नविन अर्याल
१५ मंसिर, काठमाडौं । भारतले लगाएको नाकाबन्दीसँगै यतिबेला देशलाई कसरी आत्मनिर्भर बनाउने भन्ने बहस प्रारम्भ भएको छ । र, यो बहसमा एउटा महत्वपूर्ण बनेको छ, नेपालमा वर्षेनी बढिरहेको माछा, मासु र जनावरहरुको आयात ।
नेपाल मासुमा आत्मनिर्भर बन्ने प्रशस्त सम्भावना हुँदाहुँदै पनि हामीले विदेशी मुलुकहरुको भर पर्नुपरेको छ । गत आर्थिक वर्ष मात्रै नेपालमा ३ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ बराबरको माछा, मासु तथा मासुका लागि प्रयोग गरिने पशुपक्षी आयात गरिएको छ ।
मासुको प्रयोजनका लागि नेपालमा जिउँदो जनावरको आयात पनि प्रत्येक वर्ष बढिरहेको छ । ०६७/०६८ मा १ अर्ब ५ करोड रुपैयाँको हाराहारीमा जनावरको आयात हुन्थ्यो भने ०७१/०७१ मा २ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको जनावर आयात भएको छ । प्रत्येक वर्ष यो दर बढिरहेको छ ।
हेर्नुहोस् चार्ट-
यसैगरी नेपालमा हरेक वर्ष मासुको खपत बढ्दै गइरहेको छ । नेपालीको आम्दानीमा वृद्धि भएसँगै मासुका पारखीहरु पनि बढ्दै गइरहेका छन् । यसले गर्दा नेपालमा मासुको बजार राम्रो छ ।
नेपालमा खसी बोका, भेडा, च्याङ्ग्रा, बंगुर, सुंगुर, माछा, कुखुरा, राँगो लगायतका पशुपक्षीको मासु बढी प्रयोग हुन्छ ।
नेपालमा छिमेकी मुलुक भारतदेखि युरोप र अमेरिकाबाट समेत माछा, मासु तथा जिउँदा जनावर आयात गरिँदै आएको छ । यो क्रम हरेक वर्ष बढ्दो छ ।
काटिएको मासुको आयात पनि प्रत्येक वर्ष बढिरहेको छ । ०६७/०६८ सालसम्म नेपालमा ७ करोड रुपैयाँको मासु आयात हुन्थ्यो । ०७१/०७२ सम्म आइपुग्दा नेपालले १३ करोड ९४ लाख रुपैयाँभन्दा बढीको मासु विदेशबाट आयात गर्न थालेको अवस्था छ ।
हेर्नुहोस् तलको ग्राफ
नेपालमा माछाको आयात पनि वर्षेनी बढिरहेको छ । ०६७/०६८ मा २३ करोड रुपैयाँ बराबरको माछा नेपालमा भित्रिन्थ्यो भने ०७१/०७२ सम्म आइपुग्दा नेपालमा १ अर्ब १५ करोड रुपैयाँ भन्दा बढीको माछा आयात भएको तथ्यांकमा देखिन्छ ।
हेर्नुहोस् तलको ग्राफ
विज्ञ एवं व्यवसायीहरुका अनुसार नेपाल सबै प्रकारको मासुमा आत्मनिर्भर बन्न नसके पनि अधिकांशमा पूर्णरुपमा आत्मनिर्भर बन्न सक्छ ।
कसरी बन्न सकिएला मासुमा आत्मनिर्भर ?
नेपाल मासुमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी) का वरिष्ठ अधिकृत कृष्णराज बजगाईं बताउँछन् । यसका लागि किसानलाई उत्प्रेरित गर्नुपर्ने उनको तर्क छ ।
‘व्यवसायिक रुपमा पशुपन्छी तथा माछा पाल्दा राम्रो आम्दानी गर्न सकिन्छ’ बजगाईंले भने- ‘महंगो ब्याजमा ऋण लिएर किसानलाई फाइदा हुँदैन, सरकारले २/३ प्रतिशत ब्याजदरको सहुलियत ऋण उपलब्ध गराउनुपर्छ ।’
जगतपुर एग्रो प्रालि चितवनका सञ्चालक योगेन्द्र खड्का मासुमा धेरै हदसम्म आत्मनिर्भर हुन सकिने बताउँछन् । यसका लागि साउथ अफि्रकन बोयर जातको बाख्रा पालन गर्दै आएका खड्काले मासुमा आत्मनिर्भर हुनका लागि आधुनिक प्रणाली अपनाउनुपर्ने बताए ।
‘लोकल खसीबोका पाल्दा किसानलाई खासै फाइदा हुँदैन र यसबाट खसी बोकाको मासुमा पनि आत्मनिर्भर बन्न सकिँदैन’ खड्काले अनलाइनखबरसँग भने- ‘हामीले बोयर जातका बाख्रा पाल्ने हो भने राम्रो आम्दानी पनि गर्न सकिन्छ, चाँडै आत्मनिर्भर पनि बन्न सकिन्छ ।’
खड्काका अनुसार लोकल जातका खसीबोका डेढ वर्ष पाल्दा २५/३० केजीका मात्र हुन्छन् । तर, बोयर जातका खसी बोका डेढ वर्षमा ९० किलोसम्मका हुन्छन् ।
खड्काका अनुसार बोयर दिनमा १५० देखि ३०० ग्रामसम्म बढ्छ । लोकल चाहिँ ३५ देखि ५० ग्रामसम्म मात्रै बढ्छ ।
देशभरिका किसानलाई यस्तै हाइबि्रड जातका बाख्रा पाल्न उत्प्रेरित गर्नुपर्ने खड्काको भनाइ छ । तर, यसका लागि चरन क्षेत्रको पनि आवश्यक पर्छ ।
‘सामुदायिक वनमा बाख्रा चराउन पाइँदैन, आफ्नो बारीमा खेती लगाउने कि बाख्रा चराउने ? उनले प्रश्न गरे- ‘सरकारले चरन क्षेत्र उपलब्ध गराउने र सस्तो ब्याजमा ऋण उपलब्ध गराउने हो भने बाख्रा पालनमा किसानहरु आकषिर्त हुन्छन् ।’
भेडा, च्याङ्ग्रा, बाख्राको एकीकृत प्रयोग बढाउन सकिएमा पनि यसतर्फ किसानको आकर्षण बढाउन सकिने बजगाईं बताउँछन् । उदाहरणका लागि भेडा पालेपछि दूध, मासु, हड्डी, छाला र रौं पनि प्रयोगमा ल्याउन सकिन्छ ।
नेपालमा भारत, चीन, कोरिया, न्युजिल्यान्डलगायतका मुलुकबाट खसीबोका, भेडा च्याङ्ग्रा आयात गरिँदै आएको छ । भैंसी र सुंगुर भारतबाट आयात गरिन्छ ।
मासु खान नभई सवारीमा प्रयोग गरिँदै आएको घोडा भारत, चीन, भूटान, स्वीटजरल्यान्ड र टर्की लगायतका मुलुकबाट ल्याइने गरिएको छ ।
धानभन्दा माछा पालनमा फाइदा
माछा व्यवसायी जंगबहादुर शाह धान रोप्नुभन्दा माछा पाल्दा बढी आम्दानी हुने बताउँछन् । ‘तीन हेक्टरमा धान रोप्नुभन्दा एक हेक्टरमा माछा पाल्दा फाइदा हुन्छ’ उनले अनलाइनखबरसँग भने- ‘तर, यहाँ किसानहरु व्यवसायिक माछा पालनमा त्यति धेरै आकर्षित भएको देखिँदैन ।’
पछिल्ला वर्षहरुमा माछापालनमा किसानहरु विस्तारै आकषिर्त भइरहेका छन् । सरकारले पनि माछापालनका लागि प्रतिहेक्टर तीन लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउँदै आएको छ ।
शाहका अनुसार सिमसार भएको जग्गामा पोखरी खन्न एक हेक्टरको ४/५ लाख खर्च हुन्छ, अन्य ठाउँमा अलि बढी लाग्छ । ‘एक हेक्टर पोखरी खन्न ५ लाख रुपैयाँ लागे पनि सरकारले ३ लाख रुपैयाँ दिन्छ, आफ्ना लगानी २ लाखमात्र हुन्छ’ उनले भने- ‘यति लगानी गरेर माछा पालेमा वर्षको १५/२० लाख रुपैयाँ नाफा कमाउन सकिन्छ ।’
नेपालमा भारत, सिंगापुर, थाइल्यान्ड, नर्बे, कोरिया चाइना, मलेसिया, माल्दिभ्स, नेदरल्यान्ड, अष्ट्रेलिया, ब्रुनाई, भियतनाम, फ्रान्स, चिली, हङकङ, जर्मनी, डेनमार्क, इन्डोनेसिया, जापान, बेलायत, इटाली, अमेरिकालगायतका मुलुकबाट माछा आयात गरिँदै आएको छ ।
पछिल्लो समय सजावटका लागि एक्वारियममा राख्नका पनि विभिन्न मुलुकबाट माछाहरु आयात गरिन्छ ।
‘बजारमा नेपाली माछा भनेर भारतबाट फर्मालिन हालेका माछा झुण्डाइएको हुन्छ’ शाहले भने- ‘यहीँ पाल्न सकेमा पैसा बाहिर जाँदैनथ्यो ।’
नेपालमा तराईदेखि उच्च हिमाली भूभागसम्म माछा पाल्न सकिन्छ । पछिल्लो समय चिसोपानीमा पालिने ट्राउट माछा निकै लोकप्रिय बनेको छ ।
‘माछामा आत्मनिर्भर हुनका लागि एक/दुई कठ्ठाका पोखरी खनेर हुँदैन, तराईमा डुवान हुने खेतमा बाँध बाँधेर ठूला पोखरी बनाई माछा पाल्नुपर्छ’ टीइपीसीका वरिष्ठ अधिकृत बजगाईंले भने- ‘हजारौं हजार बिघा जग्गामा पोखरी बनाएर व्यवसायिक माछा पालन गर्नुपर्छ ।’
नेपालमा कुखुराको मासु त्यति धेरै आयात नगरिए पनि कुखुराका चल्लाहरु भारत, युरोप र अमेरिकी मुलुकबाट समेत भित्राइँदै आएको छ । यहीँ चल्ला उत्पादन गर्न सकिने सम्भावना भए पनि विदेशबाट ठूलो परिमाणमा चल्लाहरु आयात गरिँदै आएको छ ।