Comments Add Comment

बाबुरामको ‘नयाँ शक्ति’ बुर्जुवाहरुको खिया लागेको हतियारः प्रचण्ड

Prachanda-and-baburam-at-Newbaneshwor

१५ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बाबुराम भट्टराईको नयाँ शक्तिलाई ‘बुर्जवाहरुको पुरानो खिया लागेको हतियार’को संज्ञा दिएका छन् । डा. भट्टराईको अवको मिसन भनेको माओवादीलाई क्षतविक्षत पार्न प्रतिक्रियावादीहरुलाई सघाउनु रहेको प्रचण्डको विश्लेषण छ ।

माओवादी अध्यक्ष प्रचण्डले पार्टीका तत्कालीन वरिष्ठ नेता डा बाबुराम भट्टराईको पार्टी परित्यागलाई ‘नियोजित’ एवं ‘चुनौतीपूर्ण’ बताएका छन् ।

सोमबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले पेश गरेको प्रतिवेदनको शुरुमै बाबुराममाथि कडा आलोचना गरिएको छ ।प्रतिवेदनमा भनिएको छ- ‘बाबुराम भट्टराईको पार्टी परित्यागको निर्णय कुनै आवेगमा आएर भूलबस गरिएको निर्णय होइन, बरु नियोजित रुपमा चालिएको कदम हो ।’

नयाँ संविधान घोषणा लगतै भट्टराईले एमाओवादी परित्यागको घोषणा गरेका थिए । लगतै माओवादीले त्यसलाई गलत निर्णय सच्याएर फर्किन अपील गरेको थियो ।

तर, माओवादीले आग्रह गरेजस्तो भट्टराई पार्टीमा फर्किएनन् । पछिल्लो समय भट्टराई समर्थक अन्य नेताहरुले समेत पार्टी परित्याग गरेका छन् र नयाँ शक्ति निर्माण अभियान सुरु गरेका छन् ।

प्रचण्डले आफ्नो २७ पृष्ठ लामो राजनीतिक प्रतिवेदनको शुरुमै डा. भट्टराईमाथि तीखो प्रहार गरेका छन् । भट्टराईको पार्टी परित्यागबारे लेखेका छन्-‘पार्टी केन्द्रको सही र परिपक्क निर्णय र आग्रहलाई सकारात्मक लिई आफ्नो आत्मसमीक्षा गर्नुको सट्टा बाबुरामजीले हिजो आफैंले गरेका संविधान निर्माण लगायतका कामहरुको समेत स्वामित्व छाड्दै जाने, पार्टीविरुद्ध संवेदनहीन र आपत्तिजनक टिप्पणी गर्दै जाने, प्रतिक्रियावादीहरुको मनोवल उठ्ने तथा जनता र क्रान्तिकारीहरुको मनोवल गिर्ने जस्ता अभिव्यक्ति दिँदै जान थाल्नुभयो ।’

दोस्रो संविधानसभा चुनावपछि नयाँ शक्तिको चर्चा सुरु गरेका बाबुरामले पुँजीवादी नव-उदारवाद र माक्र्सवाद दुवैका राम्रा कुरा मिलाएर नयाँ शक्तिको वैचारिक आधार तयार पर्ने प्रयास गरेको प्रचण्डले आफ्नो राजनीतिक दस्ताबेजमा उल्लेख गरेका छन् । उन प्रतिवेदनमा लेखेका छन्-‘पुँजीवाद र समाजवादलाई मिलाउने भन्ने कुरा विश्व इतिहासमा सबैभन्दा बदनाम माक्र्सवाद विरोधी धारा हो ।’

यसलाई अवैज्ञानिक र अवसरवादी धारा भन्दै प्रचण्डले कुनै पनि सच्चा कम्युनिष्टले यसलाई समर्थन गर्न नसक्ने बताएका छन् । पार्टीमा रहँदा बाबुरामले नयाँ शक्तिबारे आफ्नो धारणा खुला र प्रष्ट रुपमा नराखेको र औपचारिक जवाफ दिएर तर्कने गरेको प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन् । उनले भनेका छन्-आज तथ्यहरुले के सावित गरेका छन् भने उहाँले भन्ने गरेको नयाँ शक्तिको बैचारिक आधार माक्र्सवाद होइन, बरु सामाजिक लोकतन्त्रका रुपमा पुँजीवादी सुधारवाद हो ।’

पुँजीवादको विशेषता चरम व्यक्तिवाद र अराजकतावाद भएको भन्दै प्रचण्डले लेखेका छन्-बाबुराम भट्टराईले पार्टी परित्यागको सन्दर्भमा ठीक त्यही विधि, पद्धति र नैतिकताको प्रदर्शन गर्नु भएको छ ।’

पार्टी र सहयोद्धालाई समेत छलेर एकलौटी रुपमा पार्टी छाडेको र माक्र्सवाद विरोधीहरुसँगको सहकार्यमा रमाएको भन्दै प्रचण्डले आफूलाई मत दिने जनतालाई समेत थाहा नदिई संसद छाड्नुले बाबुरामले चरम अराजकतावादी व्यक्तिवाद छर्लङ्ग भएको बताएका छन् । प्रचण्डले आफ्ना पूर्वसहकर्मी बाबुरामको अबको मिसन नयाँ शक्तिका नाममा माओवादीलाई क्षतविक्षत पार्न प्रतिक्रान्तिकारीहरुलाई सहयोग पुर्‍याउनु भएको समेत दाबी गरेका छन् ।

माओवादी पार्टी र यसका नेतृत्वविरुद्ध रातो स्टीकर, अख्तियारसम्मका कुरा गर्नुले पनि भट्टराईको मिसन संकेत गरेको प्रचण्डले बताएका छन् । प्रचण्डले दस्ताबेजमा लेखेका छन्- ‘बाबुरामको पार्टी परित्याग माक्र्सवाद, कम्युनिष्ट आन्दोलन, जनयुद्ध, त्यसका महान सहिद, बेपत्ता योद्धा श्रमजिवी जनतालाई परित्याग गर्नु तथा प्रतिक्रियावाद र अवसरवादसँग नयाँ सम्वन्ध कायम गर्नु बन्न पुगेको छ ।’

प्रचण्डले भट्टराईमा वैचारिक, राजनीतिक र सांस्कृतिक विचलन आएको भन्दै त्यसको खण्डन, आलोचना र भण्डाफोर गर्नु पर्नेमा जोड दिएका छन् । साथै सैद्धान्तिक विरोध गर्दा व्यक्तिगत गालीगलौज, चरित्रहत्या जस्ता शैलीलाई नअपनाउन निर्देशनसमेत लिएका छन् ।
प्रचण्डले दस्तावेजको पहिलो पृष्ठमै लेखेका छन्- ‘आज नेपालमा एकपटक फेरि मार्क्सवादको औचित्य समाप्त भएको घोषणा बाबुराम भट्टराईजस्तो विद्वानका मुखबाट गराउन पुँजीवाद र साम्राज्यवादले सफलता प्राप्त गरेको छ ।’

प्रचण्डले मंगलबार पेश गरेको राजनीतिक प्रतिवेदनमा बाबुरामको बहिर्गमनबारे लेखेका छन्-‘उहाँको बहिर्गमन सम्पूर्ण सच्चा कम्युनिष्टहरुका लागि एउटा चुनौती हो… यो चुनौतीलाई स्वीकार गर्नुको अर्को विकल्प छैन ।’

प्रचण्डले दस्ताबेजको ठाउँ ठाउँमा बाबुरामलाई आलोचना गर्न बिर्सेका छैनन् । भट्टराइृको नयाँ शक्तिलाई उनले ‘बुर्जवाहरुको विज्ञापन’ को संज्ञा दिएका छन् । प्रचण्डले भनेका छन्-‘नयाँ शक्तिका नाममा बुर्जुवाहरुको खिया लागेको पुरानो हतियारको विज्ञापन गरिँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment