Comments Add Comment

२४ लाख लागतमा खानेपानी आयोजना पूरा, २ घण्टा हिँडेर पानी बोक्नुपर्ने बाध्यता कायमै

Reserve-WaterTank,-Palpa

१५ मंसिर, पाल्पा । पूर्वी पाल्पाको हेक्लाङ गाविसमा खानेपानी धारा उदघाटन गर्न गएका स्थानीय विकास अधिकारी कृष्णप्रसाद पाण्डे कार्यक्रम उदघाटन विनै फर्किए । जिल्ला विकास समिति मार्फत् हेक्लाङ्ग लिफ्टिङ खानेपानी आयोजना पूरा भए पनि उपभोक्ताहरुबीच विवाद भएपछि औपचारिक रुपमा उदघाटन हुन सकेन ।

विवाद हुनुको कारण हो नजिककैका ११ घरधुरीलाई पानी दिनबाट बञ्चित गरियो । उपभोक्ता समितिको छलफलमा सहभागी नभएको र श्रमदान पनि नगरेको भन्दै हेक्लाङ ९, का मनबहादुर घर्तीसहित ११ जनालाई पानी दिइएन । अन्य चालीस घर परिवारले पानीको सुविधा उपभोग गरे पनि ११ घर परिवार दुई घण्टा पैदल हिँडेर पानी ओसार्न बाध्य छन् ।

करिब २४ लाख लागतमा खानेपानी योजना सम्पन्न भै समितिलाई हस्तान्तरण भैसकेको छ । अहिले दैनिक लिफ्टिङ मार्फत् १० हजार लिटर पानी संकलन गरी वितरण भएको छ । अहिले हेक्लाङ गाविसका वडा नम्बर ८ र ९ का ४० घरधूरीले पानी बोक्नुपर्ने बाध्यता हटेता पनि ११ घरधूरीको भने यो समस्या ज्यू का त्यूँ छ । ११ घरधूरीका अधिकांश पुरुष वैदेशिक रोजगारमा छन् । जसमध्ये ७ घरधूरी दलित बस्ती हो ।

पानी नपाउनेमध्येका हेक्लाङ ९ का मनबहादुर घर्तीले दुखेसो पोखे, ‘आफन्त एवं नातेदारहरुलाई पानी दिइयो तर हामीले पाएनौं । लागत सहभागिता गर्न तयार छौं भन्दा पनि हाम्रो कुरा सुनिएन ।’

उपभोक्ता समितिका अध्यक्ष भरत सिंजालीले लागत मूल्यांकन र जनश्रमदानको मूल्यांकनअनुसार सहभागी हुन तयार भए समूहमा छलफल गरी पानी दिन तयार भएपनि समूहमा ‘राजनीति’ भएकाले समस्या आएको दाबी गरे । उनले भने, ‘राजनीति गर्न खाजेर समस्या बल्झाए ।’

स्थानीय विकास अधिकारी कृष्णप्रसाद पाण्डेले खानेपानी पाउनुपर्ने सबै गाउँलेको अधिकार भएको बताए । ‘लागत सहभागिताका आधारमा श्रमदान र न्यूनतम शुल्क नबुझाएर समस्या बल्झिएको रहेछ,’ उनले भने, ‘आन्तरिक समस्या समाधान गरी छुटेका ११ घरलाई पानी वितरण हुनुपर्छ ।’

-मुक्तिप्रसाद न्यौपानेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment