Comments Add Comment

ओली, सुशील र प्रचण्डलाई भेटेपछि गुप्ताको निष्कर्षः भोलिको वार्ता फलदायी हुने देखिएन

१५ मंसिर, काठमाडौं । संघीय समावेशी मधेसी गठवन्धन बनाएका शरदसिह भण्डारी, जेपी गुप्तासहितका नेताहरु काठमाडौं आए र तीन ठूला दलका नेताहरुलाई भेटेर नौबुँदे माग बुझाएका छन् । अब तराई मधेसको आन्दोलनको नेतृत्व गरिरहेको मधेसी मोर्चाका नेताहरुलाई भेट्ने तयारीमा छन् ।

JP-morchan-With-Pm-Kp-oli

मधेस आन्दोलनमा विभिन्न रुपमा सहभागी शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, जेपी गुप्ताको तराई मधेस राष्ट्रि अभियान, राजकिशोर यादवको फोरम गणतान्त्रिक र अनिल झाको नेपाल सदभावना पार्टी मिलेर हालै मात्र संघीय समावेशी मधेसी गठवन्धन बनेको थियो । उसले मधेसमा दुई प्रदेशसहित नौबुँदे माग अघि सारेको छ ।

तीन दलका शीर्ष नेताहरुलाई छुट्टाछुट्टै भेटेपछि तराई मधेस राष्ट्रिय अभियानका नेता जेपी गुप्ताको निष्कर्ष छ-भोलि बुधबार तीन दल र मधेसी मोर्चाबीच हुने भनिएको वार्ता फलदायी हुने देखिएन ।’

शरतसिंह-जेपी गठवन्धनका नेताहरुले सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग झण्डै डेढ घन्टा वार्ता गरे । त्यसअघि विहान प्रधानमन्त्रीकै पहलमा मधेसी मोर्चा, कांग्रेस र सत्ता पक्षसँग वार्ता भएको थियो । तर, उक्त वार्ता एजेण्डामा नै प्रवेश नगरी स्थगित भयो ।

पूर्वसभामुख सुवास नेम्वाङसहितका एमाले नेताहरुको उपस्थिति रहेको भेटमा शरदसिंह, जेपी गुप्तासहितका नेताहरुले वार्ता कमल थापा नेतृत्वको वार्ता टोलीबाट शीर्ष नेताहरुमा सरेको बताए ।

अब प्रधानमन्त्री बढी स्पेसिफक (विषय केन्द्रीत) हुनु पर्ने भन्दै मधेसी गठवन्धनका नेताहरुले मधेसी मोर्चा, थरुहट र आफूहरुले राखेको मागमा मोटामेटी तीन विषयमा छलफल गरे हुने प्रधानमन्त्रीलाई बताए । जसमा संघीयतामा सीमांकन, प्रतिनिधित्व प्रणाली र समावेशीकरण छन् ।

‘अब माग खोजी राख्नु परेन । अलमलमा पनि पर्नु परेन । स्पेसिफिक रुपमा प्रधानमन्त्रीको कुरा के छ भनेर हामी भन्यौं’ गठवन्धनका नेता गुप्ताले अनलाइखबरसँग भने-‘प्रधानमन्त्रीले म धेरै गम्भीर छु, वार्तालाई परिणममुखी बनाउँछु पनि भन्नु भयो तर, कुनै स्पेसिफक कुरा गर्नु भएन ।’

ओलीले राष्ट्र हितका कुनै पनि प्रस्तावमा सहिछाप गर्न तयार छु भने । लगतै गठवन्धनका नेताहरुले मधेसी मोर्चा र आफूहरुले उठाएका कुन कुन मागले राष्ट्रहित गर्दैन भन्दा ठोस जवाफ दिन सकेनन् ।

ओलीले बुधबार मधेसी मोर्चासँगको वार्तालाई निर्णायक बनाउन पार्टीमा छलफल भइरहेको बताए । गुप्ता भन्छन्-‘हाम्रो अब्जरभेसन एमालेले यो एजेण्डाको बारेमा अहिलेसम्म दृष्टिकोण बनाएको छैन । एमालेले कुनै धारणा बनायो भने भोलिको वार्तामा कुनै प्रस्ताव आउन सक्छ ।’

शरतसिंह-जेपी गठवन्धनका नेताहरुले मंगलबार विहानै त्यही नौंबुँदे माग प्रमुख विपक्षी दलका नेता सुशील कोइरालालाई बुझाए ।

जवाफमा कोइरालाले त्यही आफ्नो नेतृत्वको सरकारले दर्ता गरेको संशोधन प्रस्ताव दोहोर्‍याए । जसलाई मधेसी मोर्चाले अपर्याप्त भनिसकेको छ । गठवन्धनका नेताहरुले कांग्रेस संशोधनमा मात्र केन्द्रीत हुने हो भने समझदारी हुन सक्दैन भनेपछि कोइरालाले एमाले अनुदार बनेको आरोप लगाए ।

तराई मधेस राष्ट्रिय अभियानका संयोजक समेत रहेका गुप्ताले भने-यदि एमाले सकारात्मक भएर आउँछ भने कांग्रेस अन्य विषयमा पनि तयार भएर आउन सक्छ भनेर उहाँ-कोइराला)ले संकेत गर्नु भएको छ ।’

मधेसी गठवन्धनका नेताहरुले पार्टीको बैठकमा जाने तयारीमा रहेका एमाओवादी अध्यक्ष प्रचण्डलाई पनि भेटे र मागपत्र बुझाए ।

भेटमा प्रचण्डले सम्झाउन खोजे कि यो संविधान अपर्याप्त छ । संविधानसभाबाट संविधान बन्दैन कि भन्ने अवस्था आएको र एमाओवादीविरुद्ध भएको षड्यन्त्र चिर्न संविधान बनाउनु परेको भन्दै उनले मधेसको एजेण्डा जसरी सम्बोधन हुनु पर्ने हो संविधानमा नभएको धारणा राखे ।

साथै उनले मधेसी मोर्चा र गठवन्धनको मागलाई अध्ययन गरेर निष्कर्षमा पुग्ने प्रयास गर्ने आश्वासन दिए ।

प्रधानमन्त्री ओली, कांग्रेस सभापति कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डसँगको भेटपछि गुप्ताको निष्कर्ष छ, कांग्रेेस, एमाले, एमाओवादीले सामूहिक रुपमा गर्नु पर्ने कामका लागि पनि अहिलेसम्म मनस्थिति बनाएको अवस्था देखिएन ।

‘ठूलो तीन पार्टीले समस्या समाधानका लागि सामूहिक रुपले ठोस दृष्टिकोण बनाएको देखिएन, जहाँ समस्याको समाधन लुकेको छ’ गुप्ताले भने-भोलिको वार्ता फलदायी हुने स्थिति मैले देखेको छैन ।’

मधेसी गठवन्धनका नेता गुप्ता मधेसी मोर्चाले पनि वार्तालाई गम्भीरताका साथ नलिएको हो कि भन्ने आशंका गर्छन् । गुप्ताले भने-मधेसी मोर्चाले अहिले पनि शीर्ष नेताहरु बाहिर बसेर दोस्रो तहका नेताहरुलाई ओली, सुशील र प्रच्रण्डजी तहको वार्तामा पठाउँदा मधेसी मोर्चाको पनि गम्भीरता कम देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment