Comments Add Comment

सन्दर्भ पुस १ः राजा महेन्द्र, जसले भारतीय सेनालाई नेपालबाट धपाए

Raprau Pokrel

राप्रउ पोखरेल

हामीले राजा महेन्द्रलाई आजपर्यन्त नेपालको इतिहासका खलनायकका रुपमा चित्रण गर्दै आयौं । सायद यतिबेला इतिहासको पुनरावलोकन जरुरी भएको छ । भारतीय ज्यादतिले देश तहसनहस बनाइरहँदा महेन्द्रलाई सम्झिनुपर्ने धेरै कारणहरु छन् ।

महेन्द्रले नेपाललाई जे-जस्ता योगदान दिएका छन्, अहिलेको पुस्तालाई यसको विषयमा जानकारी नदिएर दिग्भ्रमित तुल्याइरहनु घोर अन्यायपूर्ण हुनेछ । राजा त्रिभुवनलाई नायक र महेन्द्रलाई खलनायकका रुपमा जसरी स्थापित गराइएको छ, यो सर्वथा गलत हो ।

आफ्नो गद्दी त्यागी भारतीय दूतावासमा शरण माग्न गएर त्रिभुवनले देशको शीर झुकाएका थिए । अर्कोतर्फ नेपालमा कायम रहेको भारतीय दबदबालाई अंकुश लगाउँदै नेपाललाई एउटा स्वाधीन राष्ट्रतर्फको यात्रामा अघि बढाए महेन्द्रले । नेपाललाई एउटा सार्वभौम राष्ट्रको रुप दिएको महेन्द्रले नै हो ।

महेन्द्र उच्च कोटीको राजनीतिक र कुटनीतिक चातुर्यता भएका दूरदर्शी राजा थिए । आजको विन्दूबाट हामीले इतिहासलाई फर्केर हेर्दा उनले चालेका प्रत्येक कदम दुरदर्शी एवम् राष्ट्रिय भावनाबाट प्रेरित रहेको अनुभव गर्छौ ।

सरकारको जानकारी बेगर कुनै विदेशी कुटनीतिज्ञलाई भेटेको खण्डमा देशद्रोहको मुद्दासम्म लगाइन्थ्यो । जब कि महेन्द्र आउनुअघि २००७ सालदेखि ११ सालसम्मको अवधिमा नेपालमा भारतले नै परोक्षरुपमा शासन गरेको थियो भन्दा पनि हुन्छ

जहाँसम्म निरंकुश भन्ने सवाल छ, यो सत्य हो कि उनले प्रजातन्त्र खोसेका हुन् । तर, इतिहासले कहिलेकाहीँ एक हदसम्म तानाशाह र निरंकुश शासन व्यवस्थाको पनि माग गर्दोरहेछ । मैले आज आएर यो महसुस गर्दैछु ।

हामीले विश्वका अनेक विकसित राष्ट्रका उदाहरण हेर्न सक्छौं जहाँ विगतमा तानाशाहले शासन गरेका थिए ।

वैचारिक रुपले म विगतदेखि एक कम्युनिस्ट हुँ । तत्कालीन समयमा राजाको कदमको विरोध गर्दा चारपटक जेलसमेत परेँ ।

तर, ०४६ सालको परिवर्तनपछि मैले इतिहासलाई पुनर्मूल्यांकन गरेर हेरेँ । यो कालखण्डमा भारतीय दबदबाले २००७ सालदेखि ११ सालसम्मको कालखण्डलाई सम्झाएको छ । पञ्चायतका तुलनामा प्रजातन्त्रमा हजारौं गुणा धेरै विकृतिहरु थुप्रिएका छन् । भारतपरस्त नीतिले गर्दा राष्ट्रियता कमजोर भएको छ भने अर्थतन्त्र खोक्रो बनेको छ ।

फर्केर हेर्दा, मैले पाएँ कि राजा महेन्द्रले प्रत्यक्ष शासन चलाएको कालखण्ड मात्रै यस्तो थियो, जहाँ नेपाल भारतीय हस्तक्षेपबाट धेरै हदसम्म अछुतो रह्यो । महत्वपूर्ण कुरा, यो काम उनले भारतसित सम्वन्ध नबिगारिकन गरेका थिए । अहिलेजस्तो भारतीय राजदूत नेपालको मुख्यमन्त्रीसरह हुने अवस्था महेन्द्रको कार्यकालमा थिएन ।

त्यतिबेला यहाँसम्म कि सरकारको जानकारी बेगर कुनै विदेशी कुटनीतिज्ञलाई भेटेको खण्डमा देशद्रोहको मुद्दासम्म लगाइन्थ्यो । जब कि महेन्द्र आउनुअघि २००७ सालदेखि ११ सालसम्मको अवधिमा नेपालमा भारतले नै परोक्षरुपमा शासन गरेको थियो भन्दा पनि हुन्छ । मन्त्रिपरिषदको बैठक भारतीय दूतावासमा बस्ने कुरा सामान्य थियो त्यतिबेला । राजाका सचिव गोविन्दनारायण सिंह भारतबाटै परिचालित थिए । उनलाई असीमित अधिकार थियो ।

अर्थतन्त्रको कायापलट

महेन्द्र आउनु अगाडि नेपालमा राज्यका न्यूनतम पूर्वधारहरु समेत थिएनन् । राजनीतिक, आर्थिक, प्रशासनिक सबै ढंगबाट नेपाल भारतमा निर्भर थियो । २००७ सालदेखि २०११ सम्मको बीचमा भारतसितको आर्थिक निर्भरता ९५ प्रतिशत थियो । महेन्द्रले त्यसलाई ६० प्रतिशतभन्दा तल ल्याए । उनलेे नेपाललाई स्वाबिलिम्ब अर्थतन्त्र उन्मुख गराए ।

King-Mahendraराजा हुनासाथ महेन्द्रले आर्थिक तथा प्रशासनिक संरचनाहरुको निर्माणमा आफ्नो सारा ध्यान केन्द्रित गरेका थिए । उनले नेपाल राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगको स्थापना गरेर अर्थतन्त्रलाई व्यवस्थापन गरे । विदेशी राष्ट्रहरुको सहयोगमा भौतिक पूर्वाधारहरु निर्माण गरेर अर्थतन्त्रको जग बसाल्ने काम गरे । स्वदेशी उद्योगधन्दाहरु विकास गरेर भारतीय परनिर्भरतालाई न्यूनीकरण गर्दै गए । वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरु, सबै उनकै पालामा स्थापना भएका हुन् ।

महेन्द्रले स्थापना गरेका यी यावत् उद्योग धन्दाहरुलाई भारतीय चालवाजीमा ०४६ सालपछि बनेको नेपाली कांग्रेसको सरकारले सखाब बनाइदिएको छ ।

पूर्व-पश्चिम राजमार्ग राजा महेन्द्रको महत्वपूर्ण देन थियो । उक्त राजमार्ग नहुँदासम्म तराईमा एउटा जिल्लाबाट अर्को जिल्ला जानुपर्दा भारतको बाटो प्रयोग गर्नुपथ्र्यो । विदेशी सहयोगमा राजमार्ग निर्माण गरेर यो अवस्था अन्त्य गरे ।  महेन्द्रको चतुरता कति थियो भने उनले सुरुमा यो राजमार्गका निर्माणका लागि भारतलाई अनुरोध गरेका थिए ।

तर, भारतले नमानेपछि रुसको सहयोग लिएका हुन् । ढल्केबरदेखि पथलैयासम्मको सडक रुसले बनाइदिएपछि भारत पनि आकषिर्त भएको थियो । ढल्केबरदेखि मेची खण्ड भारतले बनाइदियो भने हेटौडा नारायणघाट खण्ड एशियाली विकास बैंक, नारायणघाट-बुटबल खण्ड बेलायत र बुटबल कोहलपुर खण्ड भारतले बनाइदिएको थियो ।

अहिले हामीले चर्चा गरिहेको व्यापार विविधीकरणको सोच महेन्द्रले उतिबेलै व्यवहारमा अपनाएका थिए । कोदारी राजमार्गको निर्माण यसको ज्वलन्त उदाहरण हो । यही कोदारी राजमार्ग अहिले हाम्रा लागि एउटा आशाको त्यान्द्रो बनिरहेको छ । चीनले कोदारी राजमार्ग निर्माण गर्ने भनेपछि भारत तीव्ररुपमा आक्रोशित बनेको थियो । चीनले नेपालमा प्रभुत्व सिर्जना गर्न खोजेको भनेर उसले हौवा पिटे पनि उनी डग्मगाएनन् । राजमार्ग निर्माण सम्पन्न गरेरै छाडे । यसरी राजा महेन्द्रले आफ्नो कुटनीतिक चातुर्यता प्रयोग गरी चौतर्फीरुपमा वैदेशिक सहयोग हासिल गर्न सफल भए ।

राष्ट्रियताको सम्वर्द्धन

राष्ट्रियताको संवर्द्धनमा राजा महेन्द्रको भूमिका अविस्मरणीय रहेको छ । जतिबेला हिन्दी भाषाको नेपालमा अत्यधिक दबदबा थियो, उनले नेपाली भाषालाई राष्ट्रभाषाका रुपमा स्थापित गरेर यसलाई देशव्यापी बनाए । उनले त्यतिबेला लागू गरेको एउटै भाषा एउटै भेषको नीति कति दूरदर्शी थियो भन्ने आज आएर सान्दर्भिक भएको छ । अहिले नेपाललाई जातको आधारमा, भाषाको आधारमा विभाजन गर्ने दुस्प्रयासहरु भइरहेका छन् । जबकि उनले भाषा र भेषभुषाकै आधारमा समेत देशलाई एक सूत्रमा बाँध्ने काम गरे ।

संयुक्त राष्ट्रसंघको सदस्यता दिलाउनेदेखि लिएर नेपाललाई शान्तिक्षेत्रका रुपमा स्थापित गराउने सोच महेन्द्रकै हो । शान्ति क्षेत्रको प्रस्ताव भने सफल हुन सकेन

राष्ट्रबैेंकको स्थापना गरेर राजा महेन्द्रले नेपाली मुद्रालाई अधिराज्यभरि अनिवार्य गरिदिए । जबकि त्यतिबेला नेपालमा ९० प्रतिशत भारतीय मुद्राको चलनचल्ती थियो । ०१७ साल अगाडि नेपालको भूमि खरिद-विक्री गर्न भारतीयहरु स्वतन्त्र थिए । महेन्द्रले कुनै पनि विदेशीलाई नेपालको भूमि खरिद गर्न रोक लगाइदिए ।

अन्तर्राष्ट्रिय जगतमा नेपाललाई स्थापित गराउन महेन्द्रले खेलेको भूमिकालाई पनि स्मरण नगरिरहन सकिन्न । संयुक्त राष्ट्रसंघको सदस्यता दिलाउनेदेखि लिएर नेपाललाई शान्तिक्षेत्रका रुपमा स्थापित गराउने सोच उनैको हो । शान्ति क्षेत्रको प्रस्ताव भने सफल हुन सकेन । पञ्चशीलको सिद्धान्तलाई अंगीकार गर्दै उनले छिमेकी देशहरुसित दौत्य सम्वन्ध बनाएर त्यसलाई सन्तुलनमा राखे ।

सामाजिक सुधार

सामाजिक सुधारका क्षेत्रमा पनि राजा महेन्द्रले प्रशस्तै योगदान दिएका छन् । ०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी उनले छुवाछुत, जातिभेद र लिंग भेदविरुद्धको नीति अख्तियार गरेका थिए । ०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै उनले जमिन्दारी प्रथा र बिर्ता उन्मूलन गरी जग्गा जोत्ने मोहीहरुको अधिकार सुरक्षित गरे ।

त्रिभूवन विश्वविद्यालयको आधुनिकीकरण गर्दै उच्च शिक्षा नेपालमै हासिल गर्ने अवस्था सिर्जना गरे भने पाठ्यक्रमबाट भारतीय पुस्तकहरु विस्थापित गरिदिए ।

भारतीय सेना फिर्ता

महेन्द्रले भारतविरुद्ध चालेको सबैभन्दा साहसिक कदमका रुपमा लिन्छु, ०२८ सालमा नेपाल तिब्बत सिमामा राखिएका भारतीय सैनिकका १७ वटा चेकपोष्टहरु हटाउने कार्य । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा भारतभक्तका रुपमा खुल्दै गएपछि उनले ०२६ सालमा थापालाई अपदस्थ गरेर कीर्तिनिधि विष्टलाई प्रधानमन्त्री बनाएका थिए । भारतीय चेकपोष्ट हटाउने विषयमा उनी आफैं संलग्न नभईकन कीर्तिनिधिलाई अघि सारे । कीर्तिनिधिले सुरुमा भारतलाई आफ्नो चेकपोस्ट फिर्ता लैजान अनुरोध गर्दै लिखित पत्र पठाए ।

नेपाल एउटा स्वाधीन राष्ट्र भएकाले विदेशी सैनिकको उपस्थिति हाम्रो र हाम्रा छिमेकीको हित अनुकलमा छैन भन्दै उनले पत्र लेखे । तर, भारतले कुनै सुनवाइ गरेन । त्यसपछि कीर्तिनिधिले भाषण गरे कि १९५० को सन्धीको कुनै वैधानिकता छैन भनेर । नेपालले आफैं ती चेकपोष्टहरु हटाउने तयारी गरेपछि तत्कालीन भारतीय परराष्ट्रमन्त्री विनयसिंह नेपाल आए । उनले सरकारलाई प्रष्ट शब्दमा भने कि यसको नतिजा राम्रो हुने छैन ।

चेकपोष्ट हटाएको निहुँमा नै भारतले नेपालमाथि ०२८ सालमा नाकाबन्दी लगाइदिएको थियो । तर, त्यो बेलाको नाकाबन्दीले नेपालाई अहिलेजसरी हल्लाउन सकेन

अहिले भारतीय दूतका रुपमा विदेश सचिव एस जयशंकरको आगमन यस्तै शैलीमा भएको थियो । तर, सरकार आफ्नो अडानबाट पछि नहटेपछि यो विषय अन्तर्राष्ट्रियकरण हुने डरले भारतले ती चेकपोष्टहरु फिर्ता लग्यो । नेपाल सरकारले भारतलाई झुकाएको दुर्लभ घटनाका रुपमा यसलाई लिन सकिन्छ । अहिलेको जस्तो परिस्थिति हुँदो हो त यो कल्पनाभन्दा टाढाको कुरा हुन जान्थ्यो । कोशी ब्यारेज भत्किएपछि ०६५ सालमा भारत हुँदै चल्ने सवारी साधनलाई रुट परमिट दिनका लागि लागि भनेर बिराटनगरमा अस्थायीरुपमा खडा गरिएको कन्सुलर कार्यालयसम्म नेपालको सरकारले अझै हटाउन सकेको छैन । जबकि उक्त कार्यालय खोल्नुको प्रयोजन उतिबेलै समाप्त भइसकेको हो ।

चेकपोष्ट हटाएको निहुँमा नै भारतले नेपालमाथि ०२८ सालमा नाकाबन्दी लगाइदिएको थियो । तर, त्यो बेलाको नाकाबन्दीले नेपालाई अहिलेजसरी हल्लाउन सकेन । पेट्रोलियम बाहेकमा भारतीय निर्भरता खासै थिएन । पेट्रोलियमको खपत पनि अहिलेको जस्तो व्यापक थिएन । त्यसैले भारतीय नाकाबन्दीले ठूलो असर सिर्जना गर्न नसकेपछि भारत पछि हट्न बाध्य बन्यो ।

राजा महेन्द्रले चालेका प्रत्येक कदमहरु एकपछि अर्को गर्दै भारतलाई धक्का दिने खालका थिए । उनले नेपालमा भारतीय प्रभावलाई पहिलेको तुलनामा ४० प्रतिशतभन्दा तल झारेका थिए । जसको फलस्वरुप भारतले उनलाई नरुचाउनु स्वभाविक नै हो ।

महेन्द्रलाई खलनायकको रुपमा नेपाली जनमानसमा स्थापित गराउन भारतले खतरनाक पब्लिसिटी गर्दै आएको छ । महेन्द्रविरुद्ध उसले प्रयोग गरेको सबैभन्दा ठूलो गोटी नै नेपाली कांग्रेस र यसका नेताहरु हुन् । वीपी कोइराला असल राजनीतिज्ञ हुँदाहुँदै पनि भारतपरस्त थिए । उनले एकपटक होइन, दुईपटक बोलेका छन्, नेपाल भारतको अभिन्न अंग हो भनेर । पछि अलिकति सच्याएर उनले भने, नेपाल भारतमा आश्रति स्वतन्त्र मुलुक हो ।

०१७ सालको कदम

महेन्द्रका हरेक काम व्यवस्थित, योजनावद्ध र दुरदर्शिताले भरिएका हुन्थे । ०१७ सालको कदम ज्ञानेन्द्रले गरेको कु जस्तो आलोकाँचो र हचुवा थिएन

महेन्द्रले ०१७ सालमा जननिर्वाचित सरकार अपदस्थ गरेर राजनीतिक दलहरुमाथि प्रतिवन्ध लगाएर एकतन्त्रीय शासन चलाए । यही आधारमा उनलाई प्रजातन्त्रविरोधी, निरंकुश, तानाशाह जस्ता आरोपहरुले सिंगार्ने गरिएको छ ।

हो, महेन्द्र एक महत्वाकांक्षी राजा थिए । आफैंले प्रत्यक्ष शासन चालाउने मोह उनमा थियो नै । ०१७ सालको ‘कु’मा यसबाहेकका कारणहरुसमेत छन् । मूल कारण भनेको नेपाललाई भारतीय हस्तक्षेप र प्रभावबाट जोगाउनु थियो ।

वीपी कोइराला आधारभूत रुपमा भारत परस्त नै हुन् । कांग्रेस पार्टी नै भारतले जन्माएको र हुर्काएको पार्टी हो । त्यसैले अहिले हेर्दा त्यो कांग्रेस र विपी कोइरालालाई प्रयोग गरेर भारतले नेपालमा आफ्नो स्वार्थसिद्द गर्नबाट जोगाउन महेन्द्रले उठाएको वाध्यकारी कदम थियो भन्ने मलाई लाग्छ । महेन्द्रका हरेक काम व्यवस्थित, योजनावद्ध र दुरदर्शिताले भरिएका हुन्थे । ०१७ सालको कदम ज्ञानेन्द्रले गरेको कु जस्तो आलोकाँचो र हचुवा थिएन । उनले पूरा तयारीका साथ गरेका थिए । त्यसैको प्रतिफल हो कि उनले देशमा पञ्चायती शासन लागू गरेर जीवनपर्यन्त अकन्टक शासन चलाए ।

प्रस्तुतिः चिरञ्जीवी पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment