Comments Add Comment

खाली सिलिन्डर सडकभरि, भरिएका बुलेट सीमापारि

Gas Line (2)

  • फाइल तस्वीर

१४ मंसिर, काठमाडौं । भारतबाट ग्यासका बुलेटहरु आउन लगभग बन्द भएको भन्दै काठमाडौंमा ग्यास सिलिन्डरको बिक्री-वितरण रोकिएको छ ।

काठमाडौंमा धेरै उपभोक्ता भएका उद्योगहरुका ग्यास बुलेट नाका पारि नै रोकिएपछि अब ग्यासको वितरण फेरि कहिले सुरु हुन्छ भन्ने अनिश्चित भएको हो ।

डिपोहरुबाट ग्यास वितरण रोकिएको एक हप्ता हुन लागेको छ । जसका कारण ग्यास डिपोहरुमा उपभोक्ताको लाइन दिनहुँ बढ्दैछ ।

दुई दिनअघि बिराटनगरबाट नेपाल छिरेका २३ बुलेट ग्यास पनि अधिकांश पूर्वक्षेत्रमा केन्द्रित उद्योगका लागि आएको आयल निगमका स्थापना भएको ग्यास कन्ट्रोल रुमका संयोजक तथा वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्वासेले बताए ।

‘सुगम, कोसी र मारुतीलगायत उद्योगले अबको ३/४ दिनमा केही सिलिन्डर बजारमा ल्याउँछन् । त्यस बाहेकका ग्यास तत्काल वितरण सुरु हुने अवस्था छैन’ निर्देशक बेल्वासले भने- ‘पछिल्ला समयमा छिरेका बुलेट प्रायः पूर्वका उद्योगका छन् । त्यसैले तत्काल काठमाडौंमा ग्यासका सिलिन्डर बाँड्न सकिँदैन ।’

मुख्य ग्यास आइरेहको सुनौली नाकामा नै भारतीय पक्षको अवरोध छ । त्यसैकारण त्यहाँ झण्डै ८० भन्दा बढी ग्यास बुलेट अलपत्र परेका छन् ।

सुनौलीमा रि-रुट गरिएका ग्यास पनि भारतले रोकेको छ । धेरैजसो भैरहवाबाट आउने ग्यास बुलेट नै काठमाडौं आउने गरेका छन् । वीरगञ्जमा २ सय ८ बुलेट ग्यास रोकिएको अढाइ महिना भइसकेको छ ।

‘हजारौं उपभोक्ता लाइनमा छन् । उद्योगमा बल्ल-बल्ल एक बुलेट ग्यास आउँछ । त्यति भरेर बजारमा ल्याउँदा छोप पनि लाग्दैन’ निर्देशक बेल्बासेले भने ।

त्यसलाई सम्बोधन गर्न भन्दै ग्यास उद्योगीले नयाँ योजना बनाएका छन् ।

उद्योगहरुले कमसेकम २ बुलेट ग्यास आएपछि एकैपटक ५ हजार सिलिन्डर बजारमा ल्याउने भनेर जानकारी गराएको बेल्वासेले बताए ।

यसले उपभोक्तालाई राहत दिने ग्यास उद्योगीको दावी छ । अहिले सरकारले आधा सिलिन्डर ग्यास भरेर मात्रै बेच्नुपर्ने नियम लगाएको छ ।

एक बुलेट ग्यासबाट झण्डै २५ सय ५० वटा सिलिन्डर भर्ने गरिएको छ । जसलाई उपभोक्ताले ७ सय रुपैयाँ तिरेर किन्न सक्छन् ।

तर, ग्यास पर्याप्त नआएपछि ग्यासका लागि महिनौं लाइन बस्दा पनि उपभोक्ताले ग्यास पाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment