Comments Add Comment

नाकाबन्दी हटाउन व्यवसायिक मध्यस्थता आवश्यक

अशोक शेरचन

केही महिनादेखि नेपाल छिमेकी देश भारतको अर्धघोषित नाकाबन्दीको मारबाट पीडित छ । नेपाली जनताका दिनचर्या हिजोआज मट्टीतेल, पेट्रोल, डिजेल र ग्यासको अभावका गन्थनबाट शुरु भई भारतको सत्तोसराप संगै अन्त्य हुने गरेको छ ।

Nepal-India

नेपाल र नेपालीको बहुप्रतिक्षित संविधानको घोषणासँगै भारतको रवैयामा एकाएक परिवर्तन देखापर्‍यो । नेपालीहरुले हर्षोल्लास र दिपावलीसंगै खुशीहरु साटफेर गरिनसक्दै छिमेकी देश भारतबाट गरिएको अप्रत्याशित नाकाबन्दीका कारणले असमन्ज्स्यताको परिस्थिति आजपर्यन्त व्यहोरिरहेका छन् । भारतले अपनाएको नीतिका कारणहरुबारे सरकारी तवरबाट कुनै पनि किसिमको जानकारी आम जनतालाई गराइएको छैन ।

सरकारमा प्रतिनिधित्व गरिरहेका प्रतिनिधिहरुका बिचारहरु सुन्दा बैचारिक र कुटनीतिक दरिद्रताको चरम कमजोरी महशूस गर्न सकिन्छ । आमजनता बीच बिभिन्न तर्क र तर्कनाहरुले चर्चा परिचर्चा पाईरहेकाछन । कोही नेपालै खान खोज्दैछ भन्छन्, कोही खोलानाल माग्यो भन्छन, कोही तराई माग्यो भन्छन, कोही हिन्दू धर्म माग्यो भन्छन्, कोही के कोही के, हुदाँ हुदाँ देशकै प्रधानमन्त्री भारतले खोजेको के भन्दैछन् , देश र जनताको अहिलेको स्थितिप्रति कोही जिम्मेवार देखिएका छैनन् ।

छिमेकी भारत चुपचाप कानमा तेल हालेर, एउटा स्वतन्त्र र स्वाधिन देशको आन्तरिक मामलामा असहमती राख्दै सर्वाङ्ग नांङ्गो नाच नाचीरहेको छ । सहज अवस्थामा मानव अधिकार, स्वतन्त्रता र शान्तीका चर्को वकालत गर्ने देशी र बिदेशी व्यक्ति र संस्थाहरुको बर्तमानमा कुनै अस्तित्व देखिँदैन ।

यूरोप, अमेरिका लगायतका पश्चिमा देशहरु जस्ले आफुलाई मानवता र स्वतन्त्रताका सवैभन्दा ठूलो हिमायतीको रुपमा प्रस्तुत गर्ने गर्दछन तिन्को छुद्रता पनि अहिलेको अवस्थामा उदेक लाग्दो देखिन्छ । संविधानमा सवैभन्दा बिबादित विषय संघीयताको सूत्रधार मानिने यी पश्चिमाहरुको मूर्दाशान्तिबाट हामीले भविष्यका लागि धेरै कुरा सिक्न सक्दछौं । आम नेपाली देशले भोग्नुपरिरहेको अवस्थाका कारणले आहत छन्, राष्ट्रियतालाई बलियो देखाउनका लागि आधा पेटमै बाँच्न खोज्दैछन, कैयांै सुविधाहरुलाई तिलान्जली दिने प्रण गर्दैछन, तर के सरकारले देश र जनतालाई अहिलेको अवस्थाबाट पार लगाउन सक्छ त ?

देशलाई सक्षम, आत्मनिर्भर र स्वाधिन राख्न सक्छ त ? अहिलेको टडकारो प्रश्न भनेको यही हो, होइन राजनैतिक लाभका खातिर लिईएका अस्थायी अडान र कमजोर धरातलमा उभिएका खोक्रा नाराहरु हुनभने समयमै आमजनता र देशलाई अध्यारोमा नराखी उचित निर्णय लिनु बुद्धिमानी ठर्हदछ ।

Ashok-Serchan_ceo_prabhu-ba
अशोक शेरचन

अहिलेको परिस्थिति भारतले मधेस र मधेसीहरुको हितकालागी पक्कै सिर्जना गरेको होइन । किनकि मधेस जस्ता भूभाग र मधेशी जस्ता जनता भारतमा प्रशस्त छन ।

नेपालसँग सीमाना जोडिएका बिहार र उत्तर प्रदेश भारतका लागि सबै दृष्टिकोणबाट समस्याग्रस्त प्रदेशहरु हुन् । न त उपेन्द्र, राजेन्द्र, महन्त जस्ता नेताहरुनै भारतको चासोका विषय हुन् । भारतका लागी यी पात्रहरुको महत्व ग्राम पचायतका सदस्यहरुको जत्तिको पनि छैन ।

बर्तमानमा बिश्वलाई चलायमान राख्ने मुख्य शक्तिकारुपमा राजनैतिक भन्दा पनि आर्थिक शक्तिलाई लिने गरिन्छ । चीनको जति बिरोध गरे पनि चीनको आर्थिक क्षेत्रमा आउने परिवर्तनले सधै अमेरिकालाई तर्साइराख्छ ।

यूरोपले आफ्ना देशमा चीनलाई लगानीका लागी सधै रातो कार्पेटले स्वागत गर्ने गर्दछ । अन्य महादेशका राष्ट्रहरुको पनि त्यही हाल छ । बर्तमानमा भारतले पनि बिश्व व्यापारमा त्यस्तै किसिमको स्थान बनाउँदै गएको छ । यिनको बिश्वका ठूला राष्ट्रहरुसंगको व्यापारको अंशका कारणले यिन्ले आफ्ना छिमेकीहरु माथि गर्ने थिचोमिचोका सन्दर्भमा सवै ठूला राष्ट्रहरुले तै चुप, मै चुपको नीति अपनाउने गरेका छन । यस्को पछिल्लो उदाहरणकोरुपमा बेलायती र भारतीय प्रधानमन्त्रीको संयुक्त बिज्ञप्तिलाई लिन सकिन्छ ।

यसैले हामीले नेपालभित्र र बाहिर जतिसकै कोलाहल मच्चाए पनि भारतले नचाहेसम्म अहिलेको अवस्था कायमै रहन्छ । साना तथा गरिव मूलुकका आवाजहरुको कहिँ कतै सुनुवाइ हुँदैन । यसैले भारतले अहिले सिर्जना गरेको परिस्थितिको समाधानका लागि सरकार प्रमुखबाट नै प्रक्रिया थालनी गर्नु जरुरी देखिन्छ । किनकि भारतका सरकार प्रमुखले त प्रक्रियाको थालनी पक्कै गर्ने छैनन् ।

सामाजिक सञ्जालमा बग्रेल्ती देखिने भारत बिरोधी सन्देश, समाचारहरुमा छरपस्ट भेटिने नकारात्मक समाचार, पदमा रहेका र नरहेका राजनैतिक र गैरराजनैतिक व्यक्तित्वहरुबाट पे्रषित गरिने बिचारहरुका कारणले परिस्थिति झनै बिग्रँदै गईरहेको छ ।

देशका सम्पूर्ण क्षेत्रहरु बिस्तारै अपाङ्ग र अपाहिज बन्दै गइरहेका छन । आम मानिसको दिनचर्या सकसपूर्ण र बिकराल बन्दै गइरहेको छ । राष्ट्रियता र राष्ट्रवादका आवाज मलिन र मसिनो हुदैछन । अहिलेको समय राजनेता र कर्मचारीले विगतमा देखाएको अदूरदर्शितालाई दोष लगाउदै बस्ने पनि छैन । यसैले अहिले सरकार प्रमुखको हैसियतले दूरदर्शी राजनेताकारुपमा रिसाएको छिमेकीसँग वार्ता प्रारम्भ गर्नु बुद्धिमत्ता ठहर्छ ।

छिमेकीको स्वभाव विशुद्ध व्यापारिक देखिएकाले शालीनता सँगसँगै व्यवसायिकताको परिचय दिँदै देश र जनताको हितलाई ध्यानमा राखी उचित र उत्तम निर्णय लिन ढीला गर्नुहुँदैन ।

(शेरचन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment