Comments Add Comment

तारे होटलमा ग्यास र तेलको अभाव हुन नदिने प्रयास गरिरहेका छौं

Dinesh Kumar Thapaliya१० माघ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाका अनुसार सरकारले अहिले तारे होटलहरुमा तेल र ग्यासको अभाव हुन नदिने प्रयत्न गरिरहेको छ । पर्यटन व्यवसायलाई चौपट हुनबाट बचाउन सरकारले  पर्यटन व्यवसायीलाई विद्युतको लाइनदेखि सहुलित ऋणसम्मको सुविधा प्रदान गर्ने नीति लिएको थपलियाले जानकारी दिए  ।

भूकम्प र नाकाबन्दीको चपेटामा परेका पर्यटन व्यवसायीको अपेक्षालाई सरकारले कसरी सम्बोधन गर्ने तयारी गरिरहेको छ भन्ने अनलाइनखबरको जिज्ञासामा सचिव थपलियाले भने- ‘पर्यटन व्यवसायीले माग गरेमा ऋणमा ब्याज मिनाहा गर्ने सुविधा दिन सकिन्छ । होटल व्यवसायीले विद्युतको डेडिकेटेड लाइन राख्न चाहेमा उर्जा मन्त्रालयबाट स्वीकृति लिएर उपलब्ध गराउँछौं । व्यवसायीले पूर्वाधार निर्माण गर्दा लिएको ऋणको साँबा तथा ब्याज भुक्तानी गर्ने समयावधि बढाइदिने भनेका छौं । तारे होटलहरुमा इन्धन र ग्यासको अभाव नहोस् भनेर प्रयत्न गरिरहेका छौं ।’

भूकम्प, नाकाबन्दी र मधेस आन्दोलनले सन् २०१५ मा करिव दुई तिहाइ पर्यटक घटेको अनुमान छ । तर, अहिलेसम्म राष्ट्रिय आयमा २ प्रतिशतमात्रै योगदान गरिरहेको पर्यटकनलाई अबको चारवर्षपछि अर्थात सान् २०२० मा १० प्रतिशत योृगदान गर्ने स्तरमा पुर्‍याउने सचिव थपलियाले दाबी गरे । यसबा लागि पर्यटकको संख्या बढाएर भूकम्पअघिकै अवस्थामा पुर्‍याउन पर्यटन मन्त्रालयले दुईवर्षे कार्ययोजना बनाएर लागू गरिरहेको उनले बताए ।

सरकारले अघि सारेको पर्यटनको दुई वर्षे कार्ययोजना, पर्यटन प्रवर्द्धनका रणनीति र पर्यटन व्यवसायीलाई सरकारले दिने सुविधा लगायतका विषयमा अनलाइनखबरकर्मी नविन अर्यालअभय जोशीले सचिव थपलियासँग गरेको कुराकानी:

तपाई देशको पर्यटन क्षेत्रलाई नेतृत्व गरिरहनुभएको छ, भूकम्प र नाकाबन्दीपछि मुलुकको पर्यटन क्षेत्र कुन अवस्थामा छ ?

प्राकृतिक तथा मानवीय कारणले नेपालको पर्यटन क्षेत्र सधैं चेपुवामा पर्‍यो । लामो समयसम्म चलेको द्वन्द्व, राजनीतिक अस्थिरता, बन्द हडताल तथा आन्दोलनका कारण पर्यटन फस्टाउन पाएन । त्यसमाथि पछिल्लो समय प्राकृतिक पीडा खेपिरहेको छ नेपाली पर्यटन क्षेत्रले । हिमपात, हुदहुद आँधीको प्रकोप, विनाशकारी भूकम्पले नेपालको पर्यटन क्षेत्र आतंकित नै रहृयो ।

अहिले देखिएको मानवीय समस्या, तराई आन्दोलन र नाकाबन्दीले पर्यटन क्षेत्र झनै सुस्ताउन पुग्यो । मलाई लाग्छ, अघिल्लो वर्षको तुलनामा गत वर्ष पर्यटनसँग जोडिएका सबै सूचकमा ३५ देखि ४० प्रतिशतले गिरावट आएको छ ।

भूकम्प, नाकाबन्दी र मधेस आन्दोलनबाट समस्यामा परेका पर्यटन व्यवसायीले सरकारबाट सेवा-सुविधाको अपेक्षा गरेका छन्, सरकारले यसबारे के गर्दैछ ?

सरकारको स्वेतपत्रमा पनि उल्लेख गरिएको छ, पर्यटन व्यवसायीले माग गरेमा ऋणमा ब्याज मिनाहा गर्ने सुविधा दिन सकिन्छ । होटल व्यवसायीले विद्युतको डेडिकेटेड लाइन राख्न चाहेमा प्रचलित कानुनभित्र रही उर्जा मन्त्रालयबाट स्वीकृति लिएर उपलब्ध गराउँछौं । यसले विद्युत आपूर्तिमा सहजता ल्याउने छ ।

व्यवसायीले पूर्वाधार निर्माण गर्दा लिएको ऋणको साँबा तथा ब्याज भुक्तानी गर्ने समयावधि बढाइदिने भनेका छौं । हामीले पर्यटनलाई उद्योगका रुपमा लिएर उद्योगहरुले पाउने सेवा सुविधा उपलब्ध गराउन प्रयासरत छौं ।

तारे होटलहरुमा इन्धन र ग्यासको अभाव नहोस् भनेर प्रयत्न गरिरहेका छौं । वैकल्पिक इन्धन प्रयोग गरेर होटल चलाउनेलाई सहयोग गर्ने भनेका छौं । पर्यटन व्यवसाय अर्थतन्त्रको मेरुदण्ड हो, उहाँहरुका जे जति समस्या छन्, छलफल गरेर समाधान गर्न हामी सकारात्मक छौं ।

हामीले पर्यटकीय सम्भावना भएका तर होटल नखुलेका ठाउँमा होटल खोल्नेहरुलाई निश्चित समयसम्म कर तथा दस्तुर नलिने योजना बनाइरहेका छौं । पोखरा बाहेकका ठाउँमा प्याराग्लाइडिङ उडाउनेलाई पनि तीन वर्षसम्म कर मिनाहाको व्यवस्था गर्दै छौं । हाम्रो उद्देश्य पर्यटनलाई विकेन्द्रीकरण गर्नुपर्छ भन्ने हो ।

अब पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न कति वर्ष लाग्छ ?

अहिले देखिएको खराव अवस्था सधैं रहँदैन । यही खराव स्थितिका बीचमा पनि केही राम्रा संकेतहरु देखिएका छन् । अहिले पनि केही मात्रामा पर्यटक आइरहेका छन् । सन् १९१० देखि सन् १९१५ सम्मको तथ्यांक हेर्ने हो भने चीनबाट आउने पर्यटकको सख्ंया हरेक वर्ष बढिरहेको देखिन्छ । चीनबाट तुलनात्मक रुपमा गुणात्मक पर्यटक आइरहेका छन् ।

हामीले हालैमात्र चिनियाँ नागरिकलाई नेपाल भ्रमण आउँदा भिषा शुल्क नलिने निर्णय गरेका छौं । यही बीचमा चीनले नेपालमा असुरक्षित भनेर जारी गरेको ट्राभल एडभाइजरी पनि फिर्ता लिएको छ । जसका कारण कारण चिनियाँ पर्यटकको नेपाल आउने क्रम बढेको छ ।

हाम्रो दोस्रो बजार भारत नै हो । अहिले केही समस्या देखिए पनि यो समस्या समाधान हुनासाथ भारतीय नागरिकको फ्लो बढिहाल्छ । भारतबाट विवाहका लागि, विदा मनाउन नेपाल आउनेहरु बढिरहेका छन् । मनोरञ्जनका लागि आउने पर्यटकले खर्च पनि बढी नै गर्छन् । त्यस्तै, हाम्रो पुरानो बजार युरोप, अमेरिकाबाट पनि पर्यटकको आगमन बढिरहेको छ । भूकम्प र बन्द हडतालले सन् २०१५ निराशाजनक भए पनि अबको सिजन निराशाजनक हुने छैन ।

पर्यटन पुनरुत्थानका ठोस योजनाहरु के-के छन् ?

हामी कसरी हुन्छ, बढीभन्दा बढी पर्यटक भित्र्याउने भनेर लागिपरेका छौं । आगामी चैत-बैशाखसम्म करिव-करिव रिकोभर हुने र असोजदेखि सुरु हुने सिजनमा राम्रो उपलब्धि हासिल हुने हाम्रो अपेक्षा छ । अहिलेको ट्रेन्ड हेर्दा त्यस्तै देखिन्छ ।

हामीले विदेशस्थित सबै कुटनीतिक नियोगहरुसँग सहकार्य गरेका छौं । नेपालमा रहेका विदेशी कुटनीतिक नियोगसँग पनि विभिन्न चरणमा छलफल गरेर नेपालको यथार्थ सन्देश आफ्नो देशमा पुर्‍याएर आफ्ना नागरिक नेपाल भ्रमणमा आउने वतावरण बनाइदिन अनुरोध गरिरहेका छौं ।

गैरआवासीय नेपाली संघ (एनआरएन) का ७१ देशमा रहेका कार्यालयहरुमा पर्यटनको फोकल प्वाइन्ट राखेर पर्यटन प्रवर्द्धन गर्ने काम सुरु भइसकेको छ । नेपालस्थित विदेशी दूतावासमार्फत त्यहाँको पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्था र व्यक्तिसँग कुरा भइरहेको छ । उनीहरु नेपालप्रति सकरात्मक नै पाइएको छ ।

यद्यपि चुनौती धेरै छन् । यसलाई चिर्न केही ठूला तथा महत्वपूर्ण अभियानहरु चलाउनुपर्छ भन्ने योजनामा छौं । यही शिलशिलामा आउँदो बुद्धजयन्ती अत्यन्त भव्यताका साथ विविध कार्यक्रम गरेर मनाउने योजना बताएका छौं । यही अवसरमा बुद्ध सर्किटको प्रवर्द्धन गरेर विश्वभरका बुद्धिष्टहरु ल्याउन पर्यत्न गर्छौं । यो अभियान प्रारम्भ भइसकेको छ ।

यसैगरी अहिले हिमाल आरोहण गर्न नपाएका विदेशीहरुलाई सोही शुल्कमा दुई वर्षभित्र हिमाल आरोहण गर्दा शुल्क नलिने निर्णय हुँदैछ । यसले पनि सकारात्मक सन्देश प्रवाह गर्ला भन्ने लागेको छ । यसका अतिरिक्त नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रले गर्ने पर्यटन पर्वद्धनका कामहरु पनि उपलब्धिमूलक हुनेछन् ।

पर्यटन सुधारका योजना के छन् ?

पर्यटनको समग्र सुधारका लागि हाम्रो तीनवटा योजना छन् । एउटा पुरातात्विक क्षेत्रको संरक्षण, दोस्रोमा पर्यटन प्रवर्द्धन र तेस्रोमा हवाई क्षेत्रमा सुधार । यी तीनवटै पक्षलाई समेटेर मन्त्रालयले दुई वर्षको सुधार कार्ययोजना बनाउँदैछ । यो कार्ययोजना कार्यान्वयन सँगसँगै सुधारको अनुभूति हुने छ ।

दुई वर्षे सुधारको कार्ययोजना भनेको कस्तो हो ? अलि प्रष्ट बनाइदिनोस् न ?

हाम्रो लक्ष्य, पहिलो गुमेको पर्यटक संख्या बढाउने र दोस्रोमा उनीहरुको नेपाल बसाई लम्बाउने र खर्च बढाउने हो । पर्यटकलाई नागरिकता र रङको आधारमा छुट्टाउन हुँदैन । गुणस्तर पर्यटक उसले विताउने समय र उसले खर्चमा निर्भर रहन्छ । हाम्रो फोकस पनि त्यतैतिर केन्द्रीत हुनेछ ।

यसका लागि पर्यटन बोर्डले एउटा स्वतेपत्र जारी गर्नुपर्छ । बोर्डले हिजो यो-यो काम गर्‍यो, अबको कार्ययोजना यो हो भनेर स्वतपत्रमा उल्लेख गर्नुपर्छ । स्वेतपत्रमा यति समयमा यति पर्यटक भित्राउँछु, यो समयमा पर्यटकको बसाई लम्बाउँछु र यो समयमा पर्यटकको खर्च बढाउँछु भनेर लाग्नुपर्छ । अगामी बजटेसँगै यो घोषणा हुनेछ ।

मन्त्रालयको सुधार योजनाभित्र धेरै कुराहरु समेटिएको छ । हामीले आन्तरिक तथा वाहृय दुबै पर्यटन प्रवर्द्धनमा जोड दिएका छौं । नेपालमा आन्तरिक पर्यटकको संख्या बढाउन सकिन्छ ।

विदेशी पर्यटक भित्राउन सबैभन्दा पहिला हवाई सेवा सुधार गर्नुपर्ने देखिन्छ । अहिले पनि नेपाल विश्वका धेरै महंगो गन्तव्यमध्येमा पर्छ । यसको कारण हो, महंगो हवाई यात्रा । अन्तर्राष्ट्रिय उडानमा मात्र होइन, आन्तरिक उडान पनि महंगो रहेको छ ।

आन्तरिक हवाई सेवा सस्तो बनाउन आयल निगमलाई परल मूल्यमा हवाई इन्धन उपलब्ध गराउन भनेका छौं । हवाई इन्धन सस्तो हुनासाथ हवाई भाडादर पनि स्वतः घट्ने छ । हामीले आन्तरिक हवाई सेवालाई विस्तार गर्दै छौं । सञ्चालनमा नआएका विमानस्थलमा सेवा सुरु गर्दै छौं ।

विदेशबाट नेपाल आउने पर्यटकले हवाई भाडा महंगो भयो भनेर गुनासो गर्छन । यसो हुनुमा विदेशी एयरलाइन्सको एकाधिकार मुख्य रहेको छ । हामीले एकातिर हवाई सेवा सम्झौतालाई पनि विविधिकरण गर्छौं भने अर्कोतिर राष्ट्रिय ध्वजावाहकलाई पनि प्रतिस्पर्धी बनाउँछौं ।

हामीले नेपाल वायुसेवा निगममा दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी जहाज खरिद गर्ने प्रकृया अगाडि बढाएका छौं । वाइड बडी जहाज खरिद गरेपछि नेपालबाट कोरिया, जापान, बेलायसम्म सिधा उडान गर्न सकिने छ । अष्ट्रेलियामा पनि विचमा ट्रान्जिट गरेर उडान भर्छौं । यसको अलवा दूईवटा न्यारोबडी जहाज थपिएपछि चीनका विभिन्न गन्तव्य र अन्य नजिकका गन्तव्यमा उडान विस्तार गर्छौं । यसो गर्न सकियो भने नेपाल आउने हवाई भाडा स्वतः घट्ने छ ।

नेपालमा हवाई सेवा असुरिक्षत छ भन्ने अरोप छ, त्यो आरोपबाट मुक्त हुनका लागि हामीले गम्भिर भएर लाग्छौं ।

अर्को रणनीति भनेको स्वदेशी तथा विदेशी पत्रकारलाई नेपाली पर्यटनका बारेमा ब्लग लेखाउने काम गर्छौं । विदेशी मिडिया र टुर एजेन्सीलाई विभिन्न चरणमा फाम टुर गराएर नेपालको यथार्थ सन्देश अन्तर्राष्ट्रिय जगतमा फिजाउँछौं ।

नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकलाई निःशुल्क भिषा दिन सुरु भएको छ । यसले नेपालमा चिनियाँ पर्यटकको आगमन बढाउला ?

हाम्रोमा चीनबाट धेरै पर्यटक आइरहेका छन् । चीनबाट खर्चालु पर्यटक आउने गरेका छन् । पछिल्लो समय चीनबाट सबैभन्दा बढी पर्यटक भ्रमणमा जान थालेपछि उनीहरुलाई नेपालमा आकषिर्त गर्नका लागि निःशुल्क भिषाको व्यवस्था गरेका हौं । यसले पक्कै पनि चिनियाँ पर्यटकलाई आकषिर्त गराउने छ ।

निःशुल्क भिषा दिएरमात्र चिनियाँ पर्यटक ओइरिने भन्ने हुँदैन । यसका लागि आवश्यक पूर्वाधार विकास भने गर्नैपर्छ । अहिले चीनको मेनल्यान्डबाट करिव ९२ लाख पर्यटक ल्हासाको पोतला दरबार हेर्न आउँदा रहेछन । म ल्हासा जाँदा त्यहाँका अधिकारीलाई पोतला दरबार हेर्न आउने पर्यटकलाई नेपाल पुर्‍याउने व्यवस्था गरिदिन आग्रह गरेको थिएँ ।

उहाँहरुले भन्नुभयो, नेपाल चीनबीच ६ ठाउँमा हवाई सम्झौता भइसकेको छ । हाम्रोमात्र जहाजले धान्दैन, त्यसमाथि हाम्रो जहाजको भाडा महंगो पनि छ । त्यसैले तपाइहरुले नेपाली जहाजबाट सिधा उडान सुरु गर्नुभयो भने पर्यटकको संख्या बढ्नेछ ।

ती अधिकारीले ल्हासा, बोइजिङ, सांघाई, ग्वोञ्झाओ लगायतका प्रमुख शहरमा नेापले आफ्नै जहाजबाट उडान गरी सिधै पोखरा ल्यान्ड गर्ने व्यवस्था भएमा अहिले डेढ लाखको हाराहारीमा भित्रिएका पर्यटकको संख्या तीन वर्षभित्र ७ लाख पुग्ने बताए । उनीहरुले अध्ययन गरेरै यसो भनेका होलान । खासगरी चिनियाँ पर्यटक पोखरा आउन रुचाउँछन । त्यही भएर हामी जहाजको संख्या बढाएर चीनमा उडान विस्तार गर्न केन्द्रीत भइरहेका छौं ।

निजी क्षेत्रसँगको साझेदारी कस्तो रहन्छ ?

पर्यटन क्षेत्रका व्यवसायी पेशागत तथा अन्य कुराले दक्ष पाएको छु । हामीले निजी क्षेत्रलाई बढी सहभागी गराएर साझेदारीमा अगाडि बढाउँछौं । पर्यटन भनेको निजी क्षेत्रले बचाएको हो । निजी क्षेत्रले नै पर्यटनलाई माथि उठाउन सक्छ र प्रवर्द्धन गर्न सक्छ भन्ने हाम्रो बुझाई हो ।

अर्थतन्त्रको मेरुदण्ड भनेपनि यसको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा जम्मा २ प्रतिशत योगदान रहेको छ । कहिलेसम्म जीडीपीमा पर्यटन क्षेत्रको योगदान दोहोरो अंकमा पुग्ला ?

मलाई लाग्छ, जिडिपीमा पर्यटन क्षेत्रको योगदान २ प्रतिशतमात्र भन्नु डकुमेन्टेसनको कमी हो । मैले माथि भनेका योजनाहरु व्यवस्थित रुपमा अगाडि बढाउन सकियो भने सन् २०२० सम्म पर्यटकको संख्या २० लाख र जीडीपीमा योगदान १० प्रतिशत नघाउन सकिन्छ ।

सरकार र निजी क्षेत्रले जिम्मेवार भएर आफ्नो भूमिका निभाउने हो भने सन् २०२० को आर्थिक सर्वेक्षणले सम्भवतः जीडीपीमा पर्यटन क्षत्रको योगदान १० प्रतिशत नाघेको देखिने छ । हामीले पर्यटक भित्राएर मात्र हुँदैन, उनीहरुको बसाई अवधि र खर्च पनि बढाउन केन्द्रीत हुनुपर्छ ।

यस्तो अवस्थामा त्यो सम्भव होला ?

अहिले देखिएको अस्थिर अवस्था छिट्टै समधान हुने अपेक्षा छ । संघिया संरचनामा पनि पर्यटन मुख्य आर्थिक क्षेत्र बन्ने छ । हामीसँग प्रशस्त पर्यटकीय सम्भवना भएको हुँदा सन् २०२० सम्म २० लाख पर्यटक भित्राउने र जीडीपीमा १० प्रतिशत योगदान पुर्‍याउन सम्भव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment