Comments Add Comment

अब तेलको लाइनमा बस्नु पर्दैन, यसरी हुन्छ एसएमएसबाट बुकिङ (तरिकासहित)

३ पुस, काठमाडौं । नेपाल आयल निगमले तेल भर्न लाइन बस्न नपर्ने गरी ‘क्यु म्यानेजमेन्ट सिस्टम’ लागू गर्ने भएको छ । त्यसका लागि निगमले सबै तयारी पूरा गरिसकेको छ ।

पहिलो चरणमा निजी कार तथा जीपलाई तेल वितरण गर्दा ‘क्यु म्यानेजमेन्ट सिस्टम’ लागू गरिने आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले अनलाइनखबरसँग बताए ।

अबको एक हप्तापछि मात्र निजी कार/जीपले तेल पाउनेछन् । र,यो पटक लाइन बस्न नपर्ने गरी एसएमएसबाट बुकिङको सुरुवात गर्दैछ ।

कहिलेबाट सुरु हुन्छ बुकिङ ?

कार वा जीपलाई तेल वितरणको तालिका सार्वजनिक भएपछि मात्रै यो सिस्टमबाट बुकिङ सुरु हुनेछ । सबै पम्पहरुबाट नभएपनि केही पम्पहरुमा प्रयोगका रुपमा यो प्रविधिको सुरुवात गरिने खड्काले बताए ।

क्यू म्यानेजमेन्ट सिस्टम एसएमएसमार्फत लाइन व्यवस्थापन गर्ने आधुनिक अवधारणा हो । उपभोक्ताले मोबाइलबाट एसएमएस गरेर आफुले कुन दिन, कुन पेट्रोल पम्पबाट, कति नम्बरको पालोमा तेल पाउने भन्ने जानकारी लिने गरी यो सिस्टम विकास गरिएको खड्काले जानकारी दिए ।

त्यसका लागि सवारीमा तेल हाल्ने उपभोक्ताले सरकारले तोकेको हेलो सरकारको ११११ नम्बरमा एसएमएस गर्नुपर्नेछ । उपभोक्तालाई उसले तेल पाउनेबारे सबै विवरण एसएमएसबाटै रिप्लाइ गर्नेछ । यो सिस्टम लागू गर्न सके उपभोक्ता हप्तादिनदेखि ग्यास र तेलको लाइनमा बस्नुनपर्ने सरकारको दावी छ ।

कसरी प्रयोग गर्ने ?

SMS for Fuel and Gass Booking

यो प्रणाली अन्तर्गत उपभोक्ताले म्यासेज बक्समा REQ-P/D/G सवारीको ब्लु बुक नम्बर-जिल्ला एसटीडी कोड-आफ्नो निर्वाचन क्षेत्र स्पेश-s/m/l  टाइप गरी ११११ मा पठाउनु पर्नेछ ।

मोटरसाइकजस्ता साना सवारी साधन हुनेले ‘स्मल’ अर्थात S, कार लगायत मध्यम आकारका सावारी साधनका लागि ‘मिडियम’ अर्थात M र ठूला सवारी साधनका चालकले ‘लार्ज’ अर्थात L टाइप गर्नुपर्नेछ । ग्यास चाहिनेले G, पेट्रोल चाहिनेले P र डिजेल चाहिनेले D टाइप गर्नुपर्नेछ ।

एसटिडी कोड भन्नाले काठमाडौंको ०१ जस्तै फोन कोड बुझ्नुपर्छ । यहाँ (-) ले स्पेश अर्थात खाली ठाउँलाई बुझाउँछ ।

यसरी म्यासेज गरेपछि सिस्टमले नै कुन पम्पमा सो ब्लु-बुकवाला सवारीका उपभोक्ताले कति नम्बरको पालोमा तेल हाल्न पाउँछन् भन्ने जानकारी सहित एसएमएस रिप्लाइ आउनेछ ।

त्यसअनुसार उपभोक्ता पम्पमा तेल हाल्न जान सक्छ । पहिलो चरणमा कारलाई तेल वितरण गर्दा निश्चित पम्पहरुमा यसको प्रयोग गरिने कार्यकारी निर्देशक खड्काले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमलाई उपभोक्ताको सास्ती कम गर्न निजी सवारीलाई तेल दिँदा एसएमएसमार्फत टोकन लिने व्यवस्था गर्न भनिसकेको छ ।

केही समयअघि वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले साझाको पेट्रोलपम्पमा आफैंले यो सिस्टमको परीक्षण सुरु गरेका थिए । मास्टर आइडी नामक कम्पनीले विकास गरको यो यो प्रणालीलाई सरकार किनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment