Comments Add Comment

भूकम्पपछि बन्द भएको माथिल्लो तामाकोशी आगामी हप्तादेखि सुरु हुने

Upper-Tamakoshi-Hydro

१५ मंसिर, काठमाडौं । गत बैशाखमा गएको भूकम्पका कारण निर्माण कार्य अवरुद्ध भएको ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजना आउँदो हप्तादेखि निर्माण सुरु हुने भएको छ । सरकारले जलविद्युत आयोजनाहरुलाई तेल उपलब्ध गराउने निर्णय गरेपछि तामाकोशीको काम अघि बढ्ने भएको हो ।

कूल लागत ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको तामाकोशी आयोजना नेपालीहरुको आफ्नै लगानीमा आर्थिक वर्ष ०६७/०६८ देखि निर्माणको सुरु भएको हो । बैसाखको भूकम्पपछि यो आयोजनाको काम रोकिएको छ ।

दसैंलगतै निर्माण थाल्ने कम्पनीको योजना भए पनि पेट्रोल र डिजेलको संकटका कारण निर्माण सुरु हुन सकेको थिएन । सरकारले आवश्यकताअनुसार पेट्रोलियम पदार्थको बन्दोबस्त गरिदिने प्रतिवद्धता गरेपछि आयोजना आगामी हप्तादेखि सुरु हुने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।

आयोजनालाई हप्तामा ५० हजार लिटर पेट्रोलियम पदार्थको आवश्यकता रहेको उनले बताए ।

‘पेट्रोलियम पदार्थको संकटका कारण आयोजना निर्माणको काम सुरु गर्न नसकिएको भन्दै पेट्रोलियम पदार्थको व्यवस्था मिलाउन उर्जा मन्त्रालयमा निवेदन दिएका थियौं’ न्यौपानेले भने- उर्जाले आपूर्ति मन्त्रालयलाई सिफारिस गर्‍यो र आपूर्ति मन्त्रालयले बुधबारसम्ममा उपलब्ध गराउने बचन दिएको छ ।’

आपूर्ति मन्त्रालयले जलविद्युत आयोजनाहरुलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउन नेपाल आयल निगमलाई निर्देशन दिइसकेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता शम्भुप्रसाद घिमिरेले बताए ।

‘हामीले तामाकोशी लगायतका जलविद्युत आयोजनाहरुलाई आवश्यकताअनुसार पेट्रोल/डिजेल उपलब्ध गराउने प्रतिवद्धता गरिसकेका छौ’ प्रवक्ता घिमिरेले अनलाइनखबरसँग भने- अब पेट्रोलियम पदार्थको अभावका कारण विद्युत आयोजनाहरुको निर्माण कार्य अवरोध हुने छैन ।’

सीधै आयल निगम गए हुन्छ

जलविद्युत आयोजनाहरुले सीधै आयल निगममा गएर आवश्यक पेट्रोलियम पदार्थ लिन सक्ने आपूर्ति मन्त्रालयका प्रवक्ता घिमिरेले बताए । ‘सबै आयोजनालाई पेट्रोलियम पदार्थ उपलब्ध गराउने प्रतिवद्धता गरिसकेका छौं, त्यसैले हामीकहाँ आइरहनुपर्दैन’, घिमिरेले भने, ‘सीधै आयल निगम गए तेल पाइन्छ ।’

एक वर्षपछि धकेलियो आयोजना

भूकम्प र पेट्रोलियम पदार्थका कारण तामाकोशी आयोजना कम्तीमा एक वर्षपछि धकेलिएको आयोजनाका प्रवक्ता न्यौपानेले बताए ।
‘सन् २०१६ को डिसेम्बरसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य थियो । तर, भूकम्प र पेट्रोलियम पदार्थको अभावका कारण आयोजना सम्पन्न हुने मिति कम्तिमा एक वर्ष पछि सरेको छ’ उनले भने- अबदेखि नियमतिरुपमा पेट्रोलियम पदार्थ पाउने हो भने २०१७ को डिसेम्बरसम्म आयोजना सम्पन्न गर्ने संसोधित लक्ष्य छ ।’

बैशाखसम्म आयोजनाको ७५ प्रतिशत काम सकिएको थियो । त्यसयता साढे ६ महिना निर्माण कार्य ठप्प भएको छ ।

न्यौपानेका अनुसार सिने हाइड्रोका केही सिनियर कन्सद्यट्यान्ट र आयोजनाका उच्च अधिकारीहरु यतिखेर आयोजनास्थलमै छन् ।
विद्युत गृह रहेको गोंगरदेखि सिंगटीसम्मको १७ किलोमिटरसम्मको बाटोमा यातायात सञ्चालन भइसकेको छ । गोंगरदेखि लामाबगरसम्मको १ किलोमिटरसम्म्को सडक अवरोध हटाउन बाँकी छ । भूकम्पका कारण त्यसक्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।

पेट्रोलियम पदार्थ पाए आगामी हप्तादेखि बाटो पीच गर्ने र विद्युतगृहमा कंकि्रट हाल्न थाल्ने न्यौपानेले बताए ।

भासिएको १७ इञ्चमा ग्राउटिङ गरिने

भूकम्पले आयोजनाको इन्टेक ब्लक १७ सेन्टिमिटर भासिएको थियो । विज्ञहरुले यो प्राविधिक समस्या भएको र प्राविधिक तवरबाटै समाधान गर्न सुझाएका थिए । जसअनुसार पेट्रोलियम पदार्थ पाउनेवित्तिक ड्रिलिङ (छेड्ने/खोप्ने) काम सुरु हुने प्रवक्ता न्यौपानेले बताए । ‘एक हप्ताभित्र डि्रलिङ गर्छौं र त्यसपछि ग्राउटिङ (सिमेन्टको झोल बनाएर जमिनमुनि पठाएर हाइ फोर्स गरी कृत्रिम बाँध बनाउने) काम गर्छौं,’ उनले भने ।

उर्जा उत्पादन सरकारको प्राथमिकता

देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले जलविद्युत आयोजनालाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका थिए । उनले एक वर्षमै लोडसेडिङ अन्त्य गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

त्यसैगरी, गत मंसिर ८ गते अर्थमन्त्री विष्णु पौडेलले सार्वजानिक गरेको श्वेतपत्रमा पनि उर्जा क्षेत्रमा विषेश जोड दिइएको छ । उर्जा संकट घोषणा गरी निर्माणधीन अवस्थामा रहेका जलविद्युत आयोजनाहरु तीब्र गतिमा अघि बढाउने श्वेतपत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै सरकारले केही दिनभित्रै उर्जा संकटको घोषणा गर्दैछ । एक वर्षभित्र २ सय मेगावाट सौर्य उर्जा र १ सय ५५ मेगावाट निजी प्रवर्द्धकद्धारा उत्पादित जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने सरकारी योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment