Comments Add Comment

मधेसी मोर्चाका नेताले भने-आन्दोलनलाई भारतसँग नजोडौं

Madhesi-Morcha-leaders

ध्रुव भट्टराई

१३ मंसिर, विराटनगर । संयुक्त मधेसी मोर्चाका शीर्ष नेताहरुले सरकारी वार्तालाई नाटकको संज्ञा दिएका छन् । वार्ताकालागि बोलाउने तर बिषयमा प्रवेश नै नगरी अलमल्याउने सरकारको प्रवृत्तिलाई उनीहरुले नाटकको संज्ञा दिएका हुन् ।

विराटनगरमा आज आयोजित विरोध सभालाई सम्वोधन गर्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वार्ताबाटै समस्या समाधान गर्न सकिने भएपनि सरकारले गम्भिररुपमा नलिएको आरोप लगाए । उनले भने ‘सरकार गम्भीर भए वार्ताबाट नै सीमांकन, निर्वाचन क्षेत्र निर्धारण तथा समानुपातिक समावेशी प्रतिनिधित्वको मुद्दा टुंगिन सक्छ तर सरकार गम्भीर देखिएन ।’

उनले सरकार वार्ताप्रति गम्भीर नभएसम्म र अधिकार नपाएसम्म हामी आन्दोलन नरोक्ने स्पष्ट पारे ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलन कुनै जातीको विरुद्धमा लक्षित नभएको भन्दै अधिकारकालागि मधेसीहरु लडिरहेको बताए । उनले महिनौं आन्दोलन गर्दापनि समस्या समाधान गर्न सरकार तत्पर नभएपछि काठमाडौंको दानापानी बन्द गर्न सीमा नाकामा पुगेर नाकाबन्दी गरेको बताए ।

कार्यक्रममा मोर्चाका नेता महेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ला, संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङदेन लगायतका नेताहरुले सम्वोधन गरेका थिए । उनीहरुले औपचारिक र अनौपचारिक रुपमा विभिन्न वार्तामा बस्दा पनि मधेसका मुद्दालाई सम्वोधन गर्नुको साटो कमजोर पार्ने काम गरेको आरोप लगाए । उनीहरुले समस्या समाधान गर्न वार्ताको कुनै विकल्प नरहेको भन्दै मधेस आन्दोलनलाई भारतसँग नजोड्न आग्रह गरेका थिए ।

मोर्चाको कार्यक्रममा सहभागि हुन पूर्वी मोरङको रंगेली तथा विराटनगर आसपासबाट ट्रक र ट्याक्टरबाट मानिसहरुलाई ओसारिएको थियो । एक सय चार दिनदेखि बन्द गरेर आन्दोलनरत मोर्चाले यसअघि सुनसरीको इटहरीमा गर्न लागिएको विरोध सभा स्थानीयको प्रतिकारपछि स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment