Comments Add Comment

‘विदेशमा रहेका कामदारका लागि हेल्थ डेस्क राखौं’

२२ माघ, काठमाडौं । डा. रवीन्द्र समीर फेसबुकमा निकै सक्रिय चिकित्सक हुन् । यद्यपि उनी खालि टाइमपासका लागि फेसबुक चलाउँदैनन् । विदेशबाट नेपालीले पठाएका स्वास्थ्य समस्यासहितका सन्देश पढ्नु र उनीहरूका समस्या बुझेर समाधानको बाटो देखाइदिनु उनको नित्यकर्मजस्तै बनेको छ ।

Rabindra-Sameer‘मलाई विदेशबाट दैनिक २५-३० जनाको सन्देश आउँछ,’ समीर भन्छन्, ‘सानोतिनो स्वास्थ्य समस्यामा पनि ठूलो त्रास पालेर बस्नुभएका नेपाली धेरै पाएको छु ।’

उनको बुझाइमा विदेशमा मजदुरी गर्ने नेपाली उचित स्वास्थ्य उपचार र परामर्श पाउनबाट वञ्चित छन् । उनले आफ्नो फेसबुकमा केही प्रसंग उल्लेख गरेका छन् ।

प्रसंग १:  एक अपरिचित व्यक्तिले मलाई मलेसियाबाट इनबक्समा आफ्ना सबै रिपोर्ट, औषधिका तस्बिर, रोगको तस्बिर पठाउनुभयो । भाषा तथा आर्थिक कठिनाइका बाबजुद उहाँ दुई वर्ष कहिले यो अस्पताल, कहिले त्यो अस्पताल गर्दा कमाएको सबै सक्नुभयो ।

मुखभित्र सेतो घाउको समस्या रहेछ उहाँको । त्यहाँका चिकित्सकले क्यान्सरको शंका गरेको थाहा पाएर उहाँ चर्को तनावमा पर्नुभयो । पछि नेपाल आएर मलाई भेट्नुभयो । त्यो सामान्य फंगल समस्या थियो, साधारण औषधिले निको भयो ।

प्रसंग २:  इजरायलमा एउटी नेपाली बहिनी डिप्रेसन भएकी वृद्धालाई हेरचाह गर्ने काम गर्नुहुँदोरहेछ । पछि उहाँलाई मुटु हल्लिने, डर लाग्ने, नरमाइलो लाग्नेजस्ता समस्या भएपछि त्यहाँ निकै वर्ष औषधि गर्नुभयो । तर, रोग बढ्दै गयो । आफूलाई मुटुको रोग लागेको तथा धेरै नबाँच्ने महसुस भएकाले उहाँ नेपाल फर्किनुभयो । रिपोर्ट सबै नर्मल थिए । एक घन्टा परामर्श दिएपछि एक गोली औषधि नखाई उहाँलाई निको भयो ।

प्रसंग ३: कोरियामा कार्यरत अपरिचित एक मित्र तीन वर्ष उपचार गर्दा पनि आफ्नो रोग थाहा नपाएर नेपाल फर्किनुभयो  मेडिकल टर्मयुक्त त्यहाँको डाक्टरको भाषा नबुझ्दा उहाँलाई आफ्नो समस्या पनि थाहा भएन । औषधिले काम गर्छ भन्ने विश्वास पनि भएन । जीवनदेखि नै दिक्क भएर नेपाल फर्काउने त्यो रोग मात्र आइबिएस अर्थात् पेटको सामान्य रोग थियो, जुन खानपिन परिवर्तन गर्दा एक हप्तामै सुधार भयो ।

वैदेशिक रोजगारी जानेहरु स्वास्थ्य समस्या लिएर फर्कन्छन्
नेपालबाट वर्षेनी लाखौं युवा विदेशमा मजदुरी गर्न जान्छन् । मजदुरी गर्न जानेले पठाएको रेमिट्यान्सबाटै नेपालको अर्थतन्त्र धानिएको छ भनिन्छ । देशको अर्थतन्त्र धानिरहेको यो जनशक्तिलाई देशले कति हेरेको छ त ?

डा. समीरलाई अहिले यो प्रश्नले घोचिरहेको छ । उनले अनलाइनसँग कुरा गर्दै विदेशमा सामान्य स्वास्थ्य समस्याले पनि ठूलो प्रताडना भोगिरहेका नेपालीलाई सहयोग गर्न सरकारी स्तरबाटै पहल हुनुपर्ने धारणा राखे ।

उनको बुझाइमा खाडीदेखि मलेसिया, कोरिया, इजरायलजस्ता मुलुकमा काम गर्ने नेपाली चर्को शारीरिक तथा मानसिक कष्ट व्यहोरिरहेका हुन्छन् । त्यसबाट उनीहरूमा विभिन्न खाले स्वास्थ्य समस्या प्रकट हुन्छन्, जसको सही निदान गर्नका निम्ति उनीहरूले निकै पसिना बगाउनुपर्छ ।

इजरायल जानेका समस्या  
इजरायलमा नेपालका युवायुवती केयरटेकरको रूपमा वृद्धवृद्धाको सेवा गरेर बसिरहेका छन् । यस्ता वृद्धवृद्धा अशक्त वा अपांग मात्रै होइन, मानसिक रोगीसमेत धेरै हुन्छन् । मानसिक रोगीलाई स्याहार्ने काम गर्दागर्दै उनीहरू भित्रभित्रै चिढिने हुन सक्छन्, जसले विभिन्न शारीरिक समस्या समेत उत्पन्न हुन्छन् । तर, स्वास्थ्य जाँच गर्दा कुनै रोग देखिँदैन । रोग पत्ता नलाग्दा उनीहरूमा निराशा र त्रास पैदा हुन्छ ।

नेपालमा जस्तो इजरायलमा तुरुन्तै औषधि पसलमा गएर औषधि किनेर खान पाइँदैन । डाक्टरको प्रेसक्रिप्सन बेगर त्यहाँ औषधि सामान्यतः दिइँदैन । जब उनीहरू डाक्टरलाई भेट्छन्, भाषिक समस्या आउँछ । भाषाको कारणले खुलेर डाक्टरलाई समस्या सुनाउन र डाक्टरले दिएको परामर्श राम्ररी बुझ्न सक्दैनन् । त्यहाँका डाक्टरले हाम्रो जसरी अड्कलका भरमा औषधि चलाउँदैनन् । सम्पूर्ण परीक्षण सकेपछि रोग पत्ता लगाएर मात्रै औषधि लेख्छन् । मानसिक समस्या भएकाहरूको शारीरिक परीक्षण गर्दा रोग केही पनि देखिन्न । त्यसपछि उनीहरू झन् चिन्तामा फस्छन् ।

मलेसिया, कोरिया र खाडी मुलुक जानेका समस्या
‘यी देशमा नेपालीहरू प्रायः कडा श्रम गर्न गएका हुन्छन् । नेपालमा काम गर्ने बानी नभएकाहरू पनि त्यहाँ दिनरात कठिन काममा घोटिनुपर्छ । यसरी ननस्टप काम गर्दा शारीरिक थकानका साथै मानसिक निराशा पनि बढ्छ । खाडी मुलुकका कामदारको कमाई आकर्षक हुँदैन । उनीहरू न्यून गुणस्तरको मदिरा पिउनले लतमा फस्न सक्छन् ।

कोरियामा दैनिक १८ घन्टासम्म उभिएर काम गर्नुपर्छ । नेपालको र त्यहाँको खानपान मिल्दैन । त्यसैले खाना पनि रुच्दैन । यसबाट पनि उनीहरू सामान्य रोगसित पनि लड्न असक्षम हुन्छन् । अन्त्यमा काम गर्न नसकेर रुँदै र्फकन्छन् । यस्ता धेरै व्यक्ति मकहाँ उपचारका लागि आएका छन् ।

हेल्थडेस्क आवश्यकता  
डा. समीरले विदेशमा रहेको कामदारका लागि सरकारले सम्बन्धित देशमा रहेका दूतावासभित्रै वा बाहिर रहने गरी ‘हेल्थ डेस्क’ स्थापना गर्न आग्रह गरेका छन् । यसका लागि औपचारिक रूपमै सरकारी निकायको ढोका ढकढक्याउन जाने तयारीमा छन् उनी ।

‘म पहिले सरकारी निकायमा पहल गर्छु,’ उनले भने, ‘यदि कुनै चासो दिइएन र सुनवाई भएन भने आफैंले अग्रसरता लिने सोचाइमा छु ।’ सुरुमा एउटा सानो टिम बनाएर कुनै देशमा गएर नेपालीलाई स्वास्थ्य परामर्श दिने योजना उनको छ ।
उनी भन्छन्, ‘हामी त्यसरी जाँदा त्यहाँ बिरामीलाई जाँचेर औषधि सिफारिस गर्न मिल्दैन । हाम्रो सिफारिसलाई त्यहाँ मान्यता दिइँदैन ।

हामीले गर्ने काम भनेको फाइल हातमा च्यापेर डाक्टर कहाँ धाइरहेका बिरामीलाई उनीहरूको फाइल अध्ययन गरेर उचित परामर्श दिने हो । तपाईंहरूको रोग यस्तो हो, डाक्टरले लेखेको औषधि यो हो भनेर दिइने सल्लाहले पनि उनीहरूको जीवनमा ठूलो फरक पार्न सक्छ ।’

कतिपयलाई त सल्लाह र आडभरोसाले नै औषधिको काम गर्ने उनको धारणा छ । ‘कतिपय घटनामा उनीहरूको रोग र डाक्टरले लेखेको औषधिको तालमेल नमिलेको हुन सक्छ । त्यस्तो अवस्थामा फेरि डाक्टरलाई भेटेर यस्तो किसिमले कुरा राख भन्न सकिन्छ ।

कोही बिमारीले गर्दा काम गर्नु नहुने वा गर्न नसक्ने अवस्थामा छन् भने उनीहरूलाई घर र्फकन सल्लाह दिन सकिन्छ,’ उनी भन्छन्, ‘कति कामदारको स्वास्थ्य बिमा गरिएको हुन्छ । तर, उनीहरू त्यसको दाबी गर्ने प्रक्रियाबारे अनभिज्ञ हुन्छन् ।

हाम्रो हेल्थ डेस्कले स्वास्थ्य बिमाको विषयमा पनि उनीहरूलाई कानुनी प्रक्रिया देखाउने काम गर्न सक्छ ।’
यी कार्यमा एनआरएनको सहयोग लिने डा. समीरको योजना छ । यद्यपि यो काम व्यक्तिगत तबरबाट भन्दा सरकारी स्तरबाट गर्दा प्रभावकारी हुनेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment