Comments Add Comment

स्पेनमा दुतावास स्थापनाका लागि बार्सिलोनामा छलफल

Barsilona,-Spainबार्सिलोना । स्पेनमा नेपाली दूतावास स्थापना गर्नका लागि निर्णायक पहल गर्न भन्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय स्पेनले बार्सिलोनामा छलफल आयोजना गरेको छ। एनआरएन युरोप संयोजक कुल आचार्यको उपस्थितिमा स्पेनबासी नेपाली समुदायबीच छलफल गरिएको हो।

बक्ताहरुले एनआरएनए सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाचौ महिला सम्मेलनमा स्पेनमा दूतावास स्थापना गर्न नेपाल सरकारसँग पहल गर्ने भन्दै घोषणा पत्र जारी गरेको भन्दै ठोस पहल गर्न संयोजक आचार्यको ध्यानाकर्षण गराएका छन्।

प्रमुख अतिथिको रुपमा बोल्दै युरोप संयोजक आचार्यले स्पेनमा दूतावासको स्थापना गर्न आफूले सक्दो  पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे। एनआरएनए युरोपियन बैठकले बार्सिलोना घोषणापत्र जारी गर्दा स्पेनमा दूतावासको लागि पहल गर्ने प्रतिबद्धताको स्मरण गर्दै नेपाल सरकारलाई नेपालीहरुका समस्याबारे गम्भीर हुन आग्रह गरे।

बिशेष अतिथिको रुपमा उपस्थित राष्ट्रिय समन्वय परिषद पोर्चुगलका अध्यक्ष भिम कमल केसीलाई पनि स्पेनमा दूतावासका लागि समर्थन गर्न बक्ताहरुले अनुरोध गरेका थिए। स्पेनबासीहरुको अनुरोध पछि बोल्दै केसीले स्पेनमा राजदूतावास स्थापना भए पनि आफूलाई कत्ति पनि दु:ख नलाग्ने बताएका छन्। केसीले पोर्चुगल र स्पेन दुबै देशमा दूतावास आबश्यक रहेको बताउँदै एक आपसमा प्रतिस्पर्धा नभइ मिलेर जानु पर्ने बताए ।

उनले भने,” पोर्चुगलले कन्सुलेट मागिरहँदा धेरै बर्ष पहिलेदेखि स्पेनले दूतावास माग गर्दै आएको हो, पहिले नै स्थापना भइसकेको  भए झनै राम्रो हुन्थ्यो तर अहिले स्थापना हुन्छ भने पनि हामी खुशी छौ ।  प्रतिस्पर्धा स्पेनसँग होइन, तर २० हजारको संख्या रहेको पोर्चुगलमा दूतावास सरकारले दिनुपर्छ भन्ने हाम्रो जोडदार माग हो।’

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्तबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरी, निर्बमान सदस्य दिपक खरेल, नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रे, प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष दिनेश गुरुङलगायत स्पेनस्थित संघ संस्थाका प्रतिनिधिहरुले बोलेका थिए। कार्यक्रमको संचालन संघका महासचिव उमेश अधिकारीले गरेका थिए।

स्पेनमा नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दो छ। अन्य युरोपियन मुलुकमा भन्दा बैधानिक रुपमा कागज पाउन ( रेसिडेन्सी) सजिलो भएकोले पनि नेपालीहरुको आकर्षण थलो बनेको हो। अर्को तर्फ कागज प्राप्त गरिसकेकाहरुले परिवारलाई पनि आफूसँगै राख्न पाउने हुँदा नेपाल छोडेर यता बस्ने क्रम बढेको हो।

नेपालीहरुको बाक्लो बसाई रहेका बार्सिलोना, पाईस भास्को, कमुनिदाद भालेन्सियाना, ग्रान क्यानारिया (क्यानारियन टापु), मड्रिड, मायोर्का, मालागा लगायतका शहरहरुमा गरी करिब १२ हजार नेपालीहरुको बसाई रहेको अनुमान छ । तर राजदूतावास नभएकै कारण स्पेनबासी नेपालीहरुले धेरै कुरामा सास्ती खेपेका छन्।

राजदूतावास नहुँदा स्पेनलाई पनि फ्रान्सस्थित नेपाली दूतावासले हेर्दै आएको छ। पोर्चुगल, ग्रीस लगायतका अन्य मुलुकलाई पनि हेर्नुपर्ने हुँदा फ्रान्स दूतावासले स्पेनका नेपालीहरुका समस्यालाई सम्बोधन गर्न सकेको छैन। एमआरपी पासपोर्ट बनाउन, वारिसनामा लगायतका कागजात बनाउन लामो समय कुर्नुपर्ने झन्झट छ । फारम बिग्रँदा, पासपोर्ट गलत बनेर आउँदा पटक-पटक डकुमेन्ट फ्रान्स र स्पेन गर्नुपर्ने हुँदा स्पेनबासीले हैरानी ब्यहोरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment