिले ठेगानमा ल्याइने थियो l
 
तर एक महिना मात्र भुक्तानी नगरे उल्टो यसैले ठेगाना लगाई दिने हुनाले हात खुट्टा कुजीएर बस्नु बाध्यता छ किनभने ऋण तिर्छु भनि ऋण काढेको छ l अनि घाडो र टाउको दुखाई भन्ने नै सवाल भएन l
 
आधा यौवन बिताएर भए पनि ऋण सधाउनु परेको छ l सिस्नोभन्दा पनि पोल्ने ३० बर्षे किस्ताबन्दिले शरीरलाई पोल्ने बनाई दिएको छ l
 
अमेरिकामा जागिरको अनिश्चितता भएकाले ३० बर्षे किस्ताबन्दि झन् निल्नु न ओकल्नु भएको छ l ३० बर्षे किस्ताले मिनाहा गर्न मान्दैन र जान्दैन l जसरि भए पनि किस्ता ल्याउ भन्दछ l बुझाऊ या आत्मसमर्पण गर भन्दछ  l तिर्न नसके घर छोड भन्दछ l निर्दयी र कठोर यो ३० बर्षे किस्ताबन्दीले लाखौँ घर परिवार उजाड बनाइदिएको छ l
 
अमेरिकाले सबैलाई भौतिक सुख सुबिधा दिए पनि यहि यमराज तीस बर्षे घर किस्ताले ईन्तु न चिन्तु बनाइदिएको छ l परिवार र सन्तानले भन्दा यहि ३० बर्षे घरको किस्ताले घर किन्ने सबैलाई बिनाबित्थाको टाउको दुखाई बनाई दिएको छ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment