Comments Add Comment

राष्ट्रप्रमुख पशुपतिनाथप्रति उत्तरदायी कि जनताप्रति ?

President bidhya bhandari At Pasupatinath (16)

१५ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पहिलो महिनाको तलब पशुपति विकास कोषलाई दिएपछि यो विषय बहसमा तानिएको छ ।

बुधबार केही राष्ट्रिय स्तरका मिडियाले सम्पादकीय नै लेखेर राष्ट्रपतिले मन्दिरमा तलब चढाउनुभन्दा भूकम्प पीडितलाई दिएको भए राम्रो हुन्थ्यो भन्ने आशय प्रकट गरेका छन् ।

बरिष्ठ पत्रकार तीर्थ कोइरालाले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै राष्ट्रपतिले आफ्नो तलब भूकम्प पीडितलाई दिएको भए हुन्थ्यो भनेका छन् ।

तर, भूकम्पपीडितको राहतसमेत भ्रष्टाचार गरेर खाने र पशुपतिलाई एक रुपैयाँ पनि नदिनेहरुले यस्तो कुरा गर्न नसुहाउने भन्दै आफूप्रति आलोचना आएको समेत पत्रकार कोइरालाले लेखेका छन् ।

Tidtra-Koirala

पुस महिना लाग्नासाथ राष्ट्रपति जनकपुरस्थित रामजानकी मन्दिरमा गइन् । त्यहाँ पनि उनी विवादमा परिन् । पशुपतिनाथमा उनले सोमबार राष्ट्रको संकटमोचनका लागि भन्दै पूजा गरिन् र एक महिनाको तलब १ लाख २१ हजार ९ सय ६० रुपैयाँ पशुपतिनालाई दिइन् ।

नेपाली समाजमा एउटा आलोच्य बहस के हुँदै आएको छ भने ज्युँदालाई भोकै राखेर पितृलाई खुवाउने चलन कत्तिको वैज्ञानिक होला ? भूकम्पको पीडाले सुत्केरीहरुले वालबच्चा बचाउन नसकिरहेको र बूढापाकाहरु कठाङ्गि्रएर मरिरहेको समाचार आइरहेका बेला राष्ट्रपतिले आफ्नो प्रथम महिनाको तलब तिनै पीडित नागरिकलाई बचाउने काममा अर्पण गरेको भए त्यो जनपक्षीय एवं वैज्ञानिक नीति हुने थियो भन्ने कतिपय विचार सुन्न थालिएको छ ।

उसो त पूजा गरेर राष्ट्रको संकट टर्छ भन्ठान्नु पनि आफैंमा रुढीवादी सोचाइ नै हो । यो सोचाइ धामी लगाएर विरामी निको हुन्छ भनेर सोचेजस्तै हो । दोस्रो, जनतालाई दुःखलाई वास्ता नगर्ने तर पात्रलाई दान गरेर पुण्य कमाइन्छ भन्ने सोचाइ पनि गणतान्त्रिक नभएर राजाकालीन विचार हो भन्ने स्पष्टै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथप्रति उत्तरदायी छिन् या नेपाली जनताप्रति ? यो बहसको विषय हो । त्यस्तै उपराष्ट्रपति आफ्नो परिवारप्रति उत्तरदायी छन् या जनताप्रति ? यो अर्को प्रश्न हो

राष्ट्रपति भण्डारीले त्यही दैवी विचार र व्यवहार प्रदर्शन गरेपछि उनको कार्यमाथि टिप्पणी भएको हो । पशुपतिमा पूजाआजा गर्न जानु राष्ट्रप्रमुखको हैसियतले सामान्य र स्वाभाविक नै मान्न सकिन्छ । तर, आफ्नै इच्छाले ‘संकटमोचन पूजा’ गर्नु र पहिलो महिनाको तलब जनताको साटो ‘भगवान’ लाई चढाउनुले उनी बहसमा तानिएकी हुन् ।

जनकपुरको रामजानकी मन्दिरमा पूजा गर्न जाँदा राष्ट्रपतिमाथि कालोझण्डा प्रदर्शन हुनु राजनीतिक विषय नै भए पनि भोलिपल्ट मन्दिरमा गञ्गाजल छर्किने नाममा उनीमाथि ठूलो अपमान भयो, त्यो निन्दनीय विषय थियोे ।

तर, त्यसको जवाफमा राष्ट्रपतिले आफ्नो पहिलो महिनाको तलब मिथिलाका गरीब एवं एकल महिलाहरुलाई न्यानो कपडा किन्नका लागि दिने घोषणा गरेको भए राम्रो हुन्थ्यो । र, त्यो भगवान रामचन्द्रले अभ्यास गरेको मानिने ‘राम राज्य’को नैतिक सिद्धान्तसँग मिल्दोजुल्दो हुने थियो ।

पहाडका भूकम्प पीडितहरुजस्तै मधेसका गरीबहरु चिसोले कठांगि्रइरहेका छन् । गरीवीको मार महिला, वालवालिका र वृद्धवृद्धाहरुमा बढी परेको छ । तराई मधेसमा एकल महिला अर्थात विधवाहरुको स्थिति पनि पीडादायी छ । आफ्नो पहिलो महिनाको तलब राष्ट्रपतिले मिथिलावासी ती महिला वालवालिका वा केटाकेटीका नामका दिएको भए त्यो बढी अर्थपूर्ण हुने थियो । आगामी दिनमा राष्ट्रपतिले यस्तो जनपक्षीय नीति अपनाउनु जरुरी देखिएको छ ।

पशुपतिमा चढाइने भेटीको पारदर्शिता अहिलेसम्म हुन सकेको छैन । त्यहाँ हुने कमाइमा अनियमिता हुने गरेको आवाज उठ्ने गरेको छ । यस्तो अवस्थामा पशुपतिमा पैसाको कुनै अभाव छैन । सरकारले पनि कोषलाई बजेट छुट्याउने गरेको अवस्था छ । तर, भूकम्प पीडितहरु जाडोमा एकजोर कपडा नपाएर मरिरहेका छन्, जुन सामान्य विषय होइन ।

उपराष्ट्रपतिको पनि उस्तै पारा

जनताले आफ्नो राष्ट्रप्रमुख आफैं चुन्न पाउने गणतन्त्रमा राष्ट्र प्रमुखहरुको व्यवहार पनि विगतका राजा महाराजाको जस्तो नभएर जनताका आफ्नै वर्गको जस्तो होस् भन्ने अपेक्षा हुनु स्वाभाविकै हो ।

तर, राष्ट्रपतिले जस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पुसको जाडोमा हेलिकोप्टर चढेर रोल्पास्थित आफ्नो घरको भ्रमण गरेका छन् र पैसेरु नाचमा रम्ने काम गरेका छन् । यस्तो बेलामा उपराष्ट्रपतिबाट पनि पीडित जनताको पक्षमा सहानुभूति प्रकट हुन सकेन । यो अर्को दुखद पाटो हो ।

जनता पीडाले छटपटाइरहेका बेला राष्ट्रका अविभावकहरुले गरेको यस्तो व्यवहार के स्वाभाविक छ ? कि यो आलोच्य विषय हो ? यसबारे बहस सुरु भएको छ, जुन बहसले पक्कै पनि राष्ट्रपति र उपराष्ट्रपतिलाई शिक्षा दिने छ ।

भगवानप्रति उत्तरदायी कि जनताप्रति ?

राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथप्रति उत्तरदायी छिन् या नेपाली जनताप्रति ? यो बहसको विषय हो । त्यस्तै उपराष्ट्रपति आफ्नो परिवारप्रति उत्तरदायी छन् या जनताप्रति ? यो अर्को प्रश्न हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment