Comments Add Comment

कविता: मेरी छोरीले सिकाएको प्रेम

Anita-Sharma

अनिता शर्मा

खेल्दाखेल्दैको पुतलीको
कपाल भुत्लाउँछिन्,
हान्छिन् ढुंगाले
आफ्नै पि्रय चिजहरुलाई
आमालाई र संगीहरूलाई पनि,
छिनभरमै रुन्छिन्
छिनभरमै हाँस्छिन्,
अचम्म, निकै अचम्मको छ
मेरी प्यारी छोरीको रिस ।

म दिनभरि कामकाजले थाकेर
भरे उनैसँग गाउँछु लोरी
उनी निदाउँछिन् मेरो छातीमा
मानौँ, निदाएको छ धर्ती मेरी छोरीसँगै ।
मीठो निद्रामा जूनजस्तै लाग्छिन् मेरी छोरी
शीतल, शीतल, शीतल ।

सानो कुरामा दुखाउँछिन् चित्त
जब म कथित ठूला कुराले तनावमा हुन्छु
उनलाई त ठूला कुराले कत्ति पनि छुँदैन ।

मीठो-नमीठो होस् बाँड्न झगडा गर्छिन्
हो, अत्यन्तै सानो कुरामा रिसाउँछिन्
र चकलेट-खेलौनामै रिस भुल्छिन्
यति मीठो र निको लाग्छ कि मलाई उनको रिस
उनी बेलाबेला रिसाइनन् भने
म बेखुस हुन्छु ।

धेरै माया गरेपछि पो नदेखिने रहेछ
सन्तानको रिस
उकालो चढुँ भन्दा
ओरालो झर्छिन्
ओरालो झरुँ भन्दा उकालोमा पुग्छिन्
सम्झ भन्दा बिर्सिदिन्छन्
बिर्स भन्दा सम्भिmदिन्छिन्
कहिलेकाहीँ त कति उदेकलाग्दो लाग्छ
मेरी छोरीको रिस ।

मलाई पनि रिसाउन मन छ
यो देशको व्यवस्थासँग
जसरी रिसाउँछिन्
खेलिरहेकी मेरी छोरी
मलाई पनि माया गर्न मन छ
यो मेरो देशलाई
जसरी फकिएर मेरो गालामा माया गर्छिन्
मेरी छोरीले

हो, मेरो देशप्रतिको रिस
मेरी सानी छोरीको जस्तो होस्,
बच्चाहरुको रिसजस्तो होस्
म मेरो देशलाई एकदमै माया गर्छु
म मेरो देशलाई एकदमै सम्मान गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment