Comments Add Comment

कांग्रेस महाधिवेशनः यसपालि ‘मुडमा’ छन् रामचन्द्र

Ramchandra Poudel

२१ माघ, काठमाडौं । शेरबहादुर देउवाको अगुवाईमा कांग्रेसबाट फुटेको समूहले ८ असार ०५९ मा नयाँ बानेश्वरमा ‘प्रजातान्त्रिक कांग्रेस’ पार्टी घोषणाको तयारी गरिरहेको थियो । ६ गतेदेखि सुरु भएको भेलाको अन्तिम दिन बिहान ९ बजे रामचन्द्र पौडेललाई पार्टी सभापति बनाउने पूर्वयोजना थियो ।

तोकिएको समय घर्की सक्दा पनि उपस्थित नभएपछि देउवा पक्षका नेताले पौडेलको घरमा फोन गरे । उनी हिँडिसकेको खबर आयो । तर न पौडेल आए, न त उनको फोन आयो ।

भएछ के भने, बानेश्वर जान हिँडेका पौडेललाई बत्तिसपुतली आइनपुग्दै गिरिजाप्रसाद कोइरालाको फोन आयो । उनले ‘एकपटक मलाई भट्नुस्, कांग्रेसकै सभापति बनाउँछु’ भनेर बोलाएछन् ।

बानेश्वर हिँडेका पौडेलले कोइराला निवासतर्फ गाडी मोडे । निवासमा उनलाई धेरैबेर कुराइयो । यता, बानेश्वरमा पौडेलले धोका दिएको भन्दै देउवालाई नै सभापति घोषणा गरियो ।

उता, सभापति पाउने लोभमा पौडेल देउवातिर गएनन् । तर, गिरिजाप्रसादले पनि आश्वासनअनुसार उनलाई सभापति बनाएनन् ।

तीनै पौडेल अहिले कांग्रेसको १३औं महाधिवेशनमा आउँदा गिरिजाका उत्तराधिकारी सुशील कोइराला र प्रतिस्पर्धी देउवालाई चुनौती दिने तयारी गरिरहेका छन् ।

तर, पौडेलको दुःख यो छ कि गैरकांग्रेस त कुरै छाडौं, कांग्रेसजनले समेत पनि उनी सभापतिमा चुनाव लड्छन् भनेर पत्याएका छैनन् । लगातार भाषण गर्दा र चन्दा संकलन गर्दा समेत उनको उम्मेदवारीलाई गम्भीरतापूर्वक लिइएको छैन ।

‘यी बाहुनले बार्गेनिङ मात्र गरेका हुन्’ भन्नेहरू धेरै छन् । यसको मुख्य कारण हो, पौडेलको विरोधाभासपूर्ण राजनीतिक करिअर ।

पौडेलले सभापति लड्छु भनेर देशभर भ्रमण गरे, भारत गए र अहिले पनि माहोल बनाउन प्रयासरत छन् । सकेसम्म सुशील कोइरालालाई रोकेर आफू संस्थापन पक्षको उम्मेदवार बन्ने र नभए तेस्रो धारको नेतृत्व गरेर चुनाव लड्ने उनको रणनीति छ ।

तर, पौडेलले सभापतिमा उठ्छु भन्दा कांग्रेसका नेता ‘खुट्टी देख्दै चाल पाइयो’ भन्ने शैलीमा कुरा गर्छन् । पौडेलले अन्तिम समयमा आएर उम्मेदवारीबाट खुट्टो झिक्छन् भन्ने विश्वास आमकांग्रेसीहरूले लिएका छन् ।

तीन दशकभन्दा बढी समयदेखि कांग्रेसको केन्द्रीय राजनीतिमा रहेका पौडेलको सभापतिमा दाबेदारी अस्वाभाविक होइन । तर, किन उनको उम्मेदवारीमा सन्देह ?

पौडेल अहिले कांग्रेसको १३ औं महाधिवेशनमा आउँदा गिरिजाका उत्तराधिकारी सुशील कोइराला र प्रतिस्पर्धि देउवालाई चुनौती दिने तयारी गरिरहेका छन् ।

पुराना र पार्टीप्रति बफादार नेतामाथि नेता-कार्यकर्ताले यति धेरै अविश्वास गर्नुमा उनको विगतको द्विविधाग्रस्त शैली जिम्मेवार देखिन्छ ।

०५२ सालमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईमध्ये को प्रधानमन्त्री बन्ने भन्ने विषयमा विवाद चर्किएका बेला उनले दोहोरो भूमिका खेल्दा देउवाले प्रधानमन्त्री पड्काएका थिए । गिरिजाप्रसादको सरकारमा रहँदा उनले होलेरी काण्डमा आफ्नै पार्टीका प्रधानमन्त्रीलाई असहयोग गर्दै राजीनामा दिए । यस्ता दृष्टान्त थुप्रै छन्, जसले उनीमाथि भरोसा गर्न कांग्रेसको एउटा पंक्ति हिच्किचाउने गर्छ ।

यसपटक पक्का उम्मेदवार

यस महाधिवेशनमा पौडेलको उम्मेदवारी बार्गेनिङका लागि मात्र होइन । उनले सभापतिमा सुशील र देउवालाई चुनौती दिन सक्नेछन् ।

तनहुँको अमरापुरीमा जन्मिएका ७१ वर्षीय पौडेल सभामुखदेखि उपप्रधानमन्त्री र पार्टी उपसभापतिसम्म भइसके । तर, कतै पनि प्रमुख कार्यकारी पदमा पुग्ने मौका पाएनन्, न पार्टीमा, न त सरकारमा । प्रधानमन्त्रीको निर्वाचनमा १७ पटकसम्म हारेर छाडे ।

पार्टीको कमान्ड सम्हाल्ने पनि सायद पौडेलका लागि यो नै अन्तिम मौका हुन सक्छ । उमेरका कारण पनि १४औं महाधिवेशनसम्म कुर्ने समय छैन, उनका लागि ।

छोरादेखि ज्वाइँसम्मको दबाब

यसपटकको उम्मेदवारीमा पौडेललाई पारिवारिक दबाब पनि तीव्र छ । उनका छोरा चिन्तन लामो बेलायत बसाइपछि केही समयअघि स्वेदश फर्किए । कांग्रेसको राजनीतिमा धेरै घुलमिल नभए पनि उनी बुबालाई सभापति लड्न लगातार दबाब दिइरहेका छन् ।

हालै प्रधानमन्त्री निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार बन्न पनि पौडेललाई छोराले निकै घचघच्याएका थिए । यसपटक उनका ज्वाइँहरूले पनि पौडेलमाथि दबाब बढाइरहेका छन् ।

भारत दाहिना बनाउने प्रयास

कांग्रेसको महाधिवेशन तयारी हुँदै गर्दा पौडेल भारत भ्रमणमा गए । पतञ्जली योगपीठको कार्यक्रमका लागि भारत गए पनि उनले दिल्लीमा केही महत्त्वपूर्ण भेटवार्ता गरे ।

पौडेलनिकट स्रोतका अनुसार उनले आफूलाई सघाउन भारतीय नेताहरूसित प्रस्ट आग्रह गरेका छन् । दिल्ली शक्तिकेन्द्रले कांग्रेसमा सुशील कोइराला र शेरबहादुर देउवालाई मात्र नोट गर्ने गरेका थिए । योपटक पौडेल ममाथि किन अविश्वास भन्ने शैलीमा प्रस्तुत भएको र उताबाट पनि सकारात्मक जवाफ पाएका छन् ।

भारतबाट फर्किएपछि आफूले भेट्दा पौडेल निकै उत्साहित देखिएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

बल्ल गुटको अभ्यास

पार्टीको कमाण्ड सम्हाल्ने पनि शायद पौडेलका लागि यो नै अन्तिम मौका हुनसक्छ । उमेरका कारण पनि १४ औं महाधिवेशनसम्म कुर्ने समय छैन उनको लागि ।

कांग्रेसका थुप्रै केन्द्रीय नेताका आ-आफ्ना गुट र उपगुट छन् । तर, संस्थापन पक्षभित्रै रहँदै आएका पौडेलले कहिल्यै आफ्नो गुटलाई स्थापित गर्न सकेनन् । यसमा पौडेल नै दोषी रहेका कांग्रेसका एक नेताको भनाइ छ । उनका अनुसार पौडेलले कहिल्यै आफ्नो गुटमा लागेका मान्छेलाई संरक्षण गर्न जानेनन् ।

यतिसम्म कि उनी सुशील कोइरालासँग बार्गेनिङ गर्दा समेत आफ्नै मात्र कुरा गर्छन्, गुट बिर्सन्छन् । आफूलाई सभापति दिनुपर्नेबाहेक उनको अरु कुनै सर्त छैन, पार्टीभित्र ।

यद्यपि यसपटक उनले सानै भए पनि गुट बनाएका छन्, जसले उनलाई भरथेग गरिरहेको छ । पार्टीको नीति प्रतिष्ठानमा रहेर उनले देशभर कार्यक्रम गरे । यसबाट उनीसँग केही केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापति जोडिएका छन् ।

पौडेलले शेखर कोइराला, रामशरण महतदेखि युवा नेता गगन थापासम्मको विश्वास आर्जन गर्ने प्रयास गरिरहेका छन् । यद्यपि रामशरण सुशीलका विश्वासपात्र हुन् भने गगन स्वतन्त्र रूपमा चुनाव लड्ने तयारीमा छन् । शेखरले पनि आफ्नो कित्ता खुलाइसकेका छैनन् ।

कोइरालाको अर्कै दाउ

पौडेलले सभापतिको चुनाव लड्छु भने पनि संस्थापन पक्ष छाडेका छैनन् । उनको पहिलो प्रयास संस्थापनको उम्मेदवार हुने नै देखिन्छ । तर, सुशीलले उनलाई छाड्ने छाँटकाँट छैन । उनी विधान संशोधन गरेर पौडेललाई वरिष्ठ उपसभापतिमा चुनाव लडाउने रणनीतिमा छन् । तर, विधान संशोधन गर्न दिन्नौं भनेर देउवा पक्षले भनिसकेको छ ।

यदि विधान संशोधन नहुने हो भने पौडेलसँग उपसभापतिमा ठाउँ सुरक्षित गर्नु वा सभापतिकै उम्मेदवार हुनुबाहेक अरु विकल्प छैन । प्रधानमन्त्री बनाउँछु भनेर पटक-पटक दिएको आश्वासनमा धोका दिएकाले पनि उनी कोइरालामाथि भर गर्न सक्ने अवस्थामा छैनन् ।

त्यसैले योपटक पौडेलले सभापतिमा सुशील र देउवालाई चुनौती दिन जोखिम मोल्न सक्छन् ।

यो पनि पढ्नुस्

संस्थापन पक्षकै भोटले ४० लाई ५१ पुर्‍याउने शेरबहादुर देउवाको दाउ

२०८८ सालपछि सक्रिय राजनीति छाड्ने गगन थापाको घोषणा

 कांग्रेसको विधान विवादः गुट मिलाउन तीन उपसभापति राख्ने सुशीलको प्रस्ताव

खुमबहादुरको गुनासोः कांग्रेसमा पैसाको चलखेल बढ्यो

कांग्रेसमा सभापतिका पाँचजना आकांक्षी निस्किए

कांग्रेसमा उमेर हदः ८० वर्षे सुशीलदेखि ४० वर्षे गगनसम्म

कांग्रेसका ‘हार्डलाइनरहरु’ भन्छन्- देउवाले राजालाई बुझाए, सुशीलले कम्युनिष्टलाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment