Comments Add Comment

दुई महिनाभित्र गुणस्तर सुधार्न टेलिकमलाई सञ्चार मन्त्री रार्इको निर्देशन

Sherdhan rai
२२ माघ, काठमाडौं । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले दुई महिनाभित्र सेवाको गुणस्तर सुधार्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । टेलिकमको सेवाप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो निर्देशन दिएका हुन् ।

सेवाग्राहीले प्रत्यक्ष महशुस गर्नेगरी टेलिकमका सेवाहरुको गुणस्तर सुधार हुन नसेको मन्त्री राईको आरोप छ । टेलिकमको शुक्रबार राजधानीमा अयोजित बाह्रौं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने- ‘टेलिकमलाई पटक-पटक निर्देशन दिँदा पनि सेवाको गुणस्तर अभिवृद्धि गरेन, यसले मलाई गम्भिर र चिन्तित भएको छु ।’

टेलिकमको सेवा गुणस्तरीय नभएको सेवाग्राहीले गुनासो गरिरहेको बताउँदै मन्त्री राईले आजैदेखि सुधार कामहरु थाल्न टेलिकमलाई निर्देशन दिए । ‘अहिले जसरी सेवाग्राहीबाट गुनासो आइरहेको छ, अबको दुई महिनाभित्र गुनासो नआउने हुनुपर्छ’ उनले भने- ‘सेवाग्राहीले गुनासो गर्ने ठाउँ नदिई सुधार गर्न म निर्देशन दिन्छु ।’

दुई महिनाभित्र सेवाको गुणस्तरमा सुधार नभए मन्त्रालयले टुलुटुल हेरेर नबस्ने मन्त्री राईले चेतावनी दिए । टेलिकमले गुणस्तर सुधार गर्न नसकेमा तेस्रो पक्षलाई संलग्न गराई प्राविधिक टिम गठन गरेर अध्ययन गरी सुधारमा लाग्ने उनको भनाई थियो ।

‘टेलिकमका सबै सेवामा समस्या छ, नागरिकले सेवा पाउनुपर्नेमा उल्टै सास्ती भोग्नुपरेको छ’ मन्त्री राईले भने- ‘गुनासो आउने क्रम घटेको छैन । यसलाई सम्बोधन गर्ने गरी सेवाको गुणस्तर बढाउनुपर्‍यो ।’

मन्त्री राईले टेलिकमलाई नेपालको नम्बर एक मोबाइल, फोन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी बनाउने आफ्नो लक्ष्य रहेको सुनाए । ‘नेपाल टेलिकमले गति लिनुपर्छ, सेवाहरु गुणस्तरीय र सर्वसुलभ हुनुपर्छ, गाउँ-गाउँमा सेवा सुविधा पुगेको हुनुपर्छ’ उनले भने- ‘टेलिकमलाई काम गर्दा मन्त्रालयले कुनै हस्तक्षेप गर्दैन, तर सुधारका काम नगरी यही अवस्थामा रहिरहन खोजेमा हामीले यत्तिकै छाड्दैनौं ।’

मन्त्री राईले सन् २०२० सम्म सबै नेपालीलाई इन्टरनेटको पहुँचमा पुर्‍याउने लक्ष्य रहेको सुनाए । यसका लागि टेलिकम र दूरसञ्चार प्रधाकिरणले र्पुयाउने दावी पनि उनले गरे । यसका लागि नेपाल टेकिकम र नेपाल दुरसञ्चार प्राधिकरण अपसमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

ग्रामिण दूरसञ्चार कोषमा रहेको रकम जनताको हितमा हुने गरी काममा लगाउनुपर्ने मन्त्री राईले बताए । कोषको रकमबाट मध्यपहाडी राजमार्गको पूर्वी भेगबाट अप्टिकल फाइबर बिच्छाउनुपर्छ । यसका लागि टेलिकम चुस्त भएर काम गर्नुपर्ने राईले बताए ।

प्रत्येक जिल्लामा अप्टिक फाइभर बिच्छाउने, दुई वर्षभत्रि सबै जिल्लामा ई-गर्भनेन्स लागू गर्ने बताउँदै यसका लागि टेलिकम र प्राधिकरणलाई सहकार्य गरेर कोषको रकम सही सदूपयोग गर्न मन्त्री राईले निर्देशन दिए ।

कार्यक्रममा प्राधिकरणका महाप्रबन्धक दिगाम्बर झाले पुराना प्रविधि विस्थापन गरेर नयाँ प्रविधि आत्मसात् गर्न टेलिकमलाई सुझाव दिए । उनले विदेशबाट आउने कलको शुल्क घटाएर भिओआइपीको ग्रे मार्केटलाई निरुत्साहित गर्नुपर्ने बताएका छन् ।

महाप्रबन्धक झाले टेलिकमले फि्रक्वेन्सीको अधिकत प्रयोग गर्न पनि टेलिकमलाई सुझाव दिएका छन् । ‘एनसेललाई २९ मेगाहर्ज फि्रक्वेन्सी दिँदा ४४/४५ अर्बको कारोबार गर्छ, टेलिकमले ७२.६ मेगाहर्ज फि्रक्वेन्सी पाउँदा पनि जम्मा ३४/३५ अर्बको मात्र कारोबार गरिरहेको छ’ उनले भने- ‘सञ्चालनमा रहेका ६ वटा दूरसञ्चार अपरेटर भन्दा टेलिकम पहिलो हुनुपर्छ ।’

टेलिकमका महाप्रबन्धक बुद्धिप्रसाद आचार्यले बजारमा तेलको अभाव हुँदा सेवा विस्तार तथा गुणस्तर सुधारमा कठिनाइ भइरहेको बताए । तर, अभावको बाबजुत पनि सेवा विस्तारमा लागिपरेको उनको दाबी थियो ।

महाप्रबन्धक आचार्यले टेलिकमको संस्थागत सुधार र सेवाको गुणस्तर वृद्धि तथा विस्तारमा विशेष जोड दिएको बताए । उनले अहिले देखिएको रिजार्जको समस्या समधान गर्नका लागि थप भरपर्दो र विश्वासिलो बनाउने गरी भौचर म्यानेजमेन्ट सिष्टम (भोम्स)को अपग्रेड कार्यलाई सम्पन्न गरी यही फेबुअरी ७ देखि सञ्चालनमा ल्याउन लागेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment