Comments Add Comment

सीमाविद् वुद्धिनारायण श्रेष्ठ भन्छन्- एसएसबी नियतवस नेपालभित्र घुस्दैछन्

Buddi-narayan-shrestha

१४ मंसिर, काठमाडौं । सीमाविद् वुद्धिनारायण श्रेष्ठले भारतीय सीमा सुरक्षा बल एसएसबीले नियतबस नेपाली सीमाभित्र घुसेर आतंक मच्चाउने काम गरिरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सीमा सिद्धान्त अनुसार बर्दी लगाएको प्रहरी अर्को देशको अनुमति बिना सीमाना काटेर आउन नसक्ने उनको भनाइ छ ।

एकसाताभित्र दुईपटक भारतीय एसएसबी हतियारसहित नेपाली सीमाभित्र पसेर आतंक मच्चाएको विषयमा श्रेष्ठले आपत्ति जनाएका हुन् ।
गत बुधबार सुनसरीको हरिपुर-७ मा आएर एसएसबिका जवानले चार मधेसी मूलका नेपालीमाथि गोली हानेका थिए ।

त्यसको चार दिनपछि आइतबार हतियारसहित नेपाल छिरेका १३ एसएसबि जवानलाई झापाको केचनाबाट सशस्त्र प्रहरीले प्रकाउ गरेको थियो । उनीहरुले आफूहरु भुलवस नेपाल पसेको भन्दै माफी मागेका थिए ।

‘यो अञ्जानमा गरिएको गल्ती होइन,’ सीमाविद् श्रेष्ठ भन्छन्, ‘उनीहरु जानीबुझिकन बारम्बार नेपाली भूमिभित्र पसिरहेका छन् । देशको सीमा सुरक्षाका लागि बसेका सुरक्षाकर्मी झुक्किएर नेपाली सीमाभित्र पसे भन्नु हास्यास्पद हो, त्यसमाथि केचनाको नाका पाँच कोस टाढाबाटै देखिन्छ ।’

पक्राउ परेका एसएसबीलाई बिनाकारवाही मुक्त गरेर नेपालले भूल गरेको श्रेष्ठको भनाइ छ । उनले भने, ‘सशस्त्र प्रहरीले दुई देशको सम्वन्ध थप नबिग्रियोस् भनेर उनीहरुलाई बिना कारवाही हस्तान्तरण गरेको हुन सक्छ । तर, सम्वन्ध सपार्ने जिम्मेवारी हाम्रो मात्रै होइन, उसले पटक-पटक गल्ती गर्छ र हामी पटक-पटक छुट दिन्छौं । यसपालि पाठ सिकाउने राम्रो अवसर थियो, तर हामी चुक्यौं ।’

श्रेष्ठले भने-अन्तर्राष्ट्रिय जेनेभा सन्धीअनुसार हामीले कारवाही गर्न सकिन्थ्यो । के नेपालको सुरक्षाकर्मीले हतियारसहित भारतीय भूमिमा पसेर आतंक मच्चाएको भए त्यसै छाड्थे ?’

सीमाविद श्रेष्ठका अनुसार एसएसबी नेपाली भूमिभित्र हतियारसहित पसेको अहिले मात्रै होइन । विगतमा २० औं पटक यस्ता घटना भएका छन् । एक दशक अगाडि काठमाडौंको थापाथलीसम्म आएर भारतीय सुरक्षाकर्मीले खानतलासी गरेका थिए ।’

अन्तर्राष्ट्रिय समुदायको द्वैध चरित्र

सीमाविद श्रेष्ठले नेपालमाथि भारतले लगाएको नाकाबन्दीको अन्तर्राष्ट्रिय जगतले अझै खुलेर विरोध गर्न नसकेको बताएका छन् । संयुक्त राष्ट्रसंघ, यूरोपेली यूनियनलगायतले नेपालको पारवहन अधिकारको पक्षमा बोले पनि यतिले नपुग्ने उनको भनाइ छ ।

‘उनीहरुले पारवहन अधिकारको कुरा गर्छन्, तर हरेकजसो विज्ञप्तिमा नेपालको आन्तरिक मामला राजनीतिक तवरबाट समाधान गर्नुपर्छ भन्ने सुझाव दिन पनि बिर्सदैनन् । नेपालको सरकार यसमा गैरराजनीतिक तवरबाट प्रस्तुत भएको छ भन्ने सन्देश यसले दिन्छ । भारत रिसाउला भन्ने डर उनीहरुको पनि देखिन्छ,’ श्रेष्ठले भने । उनले नाकाबन्दीको विषयलाई नेपालको आन्तरिक मुद्दासित नजोड्न अन्तर्राष्ट्रिय समुदायसित अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment