Comments Add Comment

नेपाली समाजलाई के भैरहेको छ ?

Ganesh-Pariyarगणेश परियार सिवा

नेपाली समाजलाई के भैरहेको छ ? हामी कता जादैछौ ? किन नेपाली समाज सहि बाटो पक्रिन सकिराखेको छैन ?  एउटा लामो राजनैतिक क्रान्तिको यात्रा त समाप्त भैसक्यो तर फेरि किन देशले सहि बाटो पक्रिन सकिरहेको छैन ? संबिधानसभाबाट नयाँ संबिधान पनि घोषणा भैसक्यो । तर फेरि किन अशान्त छ नेपाली समाज ?  आजकल यी प्रश्नहरु हरेक नेपालीहरुले हरेक क्षण एकअर्कालाई सोधिरहने प्रश्न बनेको छ ।

गत साता एउटा कार्यक्रममा भाग लिन सनैया ४१ नम्बर पुगेको बेला एकजाना मित्रले सोध्नु भयो “गणेशजी के साम्प्रदायिक मुद्दाले नेपाललाई गाजेकै हो ? गणतन्त्र आएपछि, संबिधान बनेपछि त सबै समस्याको सामाधान हुन्छ भन्थे त खै समस्या त झन बढेको बढै छ त ? के नेपाल अब कहिले उभो नलग्नेनै भयो त ?”

प्रश्न बडो कारुणिक थियो । अनि त्यो भन्दा पनि कारुणिक नेपालको अहिलेको अबस्था ।

हामी धेरैलाई लाग्न सक्छ महिलाले, मधेशले, जनजातिले, दलितले उठाएको सबै मुद्दा संबिधानमा सम्बोधन गरिदिए सबै समस्याको सामधान हुन्छ । तर के हिजोको खास खास ऐतिहासिक घटनाक्रम संगै जबर्जस्त तरिकाले बिकास गरिएको हाम्रा सामजिक, साँस्कृतिक, बर्गीय मुल्यमान्यताहरु समाजमा जीबित रहुन्जेल केबल राजनैतिक मुद्दाहरुको सम्बोधनले मात्रै के हाम्रा अन्तरबिरोधहरु समाप्त हुन्छन त ? एउटा गम्भिर र बहस गर्नु पर्ने विषय यही नेर छ ।

हाम्रो समाजको राष्ट्रियता सम्बन्धी परिभाषा र बुझाई, सौन्दर्यता सम्बन्धी परिभाषा र बुझाई, व्यक्तिको क्षमता, बौद्धिकता र व्यक्तित्व सम्वन्धी परिभाषा र बुझाईलाई बिगत लामोसमय देखी यसरी कलुशित बनाईएको छ कि अहिलेको नेपाली समाजमा चलिरहेको अन्तरबिरोधको मुख्य कारण त्यहिनेर छ । अहिलेको नेपाली समाजमा देखिएको अन्तरबिरोधको गुदी कुरो हिजोको राज्यसत्ताले निर्माण गरेको राष्ट्रियता, सौन्दर्य मुल्य र मान्यताहरु, ब्यक्तिको क्षमता र बौद्धिकता सम्बम्धी बुझाई र पछिल्लो परिवर्तनले उत्पीडित समुदायमा ल्याएको चेतना र त्यस चेतनाले बिकास गरेको राष्ट्रियता, सौन्दर्य मुल्य र मान्यताहरु, व्यक्तिको क्षमता र बौद्धिकता सम्बन्धी बुझाईहरुको टकरावनै हो ।

हामीले मधेसका सबै मुद्दाहरु संबोधन गरौ । तर जबसम्म टोपी लाउने मात्रै नेपाली हो चाहे त्यो नेपालमा जन्मेको होस या दाजिर्र््िङमा, धोति लाउने होइन । नेपाली बोल्ने मात्रै नेपाली हो नेपाली बोल्न नजान्ने मैथली, भोजपुरी, अबधी र हिन्दी बोल्ने नेपाली होइन चाहे त्यो महोत्तरी र कपिल्बस्तुमै जन्मेको किन नहोस, भन्ने राष्ट्रियता सम्बन्धी हाम्रो परिभाषालाई बिस्थापित नगर्ने हो भने मधेसका सबै मुद्दा सम्बोधन गरेपनी पहाड र मधेसबीचको अन्तरबिरोध समाप्त हुदैन ।

हिजोका शासकहरु बस्ने सिमित भुगोल भित्रका हिमाल देखी तल चुरे देखी माथीका गहुँगोरा सग्ला सिमित जातीहरु मात्रै राम्रा भन्ने मुल्य स्थापित गरियो । त्यही सिमित जातीहरु बस्ने भुभागमा रहने दलितहरु पनि हाम्रो समाजको सौन्दर्य मुल्य भित्रका परिभाषा भित्र पर्न सकेनन । अहिले पनि कुनै दलितको घरमा राम्री छोरी जन्मिभने कति राम्री बाहुनी जस्तै रैछे भनिन्छ सुनिन्छ । कसैको बोल्ने शैली मन नपरे कस्तो दमाई कामिले जस्तो बोलेको भनेर झपारिन्छ ।

अहिले नेपाली समाजमा देखिएको अन्तरबिरोध त्यही पुरानो मुल्य, मान्यता, दृष्टिकोण र परिभाषाहरु र नयाँ मुल्य, मान्यता, दृष्टिकोण र परिभाषाहरुको बिचको टकराबनै हो । यो अन्तरबिरोधलाई सहि तरिकाले व्यवस्थापन गर्न सके यसले नेपाली समाजलाई गुणात्मक उचाईमा पुर्याउन सक्छ तर यो अन्तरविरोधलाई सहि ब्यबस्थापन गर्न सकिएन भने यसले नेपाली समाजलाई गलत दिशा तिर डोर्याउने खतरा पनि त्यत्तीकै छ ।

नेपाली सामाजले जुन राजनैतिक क्रान्तिको उचाई पछिल्लो समयमा प्राप्त गरेको छ त्यो उचाई हिजोको निश्चित र संकुचित राष्ट्रियता, मुल्य, मान्यता, परिभाषाको जगमा उभिनै सक्दैन । त्यसैले पनि यो अन्तरसंघर्ष अनिबार्य छ अकाटिय छ । त्यसैले यो अन्तरबिरोध स्वाभाविक र प्राकृतिक प्रकृयानै हो । तर यसको स्वाभाबिक बहावलाई बेलैमा बिवेकपुर्ण व्यवस्थापन गर्दै अन्तरसंघर्षहरुको चापलाई कम गर्दै जानु पर्छ ।

पछिल्लो राजनैतिक परिवर्तन, शिक्षा क्षेत्रमा भएको पहुच बिकास, सुचना प्रविधी, विश्वव्यापीकरण जस्ता कुराहरुले अहिले नेपाली समाजमा सबै तह तप्कालाई तरङ्गीत बनाईदिएको छ । आँखा खोली दिएको छ । चेतनास्तर बढाई दिएको छ । जतिसक्दो चाडो हामी सबैले हामीलाई एकाअर्काबाट खण्डित गर्ने असान्दर्भिक र विभेदकारी मूल्य र मान्यताहरु, साँस्कृतिक रहनसहन र सामाजिक व्यावहारहरुमा परिवर्तन गर्दै उत्पीडित समुदायहरुको व्यापक सहभागिता र समाबेशीकरण सहितको राज्यतन्त्र निर्माण गर्न सकियो भने मात्रै आज नेपाली समाजलाई सही गन्तब्यमा पुर्याउन सकिन्छ ।

लेखक प्रवासी नेपाली मन्च, राष्ट्रिय कमिटी कतारका उपाध्यक्ष हुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment