Comments Add Comment

बालुवाटार वार्तामा कांग्रेसको प्रस्ताव अस्वीकृत, मधेसी मोर्चाद्वारा दमनको विरोध

Trio-Barta

१४ मंसिर, काठमाडौं । तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चासहितको त्रिपक्षीय वार्ता सीमांकनमा प्रवेश नै नगरी स्थगित भएको छ । अर्को वार्ता बुधबार हुने समझदारी भएको नेताहरुले बताएका छन् ।

पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीसहित भएको सत्तारुढ, प्रमुख प्रतिपक्षी र आन्दोलनकारी मधेसी मोर्चाबीच शीर्षस्तरमा वार्ता भएको थियो । तर, वार्ता कुनै ठोस एजेण्डामा नै प्रवेश गर्न सकेन ।

बालुवाटारमा भएको वार्तामा मधेसी मोर्चाले आन्दोलनमा दमन भएको भन्दै विरोध गरेको छ । बैठकको सुरुमा नै मधेसी मोर्चाका नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरले सरकारले दमन गरेको भन्दै विरोध गरे । उनले सरकारले दमन जारी राखे अर्को वार्ता हुन नसक्ने प्रष्ट सन्देश दिए ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले छिटो निकास खोज्न आग्रह गरे । नाकाबन्दी, दमन र राजनीतिक अकर्मन्यताका कारण देश वर्वाद हुने अवस्थामा पुगेको भन्दै उनले छिटो सहमति गर्नुपर्नेमा जोड दिए ।

कांग्रेसको संशोधन प्रस्ताव अस्वीकार्य

बैठकमा विपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफ्नो सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अघि बढाउन आग्रह गरेका थिए । ‘सुशीलजीले संशोधन प्रस्ताव अघि बढाऔं, सम्वाद गर्दै गरौंला भन्नुभएको थियो’ एक नेताले भने-‘तर, मधेसी मोर्चाका साथीहरुले अस्वीकार गर्नुभयो ।’

मधेसी मोर्चाले कांग्रेस सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव मान्य नहुने बताएको छ । आफूसँग सहमति नै नगरी संशोधन प्रस्ताव गर्दा गरेको र त्यसमा परिर्माजन आवश्यक रहेको मोर्चाले बताएको छ ।

प्रधानमन्त्री नरम

त्रिपक्षीय वार्तामा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कुनै अपि्रय कुरा नगरेको र सन्तुलितरुपमा प्रस्तुत भएको सहभागी एक नेताले बताएका छन् ।

लामो समयदेखि आन्दोलन गर्दा देश संकटमा परेको र जनताले पीडा भोगेको भन्दै अडान छाडेर देश र जनताको भलाइका लागि सोच्न प्रधानमन्त्रीले आग्रह गरे ।

बैठकबाट बाहिरिएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भने-‘हामीले देश र जनताका लागि राजनीति गरेका हौं, आ-आफ्ना अडान छोडौं र देशका लागि सोचौं ।’

प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका नेताहरुलाई आन्दोलन छाडेर देश पुनर्निर्माणमा लाग्न आग्रह गरे । आफू पनि समस्या समाधानका लागि तयार रहेको भन्दै उनले मधेसी मोर्चालाई सहमतिमा आउन आग्रह गरेका छन् ।

बैठकमा एमाले नेता माधवकुमार नेपालले सात प्रदेशको सीमांकन स्थगित गरेर भए पनि निकास दिनुपर्ने बताए । तर, यसबारे कुनै छलफल नै भएन ।

भोलि आन्तरिक गृहकार्य, पर्सि अर्को वार्ता

सीमांकनसहितका राजनीतिक एजेण्डामा प्रवेश नगरेपछि नेताहरु अर्को भाका राखेर उठेका छन् । नेताहरुका अनुसार भोलि मंगलबार आन्तरिक गृहकार्य गर्ने र पर्सि अर्को वार्ता गर्ने समझदारी भएको छ ।

सात प्रदेशको सीमांकनलगायत संविधानसँग सम्वन्धित माग राख्दै तराई मधेसमा आन्दोलन सुरु भएको सोमबार १०६ दिन पुगेको छ । मधेस आन्दोलनलाई देखाएर भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरेपछि इन्धनलगायत अत्यावश्यकीय वस्तुको आपूर्ति अवरुद्धजस्तै भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment