Comments Add Comment

आर्यघाटमा दाउराविनै जलाइयो रुपमायाको शव

pashupati-sab-daha

रमेश धमला

१० माघ, काठमाडौं । संस्कृति पर्यटन एवं नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल आइतबार नयाँ कामको उदघाटन गर्न पशुपति आर्यघाट पुगेका थिए । त्यहाँ मन्त्रीले शव जलाउने विद्युतीय मेसिनको उदघाटन गर्नासाथै मानिसहरु कसैको शव आउँछ कि भन्दै कुर्न थाले ।

केहीबेरमै काठमाडौं नागार्जुनकी ८१ वर्षीया रुपमाया ढकालको शव लिएर मलामीहरु आर्यघाटमा पुगे । आफन्तजनले सांस्कृतिक परम्परा अनुसार कार्य गरिसकेपछि रुपमायाको शवलाई विद्युतीय मेसिनभित्र छिराइयो र बाहिरबाट बिजुलीको भोल्टेज दबाइयो ।

नेपालमै स्थापना गरिएको विद्युतीय मेशिनमा शदगति हुने रुपमाया सम्भवतः पहिलो नेपाली बनिन् । यद्यपि आर्यघाटमा राखिएका दुईवटै विद्युतीय गृहमा एकैसाथ दुईवटा शव जलाइएका कारण रुपमायाँसगै अर्का व्यक्तिलाई पनि यो सूचीमा राख्न सकिन्छ ।

मन्त्री पोखरेलले विद्युतीय शवदाह गृहको उदघाटन गरेलगत्तै रुपमायाजस्तै तीनवटा शव जलाउन ल्याइएका थिए । सुनसरीका ६१ वर्षीय खडानन्द ढकालको शव पनि दाउरा प्रयोग नगरी मेसिनबाटै जलाइयो ।

त्यसैगरी भक्तपुरका ८३ वर्षीय चन्द्रवन मालालाई पनि दाउराको प्रयोगविनै विजुलीको सहारामा आइतबार आर्यघाटमा सदगति गरियो ।

विदेशमा मेसिनबाट शव जलाउनु कुनै नौलो विषय नभए पनि नेपालीहरुका लागि भने यो नौलो प्रविधि हो । त्यसैले आइतबार आर्यघाटमा मलामी गएका मानिसहरुले उत्सुकतापूर्वक यो मेसिनतिर नजर लगाइरहेको देखिन्थ्यो ।

दाउराको साटो विद्युतीय मेसिनबाट शव जलाउँदा सजिलो लागेको मृतकका आफन्तले प्रतिक्रिया दिएका छन् । आफ्नी आमाको सदगतिका लागि नागार्जुनबाट मलामीसहित आर्यघाट आएका वीपी ढकालले विद्युतीय शवदाह निकै सजिलो भएको बताए । उनले भने- ‘परम्परागत विधि पूरा गरेर जलाउन पाइने रहेछ, यसलाई निरन्तरता दिन सके प्रभावकारी हुन सक्छ र यसबाट बाहिरको प्रदुषण पनि कम हुन्छ र परम्परा पनि तोडिँदैन ।’

अबदेखि अरुलाई पनि विद्युतीय शवदाह गृह प्रयोग गर्न ढकालले सुझाव दिए ।

pashupati-sab-daha-3

यसरी जलाइन्छ मेसिनबाट

आर्यघाटको दक्षिणतर्फ वागमती किनारमा दुईवटा ठूला मेसिनहरु फिट गरिएका छन् । सेतो रंगमा ती मेसिनको बाहिरपटि्ट विद्युतको भोल्टेज अन-अफ गर्ने स्विचहरु राखिएका छन् ।

आर्यघाटमा शव ल्याइसकेपछि मेसिनको छेउमा राखेर पुरोहितमार्फत परम्परागत कर्म गर्न पाइन्छ । त्यसपछि शवलाई मेसिनभित्र हालेर बाहिरबाट स्विच अन गरिन्छ ।

एउटा शव जलाउन करिब ४०/४५ मिनेटसम्म लाग्छ । चितामा दाउरा ठोसिराख्नुपर्ने झण्झट पनि पर्दैन ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले विद्युत शवदाहमा शव जलाउँदा दाउरामा भन्दा सस्तो पर्ने बताए । उनले भने-‘दाउराबाट जलाउँदा १० हजारसम्म खर्च लाग्न सक्छ, तर, मेसिनमा जलाउन तीन हजार रुपैयाँ मात्रै लाग्छ ।

आर्यघाटमा राखिएका दुईवटा मेसिनबाट दैनिक ४० वटासम्म शव जलाउन सकिने टण्डनले बताए । आर्यघाटमा दैनिक १२ देखि ४० वटासम्म शव आउने गरेका छन् । त्यति शव दुईवटा विद्युत गृहमा सहजै जलाउन सकिने उनले जानकारी दिए ।

विद्युतीय मेशिनमा शव जलाउन चाहनेहरुका आफन्तले पहिले नै नाम लेखाउनुपर्छ । मृतकको नाम, ठेगाना र उमेर लेखाउनुपर्छ । लेखाउन जानेले आफनो परिचय खुल्ने नागरिकता वा लाइसेन्स लिएर जानुपर्ने प्रक्रिया निर्धारण गरिएको एक कर्मचारीले जानकारी दिए ।

pashupati-sab-daha-4

३३ वर्ष पुरानो योजना

आर्यघाटमा विद्याुतीय मेसिनबाट शव जलाउने योजना बनाउन थालिएको ३३ वर्ष बितेपछि यसले सार्थकता पाएको हो । आइतबार संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोखरेलले आर्यघाटमा विद्युत शव दाह गृहको उदघाटन गरेपछि अब नेपालमा नयाँ प्रविधि प्रयोगमा आएको हो ।

वि.सं. ०३९ सालमै विद्युतीय शव दाह गृह बनाउने योजना बनेको थियो । पशुपति क्षेत्र विकासका लागि बनेको गुरुयोजनामा विद्युत शवदाह गृह परेको भए पनि त्यसले लामो समयसम्म सार्थकता पाउन सकिरहेको थिएन । सन् २००८ मा आएपछि विद्युतीय शवदाह गृह बनाउने योजनाले प्राथमिकता पाएको थियो जसले व्यवहारिकता पाउन थप ७ वर्ष लाग्यो ।

भारतीय मेसिन

सन् २००९ मा भारतको कोलकातास्थित इण्डोमेन इन्जिनियरिङ सर्भिसले आर्यघाटमा विद्युतीय शवदाह गृह बनाउने जिम्मेवारी पाएको थियो । अहिले स्थापित दुईवटा मेसिनको डिजाइन पनि सोही कम्पनीले गरेको हो ।

करिब ११ करोड लगानीमा तयार भएको शवदाह गृहमा भारतको शवदाह गृहमा राखिएका भन्दा आधुनिक प्रविधि प्रयोग भएको डिजाइनर जयन्त चक्रवर्तीले दाबी गरे ।

पर्यटन मन्त्रीको चिन्ता

विद्युतीय शवदाह गृह उदघाटन कार्यक्रममा आर्यघाट पुगेका मन्त्री पोख्रेलले धार्मिक मान्यता र परम्परा भन्दा केही फरक भए पनि विद्युत शवदाह गृह नेपालमा आधुनिक प्रविधिको सुरुवात भएको बताए ।

मन्त्री पोखरेलले पशुपति क्षेत्र धार्मिकस्थल भए पनि पछिल्लो समय शव जलाउनेस्थल मात्रै बन्ने हो कि भन्ने चिन्ता व्यक्त गरे ।

pashupati-sab-daha-5

आध्यात्मिक आनन्द लिन आउनुपर्ने स्थल भए पनि दाउरामा शव जलाउने परम्पराका कारण धुवाँ र दुगन्र्धले भरिएको भन्दै मन्त्री पोख्रेलले त्यसलाई तोड्न जरुरी रहेको बताए ।

यसका लागि पशुपतिनाथलाई अब स्वच्छ एवं स्वस्थ धार्मिकस्थल बनाउन सबैले योगदान दिनुपर्ने मन्त्री पोखे्रलको भनाइ थियो । दाउराको विकल्पमा मेसिनको प्रयोग गर्न थालिएपछि अब धुँवा र प्रदुषण कम हुने मन्त्री पोखरेलले विश्वास व्यक्त गरे ।

pashupati-sab-daha-6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment