Comments Add Comment

राजेन्द्र महतोको आलोचना गर्ने नाममा सिंगो मधेसलाई गाली गरियो

नेपाली कांग्रेसका केही युवा नेताहरुले हालै मात्र आन्दोलन भइरहेको मधेसको भ्रमण गरे । उनीहरु मधेसको कोर एरियामा पुगे, जसको उनीहरुले प्रतिवेदन बनाइरहेका छन् । कांग्रेसका युवा नेताहरुले भ्रमणका क्रममा काठमाडौं र मधेसका केही गल्तीहरु खुट्याएका छन् । यसै सन्दर्भमा अनलाइनखबरका लागि राजकुमार श्रेष्ठले कांग्रेस नेता विश्वप्रकाश शर्मासँग गरेको कुराकानी:

Bishow Prakash Sharma
तपाईं भर्खरै मधेस यात्रा गरेर आउनुभएको छ । काठमाडौं र मधेसको दुरी कति रहेछ ?

अहिले संवादमा रहेका मधेस केन्द्रीत दलका नेताहरुबाटै मधेसको सम्पूर्ण प्रतिनिधित्व हुन्छ भनेर बुझ्ने हो भने मधेस र काठमाडौंको दुरी छैन भन्दा पनि हुन्छ । किनभने दुवै पक्ष एकै ठाउँ बसेर छलफल गरिरहेका छन् । काठमाडौं र मधेसको भौगोलिक दुरी पनि केही किलोमिटर मात्रै हो । तर, भावनात्मकरुपमा चाहिँ दूरी बढ्दै गइरहेको छ ।

मधेस र काठमाडौंलाईर् हेर्ने दृष्टिकोणमा दुई अतिवाद हावी भएको हो त ?

निश्चय नै ।

कसरी ?

फास्ट ट्रयाकबाट जाने क्रममा अलि बढी नै फास्ट भयो र दुर्घटना हुन पुग्यो

काठमाडौंले पनि ४/५ वटा गल्ती गरेको छ । कांंग्रेस सबैभन्दा ठूलो दल के कारणले भयो भने यसले मधेसमा सबैभन्दा बढी सीट जितेको थियो । राजेन्द्र महतो वा महन्थ ठाकुरको कुरा नसुन्ने हो भने पनि कांग्रेसले आफ्नै सभासदको कुरा सुन्नुपथ्र्यो । उनीहरुको भनाइ ठूलो थिएन । हामी युवाहरुले पनि भनेका थियौं कि कम्तिमा केही दिन पर्खिएर सम्बोधन गरौं । तर, फास्ट ट्रयाकबाट जाने क्रममा अलि बढी नै फास्ट भयो र दुर्घटना हुन पुग्यो । काठमाडौंमा मैनवत्ति बल्यो, मधेसमा टायर बल्यो । त्यसैले पहिलो त्रुटी हामीले के गर्‍यौं भने केही दिन पनि पर्खिएनौं ।

दोस्रो, दुई बुँदे संशोधन विधेयक जुन आएको छ, त्यो राज्यको निकायमा समानुपातिक सहभागिता र जनसंख्याका आधारमा प्रतिनिधित्वलाई संविधानमा सुरुमै समाहित गरिदिएको भए आन्दोलन यो रुपमा उठ्ने थिएन ।

हामीले विश्वको उत्कृष्ट संविधान भन्यौं । हो, कयौं विषयमा जापान, भारत र बेलायतको भन्दा राम्रो छ । तर, उत्कृष्ट भन्दै गर्दा दुई वटा ट्याबलेट रेडी राख्यौं, जन्मनासाथ खुवाउनुपर्छ भनेर । त्यो भनेको यो दुईबुँदे संशोधन हो ।

तेस्रो, हामीले सीमांकनको सवालमा मधेस केन्द्रीत दलहरु खुसी होलान् भनेर (प्रदेश नम्बर २) आठ वटा जिल्ला राख्यौं । कांग्रेस र एमालेका सांसद त यसमा खुसी थिएनन् । तर, मधेसी दलहरु पनि खुसी भएनन् र अन्तत त्यो गलत सावित भयो । चुरे र कोशी नगाँसेर सीमांकन गर्नु हाम्रो त्रुटी हो ।

यद्यपि म यो पनि मान्छु कि राई, तामाङ, थारु, मगरले राज्य नपाउँदा सप्तरीदेखि पर्सासम्म मधेसीले राज्य पाए । तर, त्यही कुरो बुझाउन पनि हामी मधेसमा गएनौं । संविधानमा भएका राम्रा कुराहरु पनि मधेसका जनतालाई बुझाउन नसक्दा भ्रम उत्पन्न भयो ।

चौथो त्रुटी, काठमाडौंमा ब्याङ्केट ओढेर ब्लाक टी खाँदै हामीले मधेसको सन्दर्भमा बोल्यौं । कसैले भन्यो, धोती कसैले भन्यो विहारी । कसैले यो, कसैले त्यो भन्यो । मैथिलीमा भनाइ छ ‘बचन विचार के बोली, बचनका हाथ न पाउ, वो ही बचन गरे औषधि, वो ही बचन घाउ’ । हामीले यहाँ सिरकभित्र पसेर बोल्दै गर्दा उता चोट कति पर्‍यो भनेर विचार नै गरेनौं । त्यसले मधेसमा घिऊ थप्यो ।

पाचौं त्रुटी के भयो भन्दा आन्दोलनलाई नियन्त्रणमा लिने नाममा गोली चलाउँदा सुतेर घुँडामुनि हान्न सकिन्नथ्यो ? तर, शीरमा, छातिमा लागेको छ । जलेश्वरमा पुग्दै गर्दा कस्तो पीडा सुन्नुपर्‍यो भने ट्युशन पढ्न जाँदै गरेको रोहन चौधरी गोली लागेर मरे । दुई दिनपछि उनका हजुरबालाई गोली लाग्यो ।

दुईजनाको शव जलाइँदैछ । चारतारे झण्डा लिएर कांग्रेसका साथीहरु जान सक्ने अवस्था छैन । कांग्रेसको अफिस जलिरहेको छ । यताबाट भनिन्छ कि, आत्मरक्षाका लागि गोली चलाउन बाध्य भए सुरक्षाकर्मी । ट्युसन पढ्दै गरेको विद्यार्थीबाट सुरक्षाकर्मीलाई कसरी असुरक्षा भो ?

यसरी हामीले एकपछि अर्को गल्ती गर्‍यौं, जसले आन्दोलनमा मुद्धाहरुले भावनात्मक रुप लिए । मुद्दा, मुद्दाकै रुपमा रहँदा हल गर्नु उचित हो । मुद्धाले भावनात्मकको रुप लियो भने दिर्घायु हुन्छ । लामो समय जान सक्छ ।

काठमाडौंले त अझै पनि यो आन्दोलन मधेसीको होइन, अरु कसैले गरिदिएको हो भन्ने हिसाबले बुझेको पाइन्छ । के यो सोह्रैआना गलत बुझाइ हो ?

हो । मधेसका नागरिक ती हुन्, जसले राजेन्द्र महतोलाई एउटा सिट जितेर संविधानसभामा जान योग्य देखेनन् । हामीले वार्ता गर्दा पनि तिनै सांसदहरुसँग गर्नुपर्थ्यो, जो कांग्रेस, एमाले, एमाओवादी वा जुनसुकै दलका हुन् । पहिला हामीले तीनलाई सुनेनौं, राजेन्द्र महतोहरुलाई सुन्न खोज्यौं र सीमांकन गलत गर्‍यौं ।

त्यसपछि जब राजेन्द्र महतोहरुले आन्दोलन उठाउँदै गए र अब साँच्चै राजेन्द्र महतोहरुलाई सुन्नुपर्ने बेला आयो । त्यसपछि हामीले भन्यौं, यीनीहरुसँग कुरा गरेर कहाँ हुन्छ, दिल्लीसँग कुरा गर्नुपर्छ भन्यौं । त्यसैले हाम्रो नजर कहाँ गलत छ भने राजेन्द्र महतोजीहरु नै प्रथम र अन्तिम हुन् भन्ने बुझाइ पनि गलत छ । र, यो सन्दर्भमा भारतलाई मधेस केन्द्रीत दलहरुले कुनै न कुनै रुपमा संलग्न गराए र दशगजामा धर्ना दिए । त्यो उनीहरुको तर्फबाट भएको गलत क्रियाकलाप हो ।

हिजो कांग्रेस, एमालेसहितका दलका मधेसी सांसदलाई भाउ नदिनु गलत थियो भन्नु भो । अहिले फेरि राजेन्द्र महतोहरुलाई मात्र भाउ दिइएको छ, के यो पनि गलत हो ?

उनीहरुको मात्र कुरा सुनेर गर्नुपर्ने एकखालको परिस्थितिगत बाध्यता आइलागेको हो । तर, अहिले पनि हामी के गरिरहेका छौं भने यसको बहुआयामिक पक्षलाई बिर्सिरहेका छौं ।

मधेस केन्द्रित दलहरु चुनाव हारेका हरुवाहरु हुन् भनेर मात्र हुँदैन अब

मधेस भन्दै गर्दा कांग्रेस अलग्गै छ, जनताले दिएको मतका कारण । मधेस केन्द्रित दलहरु चुनाव हारेका हरुवाहरु हुन् भनेर मात्र हुँदैन अब । उनीहरुको मुद्दा स्थापित भएका छन् । सही मुद्दा गलत मान्छेको हातमा पर्‍यो भन्नुस् वा हारेकै मान्छेले सही मुद्दा उठायो भन्नुस् । खुला सीमा छ, र भारतसँग रोटीबेटीको सम्वन्ध छ भन्छौं । त्यसैले यो बहुआयामिक मधेसलाई हामीले कहिले एउटा चश्मा लगाएर हेर्ने, कहिले त्यो खोलेर अर्को लगाएर हेर्ने गरिरहेका छौं । एकै ठाउँमा राखेर समग्रमा विश्लेषण गर्न हामी चुकेका छौं ।

मधेस पनि त दोष मुक्त छैन होला नि ?

मधेसको पनि उत्ति नै दोष छ । उनीहरुले संविधानसभालाई सुरुमा नै बहिस्कार गरेर जानु पहिलो गल्ती थियो । काठमाडौंलाई बुझ्ने उनीहरुको नजर गल्ती थियो । यो काठमाडौं, त्यो काठमाडौं होइन, जहाँ श्री ३ को हुकुम चल्थ्यो । राजा महाराजाको शासन थियो । यो काठमाडौं त त्यो काठमाडौं हो, जहाँ मधेसी व्यक्तित्व (डा. रामवरण यादव) राष्ट्रपति भएर बस्नुभएको थियो । मधेस आन्दोलनको राप र तापले पनि उहाँ राष्ट्रपति बन्नुभएको हो ।

दोस्रो गल्ती, उहाँहरु माग्ने भन्ने मनोविज्ञानमा जानु भो । संविधानसभा कसैले माग्ने र कसैले दिने थलो थिएन । सँगै बसेर रचना गर्ने थलो हो । कांग्रेसले भनेको मात्र हुन्छ भन्ने थिएन, त्यसैले प्रस्तावनामा बहुलवाद लेखिएन । माओवादीले भनेको मात्र हुनेवाला थिएन, त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा भएन । त्यसैले मधेस केन्दि्रत दलहरुले लेनादेना गरेर मिलाउनुपर्थ्यो ।

तेस्रो, उहाँहरुले नाकाबन्दीलाई सहयोग गर्दै दशगजामा धर्ना दिनुभो । यो नाकाबन्दीले मुलुकलाई भूकम्पले भन्दा बढी प्रताडीत बनाएको छ मुलुक । चौंथो, कतिपय सन्दर्भमा काठमाडौंलाई दबाव दिन दिल्लीतिर जानु भो । दिल्लीले दबाव दिएपछि काठमाडौंले मान्छ भन्ने मनोविज्ञानले काम गर्‍यो ।

पाँचौं, कांग्रेस र एमालेका मधेसीहरु आन्दोलनमा समर्थन गर्न चाहन्थे । तर, उनीहरुको झण्डा जलाइयो । कार्यालयमा तोडफोड गर्नु भो । छैठौं गल्ती, आन्दोलन शान्तिपूर्ण भन्ने अनि एउटा एम्बुलेन्समा जाँदै गरेको घाइतेलाई निकालेर तालिवानले जस्तो मार्ने काम गर्नुभो ।
त्यसैले मुद्दा ठीक हो । तर, उहाँहरुले अधैर्यता राखेर आन्दोलन सुरु गर्नु भो र अहिले पनि व्यवस्थापकीय कुरामा कमजोरी भइरहेको छ ।

काठमाडौैंमा लगातार निष्कर्षविहीन वार्ताहरु भइरहेका छन् । मधेसमा कुनै न कुनैरुपमा आन्दोलन पनि चलिरहेको छ । कतै-कतै सीके राउतहरुले पनि विभिन्न खेलकुद गरिरहेका छन् । मधेस समस्या समाधान उन्मुख छ कि ढीलो हुँदैछ ?

चाँडो समाधान गरेन भने सीके राउतहरुको हातमा जान्छ र विस्तारै कहाँ जान्छ भने अलगावतिर

समाधानमा ढिलाइ हुुँदैछ । तर, त्यति ढीलो पनि भइसकेको छैन कि समाधान नै नभेटियोस् । मैले के उदाहरण दिने गरेको छु भने गोरखाल्याण्ड मुद्दा नभएर सेन्टिमेन्ट बन्यो । ५० वर्षअघि अर्कैले हाँक्यो, ती गए । घिसिङ आए र उनले २०/२५ वर्ष खाए । अहिले बिमल गुरुङले खाँदैछन् र फेरि पछि अर्कोले खानेछन् ।

मधेस विगतमा कांग्रेस र एमालेको हातमा थियो । तर, त्यो मुद्दालाई नबोक्दा विस्तारै राजेन्द्र महतो र महन्थ ठाकुरको हातमा गयो । चाँडो समाधान गरेन भने सीके राउतहरुको हातमा जान्छ र विस्तारै कहाँ जान्छ भने अलगावतिर ।

मधेसी मोर्चाका नेताहरुसित विन-विन सहमति भएन भने मधेस विखण्डन हुन सक्छ भन्न खोज्नुभएको हो ?

यो अनौंठो होइन जस्तो लाग्छ । किनभने यो राजनीतिको नेचर पनि हो । सेन्टिमेन्टले एउटा सिर्जनात्मक बाटोमा पुगेन भने ध्वंसात्मक बाटोमा जान्छ । जुन बेला हामी सप्तरीको राजविराज पुगेका थियौं, त्यसको दुई दिनअघि गोइत समूहको गोली लागेर प्रहरीका असईको हत्या भएको थियो । त्यसको संकेत के त ? हतियार बोक्ने युवाको अभाव छैन । हतियार किन्न पैसाको पनि अभाव हुँदैन । एक मान्छेको हत्या गरेर लाखौ भेला गर्छन् । त्यसैले हामीले हेर्दा यो मुद्दालाई मुद्दाकै रुपमा समाधान गर्नु देश र दलहरुको हितमा छ ।

ढीलो गर्दै गयो भने अहिलेका आन्दोलनकारी नेताको हातबाट यो फुस्किन्छ र अतिवादीको हातमा जान्छ । त्यसपछि कहाँ पुगिन्छ भन्न सकिन्न । किनभने संसारको उदाहरण हेर्‍यो भने एउटा अतिवादबाट अर्को अतिवादमा गएको छ, यदि बीचमा लोकतन्त्रले जितेन भने । इरानमै पनि एउटा अतिवाद गयो, तर, अर्को पनि अतिवाद नै आयो ।

भनेपछि, राष्ट्रहित विपरीत नहुने गरी अहिलेका आन्दोलनकारी दलहरुसँग सम्झौता गर्नुको विकल्प रहेन होइन ?

हो, तर निकै ढीलो भइरहेको छ । मधेस केन्द्रित दलहरुमध्ये कतिपय गुमेको खास फर्काउन चाहन्छन् । मुद्दामा जितेर मात्र हुँदैन, कांग्रेसलाई जराबाट नै सफाया गर्नुपर्छ भन्ने उद्देश्य छ उनीहरुको । संघीयताको घोषणा गर्ने प्रधानमन्त्री गिरिजाप्रसादको सालिक किन ढालियो ? ३५ वर्षअघि निधन भएका पुष्पलाल श्रेष्ठको सालिकले के बिगारेको थियो ? वीपी कोइरालाको सालिकको के दोष थियो ?

मधेस आन्दोलनको समर्थनमा नै कांग्रेसले जुलुस निकाल्न खोज्दा झण्डा जलाइयो । यसले के देखिन्छ भने मधेसमा जनाधार भएका दलहरुलाई नामेट पार्ने योजनामा पनि मधेस आन्दोलन लम्बिन सक्ने अवस्था छ ।

तपाईले भन्नुभो, मधेस केन्द्रित दलहरुलाई फकाउने नाममा ८ वटा जिल्लाको प्रदेश बनाउनु गल्ती भो । तर, काठमाडौंमा सिंगो मधेसको प्रदेश बनायो भने देश टुक्रिन्छ, भन्छन् नि ?

प्रान्त बनाउने क्रममा कुनै जिल्ला यता पर्दा वा उता पर्दा देश टुक्रिन्छ भन्ने म मान्दिँन । मात्र सोच्ने के हो भने त्यो प्रदेश चल्छ कि चल्दैन । धेरै जातिले प्रदेश नपाउँदा मधेसीले प्रदेश नम्बर २ मा आठ वटा जिल्ला पाएका हुन् । तर, त्यो रुपमा दिँदा उसलाई हाइड्रोरहित, चुरेरहित बनाइदिनु गल्ती हो ।

वीपी कोइराला जुनबेला अघि-अघि हिँड्नुहुन्थ्यो, उहाँसँगै रामनारायण मिश्र पछि-पछि हुनुहुन्थ्यो । उहाँलाई ब्लड क्यान्सर थियो, उपचार गर्न जाउँ भन्दा मान्नुभएन । ‘सर कटालेंगे, सर नहिझुकाएङ्गे’ भन्नुभो । जब मृत्यु हुने अवस्थामा पुग्नु भो, महेन्द्रले छोडे । तर, निधन हुनुअघि डाक्टरले उपचार सम्भव छैन भनेपछि उहाँले मलाई नेपाल लिएर जाओ भन्नु भो । किन पटनामा मर्न चाहनुभएन ?

राष्ट्रवाद र राष्ट्रियताप्रति मधेसीको प्रतिवद्धतामा आशंका गरेर अलगावमै जान्छन् भन्ने पहाडे मनोविज्ञान गलत छ । राजा महेन्द्र चढेको मोटरमा बम हान्ने कांग्रेसका कार्यकर्ता थिए । तर, सबै मधेसी थिए । किन (बम हानेका थिए) त भन्दा लोकतन्त्रका लागि । वीपी कोइराला जुनबेला अघि-अघि हिँड्नुहुन्थ्यो, उहाँसँगै रामनारायण मिश्र पछि-पछि हुनुहुन्थ्यो । उहाँलाई ब्लड क्यान्सर थियो, उपचार गर्न जाउँ भन्दा मान्नुभएन । ‘सर कटालेंगे, सर नहिझुकाएङ्गे’ भन्नुभो । जब मृत्यु हुने अवस्थामा पुग्नु भो, महेन्द्रले छोडे । तर, निधन हुनुअघि डाक्टरले उपचार सम्भव छैन भनेपछि उहाँले मलाई नेपाल लिएर जाओ भन्नु भो । किन पटनामा मर्न चाहनुभएन ? त्यो राष्ट्रभक्ति हो ।

शरणार्थी शिविरमा भुटानीले लगाएको टोपीचाहिँ नेपालीकै जस्तो सोचिदिने, तर धनुषामा, जलेश्वरमा लगाएको धोती चाहिँ दरभंगाको जस्तो सोचिदिने भन्ने गुनासो उहाँहरुको छ । मधेसी हुँ, तर तिमीभन्दा कम स्वदेशी होइन भन्ने मनोविज्ञान छ मधेसमा ।

तर, नेताहरुले काठमाडौंबाट लगाएको बचनले पनि धेरै चोट पुगेको छ भन्छन् नि ?

निश्चय नै । मैले अघि भनेँ नि बचनले नै औषधिको काम गर्छ भने बचनले नै घाउ दिन्छ । मधेस घुम्दै गर्दा साथीहरुले त्यहाँ भन्नु भो । जब टेलिभिजनमा समाचार हेरिरहेका हुन्छौं, राजेन्द्र महतोको आलोचना गर्ने नाममा सिंगो मधेसलाई गाली गरिन्छ, हामीलाई दुख्छ । जब जिम्मेवार कुरा गर्नुहुन्छ, चोकमा निस्किएर हामी भन्छौं, हेर हाम्रा नेताहरुले मुद्दालाई समर्थन गरेका छन् । जब कांग्रेसकै अमूक नेताहरुको कुरा आउँछ, टीभी नै बन्द गर्छौं ।

मधेसको विरुद्धमा बोलेपछि हाम्रो घर अगाडि टायर बल्छ । बाहिर निस्कन सकिँदैन । त्यसैले अहिलेको आन्दोलन भडि्कनुमा हाम्रा कतिपय नेताहरुको अभिव्यक्तिले काम गरेको छ ।

केही नेताको अंगीकृत नागरिकता छ, र पारिबाट आएका हुन् भन्ने नाममा सिंगो मधेसलाई गाली गरिनु पनि त ठीक भएन नि हैन र ?

अंगीकृत नागरिकता मधेसभित्रको सानो अंश मात्र हो । बाहिरबाट आएकै हिसाबले भन्ने हो भने खस-आर्य पनि त बाहिरबाटै आएका हुन् । कोही दुई-अढाई सय वर्ष पहिले आए, कोही ३/४ सय वर्ष अगाडि । समग्रमा केही अघि र पछि न हो । त्यसैले पारिबाट आएको भन्दैमा भारतीय हुन्, बिहारी हुन्, अझ धोती हुन् भनेर बस्त्रमा आलोचना गर्नु सर्वथा गलत हो ।

धोती लगाएकाले टोपी लगाएकालाई सम्मान गर्ने र टोपी लगाएकाले धोती लगाएकालाई सम्मान गर्ने भएपछि मात्रै राष्ट्र बलियो हुन्छ ।

तपाईले जुन दुरी अथवा खाडल देखाउनुभयो, यो छिट्टै पुरिएलाजस्तो छ त ?

पछिल्लो संकेत खतरनाक छ । उदाहरणका लागि लभराजा सिंह एक जना मधेसको युवा नेता हुनुहुन्छ । हामीसँगै यात्रामा हुनुहुन्थ्यो । उहाँले के सुनाउनुभयो भने, ८ वर्षको छोरालाई मोटरसाइकलमा लिएर जाँदै हुनुहुन्थ्यो, बाटोमा एकजनाले दाइ जयनेपाल भन्नु भो, उहाँले जय नेपाल फर्काउनुभयो । त्यहाँबाट हिँड्न नपाउँदै छोराले पछाडिबाट ‘बाइक रोको, रोको’ भनेर कराएछन् । ‘किन जय नेपाल भनेको ? जय मधेस भन्नुपर्छ’ छोराले बाबुलाई भनेछन् ।

जय मधेस भन्दा आपत्ति होइन । जय लिम्बुवान, जय थरुहट भन्नु पनि गलत होइन । तर, जय नेपाल भन्ने शब्दप्रति आपत्ति हुनथाल्यो भने त्यसले के बुझ्नुपर्छ भने हावा फरक बग्दैछ । राष्ट्रिय मनोविज्ञान त देशको जय खोज्ने हो नि । यो सेन्टिमेन्ट गलत बाटोमा गयो भने त्यसले राष्ट्रलाई हित गर्दैन ।

जिम्मेवार ठाउँमा रहेका नेताहरुमा यस्ता विषयप्रति गम्भीरता देख्नुहुन्छ ?

कार्यालय जलेर, टायर जलेर मात्र मधेस जल्दैन, मन जलेर जल्छ । जस्तो बाहिरी आँखाले हेर्दा धनुषामा पार्टी कार्यालय जलेको छ । तर, भित्र आँखाले हेर्दा हाम्रा सबै पार्टी सदस्यहरुको मन जलेको छ

देखिँदैन । राज्यले के सोचेको छ भने अहिले मधेसमा ठूलो-ठूलो जुलस छैन । थाक्दै गएका छन्, सिथिल भएका छन् भन्ने खालका समाचारहरु आएका छन् । आन्दोलन विस्तारै फेजआउट हुन्छ, त्यसकारण ल्याङल्याङ गरे हुन्छ भन्ने प्रमुख दलहरु र राज्यको बुझाइ छ ।

उता मधेस केन्द्रित दलहरुलाई के छ भने जुलुसमा मान्छे भए पनि नभए पनि नाकाबन्दी जारी छ । जबसम्म हामीलाई सम्बोधन गरिँदैन, तबसम्म नाका खुल्दैन । लाखौं मान्छे अब निकाल्नु परेको छैन । दुबैले एउटा-एउटा चिजलाई पक्रिरहेका छौं र दुबै गलत छन् । त्यो दशगजाको धर्ना छाडेर सिंहदरबारमा दिए हुँदैन ? राज्यले पनि चारजना मान्छे होइन, ५० औं जना ज्यान गुमाएकाहरुलाई सम्झिनुपर्छ र सेन्टिमेन्टको रुप धारण गर्दैछ भन्नेर बुझ्नुपर्छ । त्यसैले दुबैले जति गम्भीरता देखाउनु पर्ने हो, त्यति देखाइरहेका छैनन् ।

कार्यालय जलेर, टायर जलेर मात्र मधेस जल्दैन, मन जलेर जल्छ । जस्तो बाहिरी आँखाले हेर्दा धनुषामा पार्टी कार्यालय जलेको छ । तर, भित्र आँखाले हेर्दा हाम्रा सबै पार्टी सदस्यहरुको मन जलेको छ । त्यसलाई कसरी बुझ्नुहुन्छ भन्ने प्रश्न हो ।

अब यसलाई कसरी सम्बोधन गर्ने त ?

यसमा तीन-चारवटा कुरा छन् । राज्यका अंगहरुमा समानुपातिक-समोवशी प्रतिनिधित्व भन्ने छ । यसमा लामो बहस जरुरी भएन । आर्मीको सन्दर्भमा समेत भनेका छन्, तर त्यहाँ त प्रतिस्पर्धाबाट हुने हो । हामीले मधेस केन्दि्रत दलहरुलाई विश्वासमा लिनुपर्छ । अर्को, प्रतिनिधित्वको सवालमा मधेस केन्द्रित दलहरुले नल्याएको के गाँस्नुपर्छ जस्तो लाग्छ भने समानुपातिक प्रतिनिधित्व गर्दा देशभरिलाई नै एउटा निर्वाचन क्षेत्र मानिन्थ्यो । अब यसमा मधेस केन्द्रित दलहरुले माग गरेभन्दा पनि बढी दिन सकिन्छ । प्रत्येक प्रदेशबाट प्राप्त कुल मतको प्रतिनिधित्व त्यही प्रदेशलाई दिने ।

तेस्रो, सीमांकनमा हेरफेर गर्ने सन्दर्भ छ । सीमांकन हेरफेर गर्दा प्रान्त नम्बर २ मा चुरेलाई अलिकति गाँस्ने र कोशीको केही भाग लगेर जोड्ने ।

सजिलो छ र कोशीको भाग प्रदेश नम्बर २ मा गाँस्न ? झापा, मोरङ र सुनसरीको एउटा गाविस पनि दिन्न भनेर प्रधानमन्त्री स्वयमले भन्नु भएको छ …

दिनै पर्दैन । त्यहीँ रहन्छ त्यो त । बुझाइ गलत हो । यो देशमा सबैलाई संघीयता चाहिएको तर, आफ्नो जिल्ला र वडा अखण्ड पनि चाहिएको अवस्था विरोधावासपूर्ण छ । एकैचोटि मान्छे भनिरहेको छ, संघीयतामा जानैपर्छ, तर अखण्डरुप्मा । यसरी सम्भव छैन । दुध र मदिरा फरक-फरक समयमा पिउने हो । तर, हाम्रा राजनीतिज्ञहरुले एकै ठाउँमा पिउन खोजिरहेका छन् ।

यसो भए सीमांकन फेरफेर नगरी हुन्न भन्नेमा तपाईं दृढ हुनुहुन्छ ?

मधेसमा साथीहरुले सोध्नु भो सुर्खेतमा आन्दोलन हुँदा सम्बोधन भयो, बाग्लुङमा आन्दोलन हुँदा सम्बोधन भयो । मधेसमा १५० दिन भइसक्यो आन्दोलन भएको, किन सम्बोधन भएन ?

सीमांकन हेरफेर नगरी हुन्न । तर, एकातिर आन्दोलन सम्बोधन गर्ने नाममा अर्कोतिर जोखिम उत्पन्न हुन दिनु हुन्न । सीमांकन भनेको प्राज्ञिक र प्राविधिक दुबै दृष्टिकोणबाट पनि हेर्नुपर्छ, राजनीतिक मनोविज्ञानले मात्र हेरेर पुग्दैन । यात्राका क्रममा मित्र देवराज चालिसले भन्नुहुन्थ्यो कि हाम्रा नेता यति विज्ञ भइसके कि हस्पिटलमा डाक्टर भेटिएन भने गएर किड्नीको अपरेशनमा छिर्लान् भन्ने चिन्ता भो ।

त्यसैले सीमांकन जटिल कुरा हो । त्यो पनि आन्दोलनहरु उठिरहेको बेला । एकातिरको आन्दोलन चुप लागेर हेरिरहेको छ । पूर्वी पहाडमा कुमार लिंगदेनहरु के हेरिरहेका छन् भने झापा, मोरङ, सुनसरीसहितको नौ वटा जिल्ला हामीले मागेका थियौं । ५ वटा थपेर बोनसमा पाइएको छ । किन धेर भो भन्ने उनको छ । धेर हुँदा त बरु धेरै समस्या नहुँदो रहेछ । त्यसैले धरान हेर्नुस्, लिम्बुवानमा सुहाउँछ । तर, इनरुवा मधेसमा सुहाउन सक्छ । त्यसैले नबुझाइकन काटिदिनुभयो भने समस्या आउँछ । कुन भुगोल कहाँ सुहाउँछ भनेर बुझाउनुपर्छ ।

मधेसमा साथीहरुले सोध्नु भो सुर्खेतमा आन्दोलन हुँदा सम्बोधन भयो, बाग्लुङमा आन्दोलन हुँदा सम्बोधन भयो । मधेसमा १५० दिन भइसक्यो आन्दोलन भएको, किन सम्बोधन भएन ? पहाडे ठाउँ, पहाडे नेता, पहाडेलाई सम्बोधन । पहाडे नेताको हातमा डाडु पन्यौं छ, मधेसलाई सम्बोधन भएन । यसो भन्दा के जवाफ दिने ? ठिक गर्नु भो नेताहरुले भन्न सकिएन । ठिक कतिबेला भन्न सकिन्छ भने बाग्लुङ र सुर्खेतसँगै सर्लाहीलाई सम्बोधन गर्दा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment