Comments Add Comment

मेरो करिअर न उचाइमा पुग्यो न झर्‍यो नैः नन्दिता केसी

Nandita kc (14)
माघ २२ अर्थात भोलीबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्र हो, ‘कैफियत’ । यो चलचित्रमा नायिका नन्दिता केसी मुख्य भूमिकामा छिन् । उनै नन्दिताको करिअर यो चलचित्रले उकालो लगाउँछ भनेर चर्चा पनि भएका छन् । के एउटा चलचित्रले कुनै कलाकारको करिअरमा फेरबदल ल्याउँछ त, यसै सेरोफेरोमा नायिका केसीसँग गरिएको कुराकानीः

१. ‘कैफियत’ले तपाइलाई उचाइमा पुर्‍याउँछ भनिन्छ, के तपाइको करिअर खस्किएकै हो र ?
मलाई लाग्दैन मेरो करिअर कहिल्यै पनि तल पुगेको छ । मान्छेको चाहना झन् झन् माथि चढ्ने हुन्छ । आफ्नो मिहिनेतका कारण मैले चलचित्र क्षेत्रमा एउटा स्थान बनाएकी छु । हरेक मानिसको समय आउँछ । मैले एक समयमा प्रसस्त काम गरेकी छु । नायिकाको करिअर घुमिरहन्छ, जहाँ कहिले कसैको बर्चस्व हुन्छ त कहिले कसैको ।

२. अहिले तपाइको करिअरको अवस्था के हो ?
मेरो करिअर सधै नै एउटा रेसियोमा अगाडि बढेको छ । कहिले पनि म उचाइमा पुगिन । हो अहिले चलचित्र कम छ । तर, चलचित्र नपाएर दिक्क भएर बस्नुपर्ने अवस्था पनि कहिल्यै आएन ।

३. ‘लोग्ने मान्छे’ चल्दा पनि तपाइको करिअर बचाउला भनियो, अहिले ‘कैफियत’ चल्दा पनि त्यही भनिएको छ, आखिर बारम्बार यस्ता कुरा किन आउँछन् ?
खै किन यस्ता खालका चर्चा गरिन्छन् भन्ने मलाई नै थाहा छैन । फेरि, एउटा चलचित्रले करिअर बनाउने र बिगार्ने हुन्छ जस्तो मलाई लाग्दैन ।

४. ‘कैफियत’ के हो ?
जालझेल, कपटलाई पर्दाफास गर्ने काम यो चलचित्रले गरेको छ ।

५. ‘कैफियत’ भित्रकी नन्दिता के हुन् ?
यो चलचित्रमा म साधारण यूवतीको भूमिकामा छु । तर, मेरो भूमिकालाई नै चलचित्रमा केही आरोह अवरोह ल्याउने काम गर्छ । केही सस्पेन्स पनि भएकाले खुलाउन मिल्दैन ।

६. यो चलचित्रमा त तपाई बाहेक सबैजसो नयाँ हुनुहुन्छ, नायक, निर्माता, निर्देशक ? काम गर्दाको अनुभव कस्तो रह्यो ?
यो चलचित्रमा काम गर्दा पूर्ण पारिवारिक जस्तो लाग्यो । निर्देशक दशरथ गिरीदेखि टिमका सबै जनासँग रमाइलोसँग काम गरियो । यसैले चलचित्र पनि राम्रो बनेको छ ।

७. चलचित्र चल्यो वा चलेन भने दुबैको क्रेडिट लिनुहुन्छ ?
चलचित्र चल्दा कलाकारलाई, निर्देशक, निर्माता सबैलाई फाइदा हुन्छ । यसैले मलाई पनि फाइदा हुने भयो नै । यदि, चलेन भने पनि कलाकारको काम राम्रो छ भने तारिफ पक्कै हुन्छ । चलचित्र नचल्दैमा कलाकारले गतिलो काम गरेन भन्न पनि मिल्दैन ।

८. नयाँ प्रोजेक्टहरु के-के छन् ?
अहिले कुनै पनि चलचित्र छैन । म्यूजिक भिडियो गरिरहेकी नै छु । अहिले केही गर्ने योजना पनि छैन ।

९. ‘कैफियत’ किन हेर्न जरुरी छ ?
यो चलचित्रको गीतसंगीत राम्रा छन् । चलचित्र साउथ इन्डियन शैलीको छ । चलचित्र एकदमै चाडो चाडो अगाडि बढ्छ ।

१०. तपाई र नायिका गरिमा पन्त एकसाथ यूरोप जानु भएको थियो, सोही समयमा गरिमा जीले घरजम गर्ने सोच बनाउनुभयो र अहिले गर्नु पनि भयो । तपाइको सोच के छ, एनआरएन नै रोज्नु हुन्छ कि नेपालमै बस्ने ?
गरिमाजीले सोच्नु भयो र बिहे गर्नुभयो । तर, अहिले नै मलाई यसको सोच आएको छैन । कोसँग लेखेको छ, उसैसँग बिहे होला भन्ने लागेको छ । गरिमाजीले एनआरएन रोज्नु भयो भन्दैमा मैले पनि रोज्नै पर्छ भन्ने पनि छैन । हेरौ के-के हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment