Comments Add Comment

बाबुरामका मान्छेलाई पनि पेरिसडाँडा बैठकमा निम्तो

१५ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक मंगलबार दिउँसो २ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्दैछ । पार्टी छाडेर हिँडेका बाबुराम भट्टराई पक्षका नेताहरुलाई पनि बैठकमा निम्तो गरिएको छ ।

Mao-Metting-Messageपार्टी कार्यालयका तर्फबाट कार्यालय सचिव हितराज पाण्डे उत्तमले बाबुराम भट्टराई समूहका नेतालाई समेत एसएमएस पठाएर बैठकको निम्तो दिएका हुन् ।

उत्तमले शुरुमा ११ बजे बैठक बस्ने सन्देश पठाएका थिए । पछि २ बजेका लागि बैठक सारिएको जानकारीसमेत उनले पार्टी छाडेका नेताहरुलाई समेत पठाएका छन् ।

भट्टराई निकट दुई दर्जन केन्द्रीय नेताहरुले गत कात्तिक १७ गते उनै पाण्डेलाई सामुहिक राजीनामा पत्र बुझाएका थिए । डा. भट्टराईले गत असोज ९ गते एक्लै पार्टी छाडेको घोषणा गरेका थिए ।

तर, बैठकमा सहभागी हुन निम्तो गरिए पनि डा. भट्टराई संयोजक रहेको नयाँ शक्तिमा लागेका नेताहरुले एमाओवादी केन्द्रीय समितिको बैठकमा उपस्थित नहुने बताएका छन् ।

पेरिसडाडाँमा केन्द्रीय समितिको बैठक राखिएकै दिन डा. भट्टराईले चाबहिलमा ३ नम्बर प्रदेशका अगुवा कार्यकर्ताहरुको भेला बोलाएका छन् । त्यहाँ अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको स्रोतले बतायो ।

पेरिसडाँडा बैठकका एजेण्डा

एमाओवादी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बस्न लागेको केन्द्रीय समितिको बैठकमा एजेण्डाहरु सार्वजनिक गरिएका छैनन् । तर, त्यहाँ प्रचण्डले पछिल्लो राजनीतिक स्थितिको विश्लेषणसहितको प्रतिवेदन पेश गर्ने बताइएको छ ।

साथै सरकारमा रहेका मन्त्रीहरुको आचार संहिता र कार्यक्षमताको मूल्यांकन, बाबुरामपक्षमा लागेहरुलाई कारवाही गर्ने तथा संगठनात्मक कार्यविभाजन लगायतका विषयहरु बैठकको कार्यसूचीमा छन् ।

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि असहमति राख्दै पूर्व एकताकेन्द्र समूहका केही युवा नेताले फरक दस्तावेजको तयारी गरिरहेको बुझिएको छ ।

पछिल्लो समयमा अखिल क्रान्तिकारीमा देखिएको विवादले पनि केन्द्रीय समितिको बैठकमा प्रवेश पाउने स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment