Comments Add Comment

समीक्षाः २ करोड खर्चमा पनि सफा नभएको बागमती

Bagmati-nepali-movie

नेपाल पहिलेको जस्तो नेपाल रहेन, तर राजेश उही राजेश हो । जब, लामो समयपछि पर्दामा यही संवाद बोल्दै नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमाल स्क्रिनमा देखिन्छन्, परर ताली नबजाउने कोही पनि हुँदैनन् ।

राजेश हमाललाई लामो समयपछि पर्दामा देखेका दर्शकलाई उनीप्रतीको प्रेम र क्रेज अझ बढेर जान्छ । तर, के करिब १ घन्टा ३८ मिनेट लामो चलचित्र बागमतीले हमालको यो क्रेज बचाइराख्छ त, आउनुहोस् समिक्षा गरौं ।

कथावस्तु

आफ्नी ६ बषिर्य छोरी कञ्चनको मुटुको अप्रेशनका लागि भौतारिएको एक पिता र उसको जीवनमा आइपर्ने विभिन्न घटनाक्रम नै बागमतीको मुख्य अंश हो । जसको बिचमा, राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी जस्ता पात्रको प्रवेश हुन्छ । छोरीको अप्रेशनका लागि गलत काम समेत गर्न पुगेको बाबु रविको भेट राजेश नामको एक अपराधीसँग हुन्छ । सोही कथावस्तुको सेरोफेरोमा घुमेको छ, चलचित्र बागमती ।

के हेर्ने ?

साउथ इन्डियन निर्देशक सन्नी केरलाको निर्देशनमा उच्च प्रविधी प्रयोग गरेर नेपालमा आजसम्म नै नबनेको चलचित्र भन्दै यसलाई प्रचार गरिएको थियो । हलमा पुग्दा दर्शकले त्यो त हेर्न पाउँदैनन्, तर यसको प्रविधी भने केही फरक लाग्छ । हलमा गुञ्जने साउण्ड आम नेपाली चलचित्रको भन्दा विल्कुल फरक छ । सुरुको दश मिनेटमा राजेश हमाल र शिव श्रेष्ठको जुन खालको एक्सन समावेश छ, साच्चै रोचक छ ।

द्धन्द्ध निर्देशक राजकुमार उप्रेतीले बागमतीको एक्सनलाई ताली बजाउने खालकै बनाएका छन् । चलचित्रमा हेर्नलायक कुरा यही नै हो । साथमा राजेश हमालका फ्यानले उनको हाँसो र संवादकै लागि चलचित्र हेर्छन् भने, त्यो बागमतीमा देख्न सकिन्छ ।

bagmati

कमजोरीको खानी बनेको छ बागमती

जसरी, काठमाण्डौ शहरमा रहेका बागमती प्रदुषित हुँदै गयो, यसले काठमाण्डौको सोभा पनि हराएको छ । त्यसरी नै चलचित्र भित्र, बागमती काठमाण्डौको बागमती जस्तै बनेको छ । चलचित्रको कथावस्तुमा तालमेल नहुनु, पात्रको उत्पत्ती र त्यसको विकास हुन नसक्नु चलचित्रको मुख्य कमजोरी हो ।

चलचित्रको सुरुवातमा जुन प्रकारको शैली देखाइएको छ, त्यसको विकास हुन नसक्दा दर्शकलाई केही छिनमै चलचित्र पट्यारलाग्दो बनेको छ । बागमती नामक एक टि्रपरमा कुदिरहेका बाबुको कुदाइमा नै चलचित्र सकिन्छ । एउटै पात्रलाई यती लामो समयसम्म देखाउँदा र घटनाक्रमको विकास गर्न नसक्दा चलचित्र दिक्क लाग्दो बन्छ । कुनै पनि पात्रको काम के हो र उसलाई चलचित्रमा कुनै तरिकाले प्रस्तुत गर्न खोजिएको हो भन्ने नै बागमतीमा स्पष्ट छैन । हुनत, निर्देशकले दर्शकलाई यसको सिक्वेल पर्खन आग्रह गर्दै चलचित्र सकाएका छन् । तर, पहिलो पाटो नै सशक्त नबनाएर दोश्रो पाटोमा पर्खनु भन्नु मुर्खता हो ।

प्रहरीको चेकमा पर्दा, गाडीमा बोकिएको लास प्रहरीले नेहुर्न, छामछुम गरेपनि लास ढाकिएको त्रिपाल नखोल्नु हाँस्यास्पद छन् । प्रहरीकै अगाडिबाट कैयौपटक अपराधी हिड्दा पनि वेवास्ता हुनु, पात्रलाई पानी चाहिएको बेला मात्र पानी पर्नु, अर्को हाँस्यास्पद बिषय हो ।

जसरी, करोडौ खर्च गर्दा पनि काठमाण्डौको बागमती सफा हुन सकेको छैन, त्यसरी नै २ करोड बजेटमा तयार भएको भनिएको यो चलचित्र पनि दर्शकका लागि हात्ती आयो नै बनेको छ ।

राजेश, शिव र केकीको छैन काम

लामो समयपछि यो चलचित्रबाट नायक राजेश हमाल र शिव श्रेष्ठ पर्दामा देखिए । दर्शकले पनि यी दुई कलाकारलाई नै हेर्नका लागि टिकट काट्ने हुन् । तर, चलचित्र भित्र यी दुइको काम खासै छैन । राजेश हमाल केही मात्रामा बढी हाबी भएतापनि शिव श्रेष्ठलाई एउटा फाइटमै सिमित गरिएको छ । केकी अधिकारीले यो चलचित्र किन खेलिन् भनेर प्रश्न उठाउने प्रशस्त ठाउँ छन् ।

एउटा गीत र त्यसपछिको लास बन्नकै लागि केकीले चलचित्र खेलेकी हुन् भने, उनले गल्ती गरिन् । स्टारले पैसा आउँछ भन्दैमा चलचित्र खेल्नु मुर्खता हो । चलचित्रमा कलाकार रविशंकर हाबी छन् । बाल कलाकार कञ्चन ठकुरीले केही ठाउँमा दर्शकलाई भावूक बनाउँछिन् ।

बागमती २ का लागि सबै दृश्य राखिएको हो भने निर्देशकले यसमा गल्ती गरेका छन् । नेपालका निर्माताले खुलेरै खर्च गरेपनि सन्नी केरलाले त्यसको सदुपयोग गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment