Comments Add Comment

विमानस्थलमा मन्त्री र सचिवको प्रश्न: छानामा हरियो झार उमार्ने ?

Aananda pokhreal (1)

१४ मंसिर, काठमाडौं । पर्यटनमन्त्री र पर्यटन सचिवसहितको टोली सोमबार त्रिभुवन विमानस्थल पुगे र कर्मचारीहरुलाई सके काम गर्ने र नकसे सरुवा हुन चेतावनी दिए ।

आफूहरुले टावरमा चढेर हेर्दा विमानस्थल कार्यालयको छानामा पाइपका टुक्रा, खाली बोतल र हरियो झार उमि्रएको पाइएको भन्दै पर्यटन सचिव दिनेशकुमार थपलियाले कर्मचारीहरुसँग आक्रोस पोखे । उनले भने- ‘छानामा हरियो झार उमार्ने हो भने भुइँ किन चाहियो ?

विमानस्थलमा ट्वाइलेट सफा गर्नेहरुले सफा गरिदिएको भए मन्त्रालयबाट सचिवले बारम्बार निरीक्षण गर्न आउनै नपर्ने थपलियाले बताए । कर्मचारीहरुले कुनै पनि बाहना बनाएर उम्किन नपाउने बताउँदै आफ्नो जिम्मेवारी पूर्णरुपमा निभाउन उनले निर्देशन दिए ।

‘हामी पूर्वजानकारी दिएर आएको भए त तपाईहरुले सफा पारिहाल्नुहुन्थ्यो नि,’ मन्त्री आनन्दप्रसाद पोखरेलसँगै विमानस्थल पुगेका यसअघि छड्के जाँचमा आउनुको कारण बताउँदै कर्मचारीहरुलाई भने, ‘यही भएर अस्ति हामी सुटुक्क निरीक्षणमा आएका हौं ।’

सके काम गर्ने, नत्र सरुवा

नेपाल एयरलाइन्सका कर्मचारीले विमानस्थलको पूर्वाधार विकास नहुँदासम्म समस्या यथावत रहिरहने बताएपछि सचिव थपलियाले बाहनाबाजी गरेर आफ्नो जिम्मेवारीबाट उम्किन नपाइने स्पष्ट पारे ।

‘आफुले गर्न सक्ने सानातिना कामसमेत नगर्ने, अनि यस्तो भएन र उस्तो भएन भन्ने ?’ सचिव थपलियाले भने- ‘जिम्मेवार निकायमा बसेपछि जिम्मेवार भएर काम गर्नुपर्छ, यदि काम गर्न सकिँदैन भने भन्नुस, हामीले थोरै काम गरे पनि पुग्ने ठाउँ खोजेर स-सम्मान सरुवा गरिदिन्छौं ।’

विमानस्थल सुधारको प्रकृया प्रारम्भ भएको बताउँदै सचिव थपलियाले सुधार गर्नुपर्ने धेरै काम भएकाले दत्तचित्त भएर लाग्न सरोकारवाला निकायलाई निर्देशन दिए । ‘विमानस्थलको सेवा, सुविधा, सरसफाइ, कर्मचारीको व्यवहारमा परिवर्तन आयो कि आएन भनेर छड्के अनुगमन गरिरहन्छौं’ उनले भने- ‘त्योबेलामा जिम्मेवारी पूर्णरुपमा पालना भएको देखियोस् । आजको यो थालनीमात्रै हो ।’

भिडियो

सस्तो लोकपि्रयताका लागि सानो काममा विमानस्थलको अनुगमन गर्दै हिँडेको आरोपलाई खण्डन गर्दै सचिव थपलियाले भने- ‘यसरी अनुगमन गरेर हिँड्न बाध्य बनाएको तपाईहरुले हो, तपाईहरुले आफ्नो जिम्मेवारी पूर्णरुपमा निभाइदिएको भए यसरी अनुगमन गर्नुपर्ने थिएन, राम्रो काम गरेर गुनासो आउने बाटो बन्द गर्नुस्, हामी अनुगमनमै आउँदैनौं ।’

सचिव थपलियाले त्रिभुवन विमानस्थलमा सहजीकरण समिति र सुरक्षा समिति रहेको बताउँदै दुबै समितिको १५/१५ दिनमा बैठक बसी कार्यप्रगतिको समीक्षा गर्न निर्देशन दिए ।

‘आफ्नो कामको मूल्यांकन गरी आत्मसमीक्षा गर्नुहोस्, तपाईले आफ्नो जिम्मेवारी कत्तिको निभाउनुभएको छ, आफुले आफुलाई ढाँटेको छ कि छैन गम्भीर भएर सोच्नुहोस’ सचिव थपलियाले भने- ‘आफु सच्चिनुभयो भने ८० प्रतिशत समस्या तत्कालै समाधान हुन्छ ।’

जस्तो छ, त्यसैलाई राम्रो बनाउनोस्: मन्त्री पोखरेल

मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) को सेवा, सुविधा र सरसफाइप्रति पर्यटनमन्त्री पोखरेलले पनि तिब्र असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री पोखरेलले विमानस्थलको सुधारमा सबै सरोकारवाला पक्षहरु जिम्मेवार बन्नुपर्ने बताए । ‘त्रिभुवन विमानस्थलको सेवाप्रति सबैले गुनासो गरिरहेका छन्’ उनले भने- ‘अब कसैले पनि अरुलाई दोष दिएर उम्कन पाउँदैन, आफ्नो जिम्मेवारी सबैले पूर्णरुपमा निभाउनुपर्छ ।’

Dinesh Thapaliya

विमानस्थल मुलुकको अनुहार भएको बताउँदै मन्त्री पोखरेलले यस्तो संवेदनशील ठाउँमा कसैले पनि हेलचेक्र्याईं गर्न नपाइने स्प्ष्ट पारे । ‘जसरी हामीले ऐना हेरेर आफुलाई सिंगार पटार गर्छौं, त्यसरी नै विमानस्थललाई देशको मुहार सम्झिएर सरसफाई गर्नुपर्छ’ उनले भने ।

त्रिभुवन विमानस्थलमा कार्यरत कर्मचारीको व्यवहार र सरसफाइले समग्र नेपालको दृष्टिकोण झल्काउँछ, नेपाल आउने पर्यटकले सबैभन्दा पहिला त्रिभुवन विमानस्थल देखाएपछि मात्र लुम्बिनी, सगरमाथा, पोखरा, बसन्तपुर लगायत देख्ने हुँदा विमानस्थलको सेवा, सुविधा, सरफाइमा विशेष ध्यान दिन मन्त्री पोखरेलले निर्देशन दिए ।

मन्त्री पोखरेलले त्रिभुवन विमानस्थलको सुधारका लागि सरोकारवाला निकायबीच प्रत्येक ३/३ दिनमा बैठक बसेर कामको समीक्षा गर्नुपर्ने बताए । तालुक मन्त्रालयले हप्ताको एक पटक अनुगमन गरेर भए पनि त्रिभुवन विमानस्थल सुधार गर्नुपर्ने उनको भनाइ थियो ।

‘त्रिभुवन विमानस्थलको संरचना धेरै साँघुरो र पुरानो भइसकेको छ, यसको स्तरोन्नति भइरहेको छ, नयाँ विमानस्थल बनाउने काम पनि भइरहेको छ’ मन्त्री पोखरेलले भने- ‘अर्को विमानस्थल नबन्दासम्म यही भएको संरचनालाई व्यवस्थित गरेर सेवा चुस्त बनाउनुपर्छ । यो ठाउँ यस्तै छ भन्ने कुरा तपाईहरुलाई कामगर्न आउँदा नै थाहा थियो । जस्तो छ, त्यसलाई राम्रो पार्नुपर्छ ।’

अनुगमनमा पुगेका मन्त्री र सचिवको टोलीसमक्ष प्रस्तुत हुँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले त्रिभुवन विमानस्थलमा समस्या प्रशस्त भएको बताउँदै समाधानका लागि सम्बन्धित पक्षलाई निर्देशन दिए ।

विमानस्थलमा सेवा प्रदायकहरुबीच समन्वयको अभाव भएको बताउँदै उनले सबै पक्षबीच राम्रो समन्वय नहुँदासम्म सुधारको कामले गति लिन नसक्ने बताए ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवप्रसाद उपाध्यायले सुधार निरन्तर प्रकृया भएको बताउँदै निरन्तर सुधारमा लागेको बताए ।
‘आफु महाप्रबन्धक भएपछि विमानस्थलमा धेरै सफा भएको छ’ उनले भने- ‘तर, सरसफाइमा अत्यधिक खर्च गर्दासमेत अपेक्षित प्रतिफल हासिल हुन सकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment