Comments Add Comment

करिव ७ लाख ठग्नेलाई प्रहरीले साधारण कागजमा छाड्यो

नवराज पथिक
१४ मंसिर, रामेछाप । विदेश पठाइदिने भन्दै सर्वसाधारणसँग करिव ७ लाख रुपैयाँ ठगि गर्ने एकजना दलाललाई प्रहरीले सामान्य कागज गरेर छाडिदिएको छ । इलाका प्रहरी कार्यालय धोवीले नागदह गाविसका ६ जना युवासँग ६ लाख ८० हजार रुपैयाँ ठगि गर्ने नागदह गाविस ७ का अमृतलाल तामाङलाई सामान्य कागज गरेर छाडेको हो ।

स्थानीय रिटर्निङ भोलेन्टियर खम्बलाल तमाङका अनुसार नागदह गाविस-४ का ६ जना युवाहरुलाई उनले रोजगारीको लागि मलेशिया पठाइदिने भन्दै एक वर्ष अघिदेखि पटक-पटक पैसा असुुल गरेका थिए । मलेसिया जान लाग्नेभन्दा पनि बढी पैसा लिए पनि उनले ती युवाहरुलाई रोजगारीको लागि विदेश नपठाएपछि स्थानीयले उनलाई समातेर प्रहरी चौकी धोवीको जिम्मा लगाएका थिए । प्रहरीले आरोपीलाई २ दिनसम्म इलाका प्रहरी कार्यालयमा राखेर सामान्य कागज गराई छाडेको छ ।

तामाङले नागदह गाविस-४ का निङमा तामाङ, विशाल तामाङ, गिरीमान तामाङ, सोमे तामाङ, वुद्ध तामाङ र तिले तामाङसँग पटकपटक गरी ९५ हजारदेखि १ लाख ३० हजार रुपैयाँसम्म असुल गरेका थिए । उनले ती युवासँग ११ महिना अघिदेखि विदेश पठाउने भन्दै किस्ता-किस्तामा पैसा लिएका थिए । मलेसिया जानको लागि अधिकतम ८० हजार रुपैयाँ लाग्ने भए पनि उनले ती युवालाई १ लाख ५० हजार रुपैयाँ लाग्छ भन्दै पैसा असुल गरेको समेत खुलेको छ ।

पछिल्लो पटक उनले ती युवाहरुसँग थप २० हजार रुपैयाँका दरले पैसा मागेपछि उनीहरुले पैसा लिन उनलाई गाउँमा नै बोलाएका थिए । थप पैसा उठाउन गाउँमा आएका उनलाई स्थानीयले नियन्त्रणमा लिई शनिबार प्रहरी चौकी धोवीमा बुझाएका थिए ।

प्रहरीले आरोपीलाई सोधपुछ गर्दा उनले पैसा लिएको स्विकार गरेका तामाङले बताए । उनले ठगि गरेको स्विकारे पनि प्रहरीले एक हप्ता भित्र विदेश पठाउने वा उनीहरुसँग लिएको पैसा फिर्ता गर्ने सामान्य कागज गराएर छाडेको छ । उनले आफ्नै वैदेशिक रोजगार कम्पनि भएको बताएका भए पनि त्यसको प्रमाण देखाउन सकेनन् । उनी रोजगार कम्पनिका सञ्चालक नभई दलाल भएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment