Comments Add Comment

काठमाडौं वार्ताको पूर्वसर्त: मधेसले स्वीकार्ने सहमति होस्

Bara-Kalaiya-aandolan-4

राजकुमार श्रेष्ठ

जब-जब काठमाडौंमा वार्ता सकारात्मक हुन लागेको चर्चा चल्छ, मधेसमा केही न केही गडबडी भइहाल्छ । सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओलीको आहृवानमा बालुवाटारमा वार्ता भएकै दिन नेपालगञ्जको जमुनाह नाकामा त्यस्तै तनाव देखियो ।

स्थानीय अधिकारीहरुका अनुसार आन्दोलनकारीले पेट्रोल बम प्रहार गरे र सीमापारी भारतीय भूमिमा गएर ढुंगा हाने । राति अबेरसम्म पनि तनाब कायमै रहृयो ।

यसलाई सौभाग्य नै मान्नुपर्छ कि जमुनाहमा कुनै अप्रिय घटना हुन पाएन । यसअघि कात्तिक १५ गते काठमाडौंमा वार्ता अहिलेसम्मकै सकारात्मक भएको भनिएकै भोलिपल्ट वीरगञ्जमा तनाव भयो, जसले वार्ताको वातावरण एकाएक खल्बल्यायो ।

सहमति हुनै लाग्दा किन हुन्छ लफडा ?

राजधानीमा सरकार र मधेसी मोर्चासँग सहमति हुनै लाग्दा आखिर मधेसमा कसले यसरी खेलिरहेको छ ? यो निकै रहस्यपूर्ण छ ।
अब काठमाडौंमा बुधबार निर्णायक वार्ता हुने भनिँदैछ, तर, कुनै पनि बेला तराई मधेसका सीमानाकाहरुमा तनाव देखिन सक्छ । किनभने अहिलेसम्म यस्तै हुँदै आएको छ । वीरगञ्जमा यस्तै भयो, जमुनाहमा यस्तै लफडा गर्न खोजियो ।

वीरगञ्जको मितेरी पुलमा धर्नाकारीमाथि अनायास बल प्रयोग गरेर अघिल्लो बार्ता बिथोलेका गृहमन्त्री शक्तिबहादुर बस्नेतले सुनसरी र महोत्तरीमा पूर्वी र मध्य तराईका जिल्लाहरुको सुरक्षा बैठकपछि राजमार्ग र सीमा नाका खुलाउन निर्देशन दिइरहेका छन् । उता मधेसी मोर्चाले आन्दोलन चर्काउने बताएको छ । वालुवाटारमा वार्ता भएकै दिन मोरङमा बसेको मोर्चाका नेताहरुको बैठकले वीरगञ्जमा जस्तै जोगवनी नाकाका कार्यकर्ताहरु भेला गरेर धर्ना कस्ने निर्णय गरेका छन् ।

काठमाडौंमा बुधबार हुने वार्तामा दबाव बढाउन पनि मधेसी मोर्चाले सीमा नाकाहरुमा आन्दोलन चर्काउन चाहन्छ भन्ने सन्देश मोरङबाट दिएको छ । वार्ता र सम्वादप्रति विश्वस्त हुन नसकिरहेका मोर्चाका नेताहरुलाई इटहरीको मञ्चमा सत्ता पक्षका विद्यार्थीले गरेको आगजनीले पनि बिच्क्याएको छ ।

जब काठमाडौंमा वार्ता हुन्छ, कुनै न कुनै सीमा नाकामा किन तनाव देखिन्छ भन्ने प्रश्नमा मधेसी मोर्चामा आवद्ध तमसपाका वरिष्ठ नेता एवं वार्ता टोली सदस्य रामनरेश राय यो प्रश्न मोर्चालाई नभएर सरकारलाई सोध्न आग्रह गर्छन् ।

तीनदलकोे आ-आफ्नै दुःख

सोमबार बालुवाटारमा भएको सहमतिअनुसार आज मंगलबार दलहरुबीच अनौपचारिक सम्वाद हुनेछ । जसले भोलिको वार्तालाई निर्णायक बनाओस् । तर, यसमा सत्तारुढ दलहरुको तयारी खासै भइरहेको देखिँदैन ।

Prachanda, susil koirala and kp Oli

सहमतिमा आउन प्रधानमन्त्रीलाई दबाव दिएर अग्रसरता जनाइरहेका प्रचण्ड आजैबाट एमाओवादी पार्टीको बैठकमा व्यस्त हुँदैछन् ।

एमाओवादीको केन्द्रीय समिति बैठक मंगलबारबाट सुरु हुँदैछ, जुन केही दिन लम्बिन सक्छ र यसले प्रचण्डलाई ‘डिस्टर्ब’ गर्न सक्छ ।
बाबुराम भट्टराई समूह बाहिरिएपछि पहिलो पटक बस्न लागेको यो बैठकमा प्रचण्डमाथि नै विभिन्न प्रश्नहरु उठ्ने सम्भावना छ, जसले उनलाई थप तनावमा पार्न सक्छ । यो तनावको विषयमध्ये एउटा मधेसलाई हेर्ने विषय पनि हो, जसमा गृहमन्त्री शक्तिबहादुर बस्नेत मधेशमा बल प्रयोग गर्न चाहन्छन् भने उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु बल प्रयोगको विपक्षमा छन् ।

बुधबार मधेसी मोर्चासँग निर्णायक वार्ता गर्नुअघि प्रचण्डले आफ्नो पार्टीभित्र पनि सहमति जुटाउन जरुरी छ, जसमा अझै केही दिन लाग्ने देखिन्छ ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मंगलबार आन्तरिक छलफल गर्ने बताएको छ । नेताहरुका अनुसार आज केही द्वीपक्षीय अनौपचारिक सम्वादहरु हुन सक्नेछ ।

तर, प्रचण्डजस्तै सुशील कोइराला पनि बुधबारअघि नै आफ्नो पार्टीभित्र साझा धारणा बनाउनुपर्ने दबावमा छन् । विशेषतः सीमांकनको सवालमा शेरबहादुर देउवाको भूमिकाका कारण अहिलेसम्म मधेसी मोर्चा र थारुहरुसँग सहमति जुट्न नसकेको आरोप कांग्रेसमाथि लाग्दै आएको छ ।

सत्ताको नेतृत्व गरिरहेको एमालेभित्र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको लाइनमा अरुले असहमति जनाउने नदेखिए पनि स्वयं प्रधानमन्त्री आफैं मधेसी मोर्चाका मागप्रति अनुदार रहेको आरोप लाग्दै आएको छ । प्रचण्डको दबावमा सीमांकन हेरफेर गर्न सकिन्छ भनेर सार्वजनिक अभिव्यक्ति दिए पनि ओली मानसिकरुपमा त्यसका लागि तयार देखिएका छैनन् । पार्टीका अर्का बरिष्ठ नेता माधव नेपालले सीमांकन नै स्थगित गरौं भनेपछि ओलीलाई आफ्नै पार्टीभित्रबाट थप दबाव परेको छ ।

प्रमुख तीन दलभित्रको यस्तो आन्तरिक असमञ्जस्यताले गर्दा बुधबार अगावै तीनदलको साझा धारणा आउन निकै चुनौतीपूर्ण देखिन्छ ।

बुधबारको वार्तालाई साँच्चीकै परिणाममुखी बनाउने हो भने मधेसी मोर्चाले अघि सारेको ११ बुँदे मागमा प्रमुख तीन दलको साझा धारणा बन्नुपर्ने हुन्छ । ११ बुँदेको मुख्य माग सीमांकन छ । अन्य विषयमा दलहरु सकारात्मक भए पनि सीमांकन परिर्वतन गर्न कांग्रेस र एमाले अहिलेसम्म तयार देखिएका छैनन् ।

एमाओवादी अध्यक्ष एवं राजनीतिक समितिका संयोजक प्रचण्डले राजनीतिक समिति बनाएर एक महिनाभित्र सीमांकन टुंगो लगाउने प्रस्ताव गरेका छन् । यसमा कांग्रेस र एमाले सहमत देखिए पनि मधेसी मोर्चाले मानेको छैन ।

मधेसले कसरी स्वीकार्ला काठमाडौं सहमति ?

बुधबार प्रमुख तीनदल र मधेसी मोर्चाबीच अर्को वार्ताको तयारी हुँदै गर्दा काठमाडौंमा हुने कुनै पनि सहमति मधेसले स्वीकार गर्छ कि गर्दैन भन्ने प्रश्न पनि महत्वपूर्ण छ ।
Barta
यसको आशय मधेसी मोर्चासँग मात्रै सहमति गरेर हुँदैन भन्ने पटक्कै होइन । मधेस आन्दोलन मधेसी मोर्चाकै आहृवानमा सुरु भएको हो र मोर्चाका नेताहरुलाई नै नेता मानिएको छ । तर, अहिले मधेस आन्दोलनले जनआन्दोलनको रुप लिइसकेको छ र, मोर्चाका कार्यकर्तामात्रै नभई मधेसका जनता एवं सत्तापक्षकै कार्यकर्तासमेत आन्दोलित भइसकेको अवस्था छ ।

चाहे त्यो प्रमुख दलहरुले भनेजस्तो गलत भ्रमहरु छरेर होस् वा अरु केही कारणले । तर, अब मधेसका आम जनता आन्दोलित भइसकेकाले अब काठमाडौंमा कुनै पनि सहमति गर्दा हस्ताक्षरकर्ता आन्दोलनकारी नेताले मधेसमा जान सक्ने वातावरण बनाउन जरुरी देखिन्छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर मोर्चाका नेताहरुले औषधि बोकेका गाडीलाई अवरोध नगर्ने भनेको केही घण्टामै मधेसमा औषधिका ट्रक र एम्बुलेन्स जल्ने स्थिति नआओस् भन्नेतिर नेताहरुले ध्यान दिनुपर्ने देखिन्छ ।

राजनीतिक समिति बनाएर सीमाकंन टुंग्याउने प्रचण्ड प्रस्ताव राम्रै भए पनि मधेसी मोर्चाले स्वीकार गर्न नसक्नुको प्रमुख कारण यो पनि हुन सक्छ कि मधेसमा स्वीकार्य हुने सहमति अहिलेको आवश्यकता हो ।

अनौपचारिक सम्वादहरुमा मोर्चाका केही नेताले मुखै खोलेर सहमति गरेपछि मधेसमा जान सक्ने सहमति गरौं भन्ने गरेका छन् ।
यो किन पनि जरुरी छ भने आम जनता सडक आइसकेका बेला नेताले जे भन्यो त्यही हुन्छ भन्ने हुँदैन ।

दोस्रो जनआन्दोलनका क्रममा वैशाख ८ को शाही सम्बोधनलाई नेताहरुले भन्दा पहिले आन्दोलनकारीले अस्वीकार गरे । र, ११ मा अर्को सम्बोधन आयो ।

अहिले मधेसका सन्दर्भमा पनि काठमाडौंमा कुनै सहमति गर्दा प्रमुख दलहरुले मधेसी मोर्चालाई त्यो सहमति लिएर मधेसमा सहजै जान सक्ने वातावरवण बनाइदिनु हितकर हुनेछ ।

सम्भावित विकल्पः कांग्रेस र एमालेको सात प्रदेश

UML-congresh-7-pradesh-Final
उसोभए के हुन सक्छ त मधेसले स्वीकार गर्ने सहमति ? यस्तो प्रश्न पनि वार्ता सँगसँगै उठ्छ । समानुपातिक निर्वाचन प्रणाली र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणबारे ठूलो विमति देखिन्न ।

कांग्रेस नेतृत्वको अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावमा भाषिक परिर्माजन गर्दा मिल्ने देखिन्छ ।

त्यसतर्फ काम पनि सुरु भइसकेको छ । अनौपचारिक रुपमा संशोधन विधेयक फिर्ता लिएर भाषिक परिर्माजनका लागि सम्वादहरु भइरहेको छ । र, यो सकारात्मक भएको मधेसी मोर्चाका नेताहरुले स्वीकार गरेका छन् ।

सीमांकनमा भने विवाद कायमै छ । मधेसी मोर्चाका थिंक ट्यांकहरु भने यसमा पनि मिलन विन्दु रहेको बताउँछन् । उनीहरु खुलेर बाहिर आउन चाहँदैनन् । तर, अनौपचारिकरुपमा केही विकल्पहरु देखाउँछन् । जसमा सबैभन्दा नजिक देखिएको विकल्प हो कांग्रेस र एमालेले गत वर्षको कात्तिक १७ मा ल्याएको सात प्रदेशको खाका ।

औपचारिक रुपमा मधेसी मोर्चाले तराई मधेसको २० जिल्लाको दुई प्रदेश बटमलाइन भन्ने गरेको छ । तर, उनीहरुलाई के थाहा छ भने वार्ताको टेबलमा बसेपछि केही लिँदा केही छोड्नुपर्छ । अर्थात कसैले नहारेको र कसैले नजिकेको अहिलेको अवस्थामा मोर्चाले भनेको सबै पुरा हुँदैन ।

त्यसैले कांग्रेस र एमालेले त्यसबेला प्रस्ताव गरेजस्तो तराई मधेसका ६ जिल्लालाई पहाडसँग जोडिएको प्रदेशमा राखेर मधेसमा दुई प्रदेश सहमतिको विन्दु हुनसक्छ ।

कांग्रेस र एमालेको उक्त सात प्रदेशको खाकामा झापा, मोरङ र सुनसरीलाई पूर्वी प्रदेशमा राखिएको छ भने कैलाली र कञ्चनपुरलाई सुदूरपश्चिमको प्रदेशमा राखिएको छ । चितवन काठमाडौंसहितको प्रदेशमा छ ।

स्रोतले भन्यो, यदि यसमा सहमति हुने हो भने कांग्रेस र एमालेले हामीले पहिल्यै भनेका थियौं नि भन्न मिल्छ । मधेसी मोर्चालाई सीमांकनसहित समानुपातिक समावेशी, निर्वाचन क्षेत्रमा परिर्माजनलाई जितका रुपमा प्रस्तुत गर्न सक्छ । माओवादीले भने सबैलाई मिलायौैं भन्ने मौका पाउनेछ ।’

यसमा कांग्रेस र एमाले अझ उदार हुने हो भने कैलाली र मोरङको जिल्लाको हालको सीमा चलाएर केही क्षेत्रलाई मधेसमा राख्ने अर्को विकल्प पनि हुनेछ । तर, कांग्रेस र एमाले आफैंले कात्तिक १७ मा प्रस्ताव गरिएको सात प्रदेशमा र्फकने हो भने मधेसी मोर्चाले पनि त्यसका जनताको चाहना विपरीत झापा र कञ्चनपुर समेत मधेसमा हुनु पर्छ भन्न सक्दैनन् । किनकि तराई मधेसका जिल्लाहरुमा अन्दोलन जनआन्दोलन बन्दा समेत झापा र कञ्चनपुरमा त कुनै आन्दोलन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment