Comments Add Comment

अर्थमन्त्रीले भने- सबै कुरा बजारलाई छाड्न सकिँदैन

sejon१५ मंसिर, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सबै कुरा बजारलाई छोड्न नसकिने बताएका छन् । विगतमा सबैकुरा बजारलाई छोडेकै कारण मुलुकले यस्तो संकट भोग्नुपरेको उल्लेख गर्दै मन्त्री पौडेलले अब त्यसो गर्न नसकिने बताए ।

‘सबैचीज बजारलाई छाड्ने सम्मका अभिव्यक्तिहरु यहाँ भए । अब हामी यसअनुरुप अघि बढ्न सक्दैनौं ।’ नेपाल आर्थिक पत्रकार समाजको १८ स्थापना दिवषमा मंगलबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले भने ।

विगतमा मुलुकलाई आत्मनिर्भर बनाउन नसक्दाको परिणाम मुलुकले अहिले भोगिरहेको उनले बताए । ‘आज हामीले भोगिरहेको समस्या केही दिनका गतिविधिले यहाँसम्म आइपुगेका होइनौं । त्यसको लामो पृष्ठभूमि छ ।’ उनले भने ।

अहिलको भारतीय नाकाबन्दी अस्थायी परिदृश्यमात्रै भएको र अब मुलुक सम्मृद्धितर्फ लम्किएको उनको भनाई छ । ‘बन्द हड्तालले अर्थतन्त्रमा समस्या पारेको छ । यो अस्थायी परिदृश्यमात्रै हो । यसलाई टुङ्ग्याएर मुलुक सम्मृद्धिमा जानुपर्छ । विकासको विकल्प छैन ।’ मन्त्री पौडेलले भने ।

नेपालको हित नै विदेशीसँगको सम्बन्धको केन्द्रविन्दु रहेको उनले बताए । सरकारले पारस्पारिक हितका लागि छिमेकीसँग सम्बन्ध विस्तार गर्न चाहेको उनको भनाई थियो । सरकारले अहिलेको समस्या वार्ताकै माध्यमबाट गर्न चाहेको पौडेलले बताए ।
नेपाली समाज भ्रष्टिकरण हुँदै गएको उल्लेख गर्दै उनले त्यसप्रति गहिरो चिन्त्ा प्रकट गरे । ‘औपचारिक क्रियाकलापबाट बाहिरिएर अनौपचारिक गंभीर चिन्त्ाको विषय बनेको छ ।’ मन्त्री पौडेलले भने ।

अर्थतन्त्र ऋणात्मक हुन दिन्नौं : गभर्नर

राष्ट्रल बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले आफूहरु अर्थतन्त्र ऋणात्मक अवस्थामा जान नदिने वातावरण बनाउन लागि परेको बताए । त्यसका लागि खर्च बढाउन उनले सरकारलाई सुझाब दिए ।

index‘केही समययता देशभित्र आर्थिक क्रियाकलाप ठप्प छ । यही अवस्था लम्बियो भने अर्थतन्त्र ऋणात्मक अवस्थामा जान्छ । तर, सरकारले आर्थिकब वृद्धिदर ऋणात्मक अवस्थामा जान नदिने कुरामा म विश्वस्त छु ।’ गभर्नरले भने- त्यसका लागि खर्च बढाउनुपर्छ ।

राष्ट्र बैंकमा रहेको सरकारी खातामा ८० अर्ब रुपैयाँ जम्मा भएको र आर्थिक वर्षको पहिलो तीन महिनामा ५ अर्ब रुपैयाँ मात्रै विकास खर्च भएको उनले जानकारी दिए ।

‘अब सरकारले खर्च बढाउनु पर्‍यो । यो आर्थिक वर्षमा २ खर्ब ८ अर्ब विकास खर्च गर्ने लक्ष थियो तर पहिलो तीन महिनामा ५ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ ।’ उनले भने । सरकारले खर्च बढाउन नसक्दा रोजगारीको सिर्जना हुन नसकेको र त्यसको प्रत्यक्ष मारमा मजदुरहरु परेको उनले बताए ।

यतिखेर देश गंभरि संकटमा परेको र यो अवस्था एकैचोटी नआएको गभर्नरले उल्लेख गरे । ‘संसार अहिले एकआपसमा आर्थिकरुपमा निर्भर छ । तर, हामीले हाम्रो छिमेकीलाई हामीसँग निर्भर बनाउन सकेका रहेनछौं ।’ उनले भने ।

सन् १९९० को दशकपछि मुलुकले अवलम्बन गरेको आर्थिक उदारीकरणले मुलुकको विकास भएको तर त्यो चरम परनिर्भरकारी सावित भएको उनले बताए ।
‘अहिले हामी कुनैपनि वस्तुमा निर्भर छैनौं । सबै राजनीतिक दल र नीति निर्माताले वितगमा गरेको गल्तीको परिणाम हो यो ।’ डा. नेपालले भने । केही उत्पादनमा देशलाई पूर्णरुपमा आत्मनिर्भर बनाउनुपर्ने उनको धारणा थियो ।

देशमा अनौपचारिक अर्थतन्त्त मौलाएको र त्यसले औपचारिक अर्थतन्त्रलाई अफ्ठारोमा पारेको उनले बताए । ‘अनौपचारिक अर्थतन्त्र बढेका कारण औपचारिक अर्थतन्त्र जोगाउन कठिन भएको छ । मुल्यवृद्धिलाई एकल अंकमा राख्न ठूलो चुनौति छ ।’ उनले भने ।

आगामी दिनमा एउटै छिमेकीसँग मात्रै व्यावारमा निर्भर रहन नहुने उनले बताए । ०२७, ०६५ र अहिले भारतले नाकाबन्दी गरेको उल्लेख गर्दै आगामी दिनमा यस्तो अवस्था आउन नदिन विविधिकरण गर्नपर्ने उनको भनाई थियो ।

उद्योगीहरु डिप्रेसनमा जान थालेको उल्लेख गर्दै भगर्नरले उद्योगीहरु डिप्रेसनमा जानु भनेको अर्थतन्त्र नै डिप्रेसनमा जानु भएको गभर्नरले बताए । ‘ढुक्कसँग आन्त्रिक लगानी बढाउनुहोस भन्न सक्नेसमेत अवस्था छैन । किनभने अर्थतन्त्र मुभ गर्ने क्षेत्र भनेको उर्जा हो । हामीकहाँ उर्जाको उत्पादन नै हुन सकेको छैन । जसले औद्योगिकरणमा जान अफ्ठ्यारो भइरहेको छ ।’ उनले भने ।

जलविद्युत क्षेत्रमा लगानी बढाउन सरोकारवाला सबैलाई गभर्नरले आग्रह गरे । ‘अहिले बैंकहरुसँग लगानी योग्य पुँजी अत्यधिक छ । राष्ट्र बैंकले बजारबाट १ खर्ब तरलता प्रसोचन गरिसकेको छ । सरकारी ढुकुटीमा ८० अर्ब थन्किएको छ । यो रकम जलविद्युतको विकासमा लगाउन सकियो भने आगामी दिनमा यस प्रकारका नाकाबन्दी भोग्नु पर्ने छैन ।’ उनले भने ।

उद्योगधन्दा बन्द गर्नेक्रम बढ्दो छ: मुरारका

indexउद्योग-व्यवसाय बन्द हुने क्रम बढिरहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुराकाले बताए ।  ‘मन्त्रीज्यू हाम्रा उद्योगहरु बन्द हुन थालेका छन् । व्यवसाय चौपट्ट अवस्थामा छ । हिँजो पनि निर्णय वार्ता हुन्छ भन्नुभयो हामीले आश गर्‍यौं । कहिलेसम्म हामीले आशामात्रै गरिरहने ?’ मुरारकाले प्रश्न गरे । गुनासो गर्दा-गर्दै अाफू थाकिसकेको उनको भनाइ थियो ।

चालिसे र आर्चायलाई सेजन अवार्ड

सेजन दिवषका अवसरमा हरेक वर्ष वितरण गरिँदै आएको वर्षको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कारबाट न्यूज २४ का नवराज चालिसे र कान्तिपुर दैनिकका कृष्ण आचार्य पुरस्कृत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment