Comments Add Comment

यसकारण आवश्यक छ नेपालमा स्वास्थ्य वीमा

Bhojraj-Sharma

भोजराज शर्मा, वीमाविद्
जीवन वीमा भनेको कुनै पनि देशमा जनशक्ति तयार गर्नको लागि अत्यावश्यक हो । विकसित र विकाशोन्मूख देशहरुको तुलनामा नेपालमा स्वास्थ्य वीमाको त्यति राम्रोसँग सुरुवात भएको देखिँदैन ।

नेपालमा वीमाको इतिहास झन्डै ६ दशकजति बितिसक्यो । तापनि स्वास्थ्य वीमामा केही प्रगति भएको देखिँदैन । हालाँ कि केही बीमकहरुले बीचबीचमा स्वास्थ्य वीमाको केही योजनाहरु, वीमालेखहरु ल्याउँछन् । तर, त्यसले निरन्तरता पाउन सकेको देखिँदैन ।

हुन त केही नभएको होइन । वीमा कम्पनीहरुले कति वर्ष अगाडिदेखि नै स्वदेशबाट बाहिर जानेहरुको यात्रामा केही पर्दाखेरि स्वास्थ्योपचार गर्ने गरिरहेकै छन् । त्यसले एउटा विकासको रुप लिएको पनि छ । तर, त्यो विदेश जानेलाई मात्रै भयो । आम जनताका लागि हुने प्रकारको स्वास्थ्य वीमामा कम्पनीहरुको धयान गएको छैन ।

अहिले बीमकहरुले दिगो विकासका लागि भन्दा अन्य व्यवसायजस्तो आकर्षण गर्ने हिसाबले स्वास्थ्य वीमालाई अङ्गालेकोमात्रै देखिन्छ । स्वास्थ्य वीमा नगर्नुमा बीमकहरु आफूमात्रै दोषी छैनन् । बीमकहरुले जाने प्रयास नगरेका भने होइनन् । स्वास्थ्य वीमा गर्नका लागि प्रर्याप्त पूर्वाधारहरु चाहिन्छ, नेपालमा त्यो पूर्वाधारको अभाव छ ।

शहरी इलाकामै पनि स्वास्थ्य वीमाको विकास भएको पाइँदैन । यस्तो अवस्थामा ग्रामीण भेगमा पुग्नु त असम्भव नै छ ।  स्वास्थ्य वीमाका लागि स्वास्थ्योपचार गर्ने ठाउँहरुको यथेष्ट मात्रामा हुनुपर्छ । अहिलेको तीतोसत्य के हो भने गाउँघरमा स्वास्थ्य चौकीहरु छन् । तर, त्यहाँ डाक्टर बस्दैनन् । कतिपय स्वास्थ्य चौकीमा गएका बिरामीलाई त्यहाँको पियनले सिटामोललगायतका औषधिहरु दिने गरेका छन् भने कतिपय ठाउँहरुमा त सिटामोलको समेत अभाव छ ।

सरकारको स्वास्थ्य उपचार, स्वास्थ्यचौकी, अस्पताल, स्वास्थ्य शिविर र विभिन्न प्रकारका खोपहरुका लागि खर्च गर्ने गरे पनि वीमाका लागि भने अहिलेसम्म खर्च गरेको छैन । सरकारले जनताको स्वास्थ्य वीमामा पटक्कै ध्यान दिएको देखिँदैन । सरकार यसरी गैरजिम्मेवार हुनु अत्यन्त्यै दुखःद हो । यदाकदा सरकारले बजेट भाषण्मा स्वास्थ्य वीमाको स्किम सुरु गर्ने घोषणा गरेको पनि थियो । कहिले निजामती कर्मचारीको स्वास्थ्य वीमा गर्ने भनियो त कहिले आम जनताको लागि गर्ने भनियो । कहिले ५ वटा जिल्लामा मात्रै गर्ने भन्ने घोषणा पनि गरियो । तर, देखिने गरी काम भने केही भएको छैन । घोषणाहरु खाली घोषणामा मात्रै सीमित भएका छन् ।

कतिपय देशहरुले १० वर्षको निरन्तर कार्यक्रम गरेर आफ्ना नागरिकको स्वास्थ्य वीमा गर्दै पनि आएका छन् । मैले केही दिन अघि मात्रै पढेको थिएँ कि कुवेत सरकारले सबै जनताको निःशुल्क स्वास्थ्य वीमा गराउने घोषणा गरेको छ

अन्य देशहरुमा सरकारी स्किमहरु अन्तर्गत करदाताहरुको सामाजिक सुरक्षा अन्तर्गत कतिपय विकसित देशहरुमा आधारभूत स्वास्थ्यको वीमा  निःशुल्क छ । सरकारले सबै नागरिकहरुलाई कार्ड दिन्छ र त्यो कार्डहोल्डरले निःशुल्क वीमाको उपयोग गर्छन् ।

कतिपय देशहरुले १० वर्षको निरन्तर कार्यक्रम गरेर आफ्ना नागरिकको स्वास्थ्य वीमा गर्दै पनि आएका छन् । मैले केही दिन अघि मात्रै पढेको थिएँ कि कुवेत सरकारले सबै जनताको निःशुल्क स्वास्थ्य वीमा गराउने घोषणा गरेको छ । भारतमा देशव्यापीरुपमा चाहीँ होइन तर पाइलट प्रोजेक्टकोरुपमा ठाउँ-ठाउँमा आधारभूत स्किमहरु सञ्चालन गरिरहेको छ ।

आजभन्दा ४० वर्ष अगाडि म वीमासम्बन्धी अध्ययन गर्न बेलायत बसेको थिएँ । बेलायतमा त्यसबेला नै स्वास्थ्य वीमाको राम्रो विकास भइसकेको थियो । बेलायत सरकारले मलाई बेलायती जनतासरहको हस्वास्थ्य वीमाको कार्ड दिएको थियो ।

बिरामी हुँदा म पहिला टोलको स्वास्थ्य चौकीमा जान्थेँ । समस्या अलि ठूलै भए स्वास्थ्य चौकीले रिफरल अस्पिटलमा पठाउँथ्यो । अस्पतालले उपचार गरिदिन्थ्यो । एक रुपैयाँ पनि तिर्नु पर्दैनथ्यो, हस्पिटलबाट डिस्चार्ज हुनेबेलामा काड स्वाप गरे पुग्थयो ।

सरकार साँच्चै आफ्ना नागरिकहरुको स्वास्थ्य वीमा गराउन अग्रसर भयो भने नेपालमा पनि जनताको स्वास्थ्य वीमा सम्भव छ । तर, यसलाई राष्ट्रिय संकल्पका रुपमा अघि बढाउनु पर्छ । हरेक बजेटमा स्वास्थ्य वीमासम्बन्धी व्यवस्था हुनुपर्छ । सुरुमा पाइलट प्रोजेक्टको रुपमा गर्नुपर्छ । सरोकारवालाहरु सबै सम्मिलित समन्वय समिति गठन गरेर यो अभियानलाई प्रभावकारीरुपमा अघि बढाउन सकिन्छ । हरेक ग्रामीण क्षेत्रमा पहिला हस्पिटलको रुप दिनका लागि डाक्टर, नर्सहरुको व्यवस्था गर्नुपर्छ । आवश्यकता अनुसार बेड संख्या निर्माण गर्नुपर्छ ।

५० हजार वा लाख रुपैयाँ वा कति बराबरको आधारभूत वीमा गर्ने हो त्यसको सीमा तोकेर विपन्न आधुनिक प्रणालीबाट स्वास्थ्य वीमा लागू गर्न सकिन्छ । हरेक ठाउँमा कार्ड स्वाप गरेपछि त्यसको रिपोर्ट सिस्टमले नै केन्द्रमा पठाउन सक्ने प्रविधि चाहिन्छ । कुनै बिरामी, गाउँ, जिल्ला, अञ्चल, हुँदै उपचारका लागि केन्द्रसम्म आउन सक्छ । ती सबै ठाउँमा कार्ड स्वाप गरे पुगोस् ।

शहरमा बस्ने र धनीमानीका लागि २०औं लाख बराबरको स्वास्थ्य वीमा चाहिएला । आधारभूत वीमाले त्यसको आधार पनि निर्माण गर्छ । स्वस्थ्य व्यक्ति भनेको देशको सम्पत्ति हो । जनताको स्वास्थ्य राम्रो भए समग्र राष्ट्रको उत्पादकत्व नै बढ्छ । जुन कुरा अहिले नेपालले गुमाइरहेको छ । त्यसैले हरेक जनतालाई सक्रिय बनाउनका लागि भए पनि राज्यको तर्फबाट आधारभूत स्वास्थ्य वीमा हुनै पर्छ ।

नेपाल सरकारले स्वास्थ्य वीमा सुरु गर्ने हो भने केही वर्षपछिदेखि स्वास्थ्य मन्त्रालयले अन्य स्वास्थ्यउपचारमा गर्दै आएको खर्च घट्छ । बचत भएको बजेटबाट नै जनताको आधारभूत स्वास्थ्य वीमा गराउन सकिन्छ ।

नयाँ वीमा ऐनको मस्यौदा अहिले संसदमा विचाराधीन अवस्थामा छ । नयाँ वीमा ऐनमा वीमाको पूर्वाधार बढाउने प्रस्ताब गरिएको छ । यो ऐन आएपछि स्वास्थ्य वीमा सुरु गर्ने आधार पनि बन्नेछ ।

(पुष्प दुलाल र नविन अर्यालसँग गरिएको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment