Comments Add Comment

पोखरामा साहित्य सम्मेलन सुरु

Literature Festival pokhara

सन्देश श्रेष्ठ
१५ माघ, पोखरा । पोखरामा शुक्रबारदेखि लिटरेचर फेस्टिबल (साहित्य सम्मेलन) सुरु भएको छ । फेष्टिबलको बेलायती सेनाका पूर्व कर्णेल जेपी क्रसले एक कार्यक्रमकाबीच उदघाटन गरे ।

लिटरेचर फेष्टिबलको पाँचौं संस्करण नेपाल टुरिजम बोर्डको कार्यालय पार्दीमा माघ १८ सम्म चल्नेछ । सन् २०११ बाट सुरु भएको साहित्यिक महोत्सव यसअघि काठमाडौंमा हुँदै आएकोमा पहिलोपटक पोखरामा आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि क्रसले गोर्खालीले विश्वसामु देखाएको बहादुरीको प्रशंसा गरे । नेपाली नागरिकता प्राप्त ९१ वर्षीय क्रसले अब बेलायत नफर्किने घोषणासमेत गरे ।

कार्यक्रममा क्रसको परिचय दिदै कवि तीर्थ श्रेष्ठले जेपी क्रस बेलायतमा जन्मेको नेपाली भएको स्पष्ट पारे । नेपालीलाई धर्मपुत्र बनाएका जेपीका १६ वटा पुस्तक प्रकाशित भएको श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले साहित्यिक मेलाले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उल्लेख गरे ।

कार्यक्रममा पिताम्बर शर्माले असहज प्रश्नको बारेमा प्रवचन दिए । असहज प्रश्न कहिल्यै सुन्न नपरोस् भन्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले उब्जाएको प्रश्न, भूकम्प, संघीयताको सकस लगायतबारे बोलेका थिए ।

आयोजक बुकवर्म फाउन्डेसनका निर्देशक अजीत बरालले पर्यटनको प्रवर्द्धन र पोखराको साहित्यिक गतिविधिलाई ऊर्जा थप्न महोत्सव पोखरामा गरिएको स्पष्ट पारे ।

पोखरालाई सांस्कृतिक सहर बनाउनु पर्छ भनेर भइरहेका प्रयासलाई उर्जा दिन, भूकम्प र मधेस आन्दोलनले थला परेको नेपाली पर्यटन उद्योगलाई साहित्यिक पर्यटनमार्फत अलिकति भए पनि उकास्न महोत्सवले सहयोग गर्ने विश्वास उनको छ ।

महोत्सवमा साहित्यका विविध आयामका साथै दैनिक जीवनसँग प्र्रत्यक्ष सरोकार राख्ने राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विषयमा छलफल, बहस गरिने सह आयोजक र्‍यान्डर्स रिडर्स सोसाईटी पोखरामा अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

महोत्सवमा भारतका दुई लेखक तथा नेपालका ६० भन्दा बढी लेखक, कलाकार, गीतकार, राजनीतिज्ञहरुले ३० वटा जति विषयमा छलफल गर्नेछन् ।

नयाँ शक्तिमाथि डा. बाबुराम भट्टराई, योगेश भट्टराई र सुधीर शर्माबीच बहस भएको थियो । शरदचन्द्र बस्ती, खगेन्द्र संग्रौला, मोहन मैनाली, नारायण वाग्ले, बुद्धिसागर, मनु मञ्जिल, सरिता तिवारी र श्रवण मुकारुङले भाषाका कुरा, नारा कि कविता ? र दोस्रो पुस्ताको सकस विषयमा बहस र छलफल गरेका थिए ।

महोत्सवको अवसरमा भारतीय लेखिका इरा त्रिवेदी तथा उदय प्रकाशसँग साहित्यकाबारे संवाद हुनेछ । राजेश हमाल र दयाहाङ राई, रेखा थापा, गौरी मल्ल, रवीन्द्र मिश्र, स्वणिर्म वाग्ले, रवीन्द्र अधिकारी, लीलामणि पौडेल, शारदा शर्मा, सरुभक्त, तीर्थ श्रेष्ठ, कर्ण दास, विवेक श्रेष्ठ, रवी थापा, प्रणय राना, नारायण वाग्ले, सुविन भट्टराई, नयनराज पाण्डे, सरस्वती प्रतिक्षा, अनुप बराल, प्रशान्त झा, आहुती, लगायतका व्यक्तिहरुले विभिन्न साहित्य, कला, संगीतका विषयमा छलफल गर्नेछन् ।

नेपाली हिरो, नेपाल कसरी बनाउने, संविधा र पहिचान, नेतृत्वमा संकट, मिडियामा मधेश, इन्डिया इन लभ, सिमान्त स्वरहरु लगायतका विषयमा छलफल हुनेछन् । महोत्सवमा कविता तथा मुक्तक वाचन पनि हुनेछन् । गत नोभेम्बरमा भएको नेपालको पहिलो अन्तर्राष्ट्रिय फोटो महोत्सवमा प्रदर्शनीमा राखिएका १८ वटा प्रदर्शनीहरुमध्ये पाँच प्रर्दशनी महोत्सवमा राखिएको छ ।

कार्यक्रममा कास्की क्षेत्र नम्बर ३ का सांसद एवं व्यवस्थापिका संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारीले लेखेको पुस्तक ‘समृद्ध नेपाल’को शुक्रबार पोखरामा लोकार्पण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment