Comments Add Comment

खानेतेलको कालोबजारी गर्नेलाई चाहियो फूलमाला !

Oil, tihar 2072

१५ मंसिर, काठमाडौ । ‘यस्तो अभावका बेलामा पनि हामी खानेतेल आपूर्ति गरिरहेका छौं, यसका लागि तेल उद्योगीहरु सबैलाई फूलको माला लगाएर राज्यले धन्यवाद दिनुपर्छ ।’

वाणिज्य विभागले बोलाएको बैठकमा खानेतेलका उद्योगीहरु सरकारी अधिकारीसँग झर्किए- ‘हामीले लगाएको गुनलाई बेवास्ता गरेर कालोबजारी गरेको भन्ने आरोप लगाउन पाइँँदैन ।’

खानेतेलमा भएको अस्वाभाविक मूल्यवृद्धिबारे स्पष्टीकरण दिन आएका उद्योगीहरुले सरकारी अधिकारीलाई अहिलेसम्म आफूहरुकै प्रयासले मात्रै उपभोक्ताले बजारमा खानेतेल पाइरहेकोे दाबी गरे ।

भारतले नरोक्दा पनि किन मूल्य बढ्यो ?

तर, भारतले कुहिन वा बिग्रन सक्ने आफ्ना उत्पादन सहजै भन्सार पास गरेको कुरा बैठकमा लुकाउन खोजे । यस्तै वीरगञ्ज बाहेक अन्य नाकामा कति-कति तेल तथा तेलजन्य पदार्थ अडि्कएको छ भनेर कुनै रेकर्ड देखाउन सकेनन् ।

सहजरुपमा वीरगञ्ज बाहेकका नाकाबाट कच्चा तेल आइरहँदा पनि अभाव भएको भन्दै उद्योगहरुले दोब्बरभन्दा बढी मूल्यमा बिक्री गरिरहेका छन् । तोरीको तेल प्रतिलिटर ३ सय २० रुपैयाँसम्म बिक्री भएको भेटिएको छ ।

यसैगरी सूर्यमूखी तेल लिटरको २ सय ७० रुपैयाँसम्म किनबेच भएको छ । सोयाबिन तेल पनि प्रतिलिटर २ सय ७० रुपैयाँसम्म बेचिँदैछ । कतिपय स्थानमा उद्योगले लगाएको ट्याग भन्दा बढी मूल्य लिएर बिक्री भइरहेको छ ।

कालोबजारीको घुमाउरो स्वीकारोक्ति

कालोबजारीबारे विभागले गरेको प्रश्नमा उद्योगीहरुले लागत अनुसार मूल्य तोकिएको ठोकुवा गरे । तर, फेरि उद्योगीले मूल्य घटाउन तयार रहेको प्रतिक्रिया पनि दिए ।

‘अहिले कच्चा खानेतेल र त्यसका कच्चा पदार्थको आयात केही सहज भएको छ । स्टक पनि बढेको छ । अब केही मूल्य घटाउन सकिन्छ भनेर गएका छन्’ एक उद्योगीको भनाइलाई उधृत गर्दै बाणिज्य विभागका एक अधिकारीले भने-‘घुमाउरोरुपमा उनीहरुले कालोबजारी गरेको स्वीकारेका पनि हुन् ।’

उद्योगीहरुले बैठकमा हुम्ला र जुम्लाका लागिसमेत भनेर बढी खुद्रा मूल्यको ट्याग लगाएको स्वीकारे । त्यसबाट उद्योगहरुले योजनावद्धरुपमा नै कालोजारी गरेको प्रष्ट भएको ती अधिकारी बताए ।

विकट जिल्लामा तेल लैजाँदा थपिने ढुवानी खर्चसमेत जोडेर तेलको अधिकतम खुद्रा मूल्य राखेको उनीहरुको दाबी थियो । तर, काठमाडौंमा नै त्यही मूल्यमा तेल बिक्री भइरहेको छ ।  उद्योगहरुले अत्यधीक बढाइएको खुद्रा मूल्यमा तेल बेच्ने गरी खुद्रा विक्रेतालाई बेचिरहेका छन् ।

तेलको मूल्य घट्छः विभाग

विभागमा निर्देशक हरिनारायण बेल्बासेले भने बजारमा तेलको मूल्य घट्ने सुरु भइसकेको दाबी गरे ।  ‘आज एकजना उद्योगीले फोन गरेर ३ सय २० रुपैयाँ प्रतिलिटरको तेल २ सय ९० रुपैयाँ प्रतिलिटर हुने गरी ट्याग लगाएको जानकारी दिएका छन् । अब बिस्तारै सबै उद्योगले मूल्य घटाउँछन्’ उनले भने ।

भारतीय नाकाबन्दीपछि बजारमा खानेतेलको अभाव चर्किएपछि व्यवसायीले मनलाग्दी मूल्य राखेर तेल विक्री गरेको ठहर विभागले पनि गरेको छ ।

तर, उद्योगीले लागत बढेको कारण मूल्य बढेको भनेपछि विभागले कालोजारी गर्ने विरुद्ध स्पष्टीकरण लिने भन्दा बाहेक कुनै कदम चाल्न सकेको छैन ।

विभागले उद्योगहरुले पेश गरेको लागतमा अनुसन्धान गरेर दोषी पाइए कारवाही गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment