Comments Add Comment

मुस्ताङका किसानले पशुको बिमा गर्न थाले

१४ मंसिर, मुस्ताङ । हिमाली जिल्ला मुस्ताङका किसानले धमाधम पशुचौपायाको बिमा गर्न थालेका छन् । सरकारले बिमाका लागि प्रोत्साहन गरेपछि वर्षभरि हुने जोखिम न्यूनीकरणका लागि किसान यसप्रति आकर्षित हुन थालेका हुन् ।

जिल्ला पशुसेवा कार्यालय र प्रभू इन्स्योरेन्स, मुस्ताङ शाखाको सहकार्यमा पशु बिमा कार्यक्रम सुरु गरिएको वरिष्ठ पशु चिकित्सक नन्दलाल वर्माले जानकारी दिनुभयो । दुईवर्षअघि नै कार्यक्रम लागू भए पनि किसानसमक्ष पर्याप्त चेतना पुग्न नसक्दा एकजनाले पनि बिमा गरेका थिएनन् ।

‘जिल्लामा पशुपालन गर्ने किसान धेरै हुनुहुन्छ, उनीहरुले विस्तारै यसको महत्व बुझ्दै जानुभएको छ’- पशुसेवा कार्यालयका प्रमुखसमेत रहनुभएका वर्माले भने- ‘एक वर्षदेखिको व्यापक कार्यक्रमपछि अहिले किसान यसप्रति आकर्षित हुँदै गएका छन् ।’

सरकार र बिमा कम्पनीले निर्धारण गरेको मूल्यमा किसानले बाख्रा, भेडाच्याङ्ग्रा, चौँरी, गाईभैँसी, याकलगायतका पशु चौपायाको बिमा गर्न सकिने प्रावधान छ । पशुचौपायाको बजार मूल्य निर्धारण गरी कुल मूल्यको पाँच प्रतिशत रकममध्ये ७५ प्रतिशत सरकार र २५ प्रतिशत पशुधनीले व्यहोर्नुपर्ने व्यवस्था रहेको प्रमुख वर्माले जानकारी दिए ।

जिल्लामा अहिलेसम्म तीनजना बाख्रापालक किसानले ६० वटा बाख्रीको बिमा गरिसकेको प्रभु इन्स्योरेन्सका कार्यालय सहायक सुविल थकालीले जानकारी दिए । ‘जिल्लामा किसानले यो कार्यक्रमप्रति निकै चासो देखाएका छन्, यससम्बन्धी जिज्ञासा लिएर आउने धेरै भएका छन्’  – कार्यालय सहायक थकालीले भने- ‘वर्षभरिको जोखिम न्यूनीकरण गर्ने भएकाले पनि किसान उत्साहित छन् ।’

बिमा कम्पनीले खसीलाई रु १७ हजार, बाख्रीको रु आठ हजार बजारमूल्य तोकेको जानकारी दिए । जिल्लामा हिमपात र चिसोका कारण बर्सेनि सयौँ भेडाच्याङ्ग्रा र पशुचौपाया मर्ने भएकाले पनि बिमा कार्यक्रम प्रभावकारी हुने पशुसेवा कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment